• २९ पुस २०८१, सोमबार

योग भूमिको नेपाली पहिचान

blog

योग नेपाली भूमिमा प्रादुर्भाव भई विश्वमा फैलियो । ध्यान र योग प्रादुर्भाव भएको पवित्र भूमिका बारेमा हामी सबैले शास्त्रीय प्रमाण सङ्कलन गरी विश्व समुदायमा व्यापक प्रचारप्रसार गरेर ध्यान र योगको गन्तव्य स्थान नेपाललाई बनाई विदेशी पर्यटकको बसाइ लम्बाउने प्रभावकारी योजना र पूर्वाधार विकास गर्नु आवश्यक छ । त्यसका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त योग शिक्षक उत्पादन गरौँ । पर्यटन उद्योगमा ध्यान र योगका लागि आवश्यक संरचना थप गरौँ ।

नेपालले भोलि १० औँ राष्ट्रिय योग दिवस भव्यताका साथ मनाउँदै छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले योग दिवस मनाउन मूल समिति गठन गरेको छ । यस वर्षको राष्ट्रिय योग दिवसको आदर्श वाक्य ‘स्वस्थ समाज समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ रहेको छ । योगले व्यक्ति, परिवार, समाजलाई निरोगी र चरित्रवान् बनाई राष्ट्रलाई समृद्धको बाटोमा डो¥याउँछ । 

अल्पविकसित राष्ट्रका युवालाई शारीरिक तथा मानसिक समस्याले सताएको छ । युवामा प्रशन्नता र विश्वासको खडेरी परेको छ । परिवार, समाज, संस्था र व्यवस्थाले युवा भविष्य सुरक्षित गर्छ भन्नेमा ढुक्क हुन सकिरहेका छैनन् । युवा देशबाट बाहिरिने व्रmम हरेक वर्ष बढिरहेको छ । हामीले समयमै युवा देशबाट बाहिरिने व्रmम भङ्गताको उपाय नखोज्ने हो भने हाम्रो समृद्ध नेपालको सपना साकार हुन सक्दैन । युवा शक्तिलाई परिवार, समाज, संस्था र व्यवस्थाप्रति पूर्ण रूपमा निर्भर हुने, उनीहरूको बदलिँदो चाहना र आशा पूरा गर्दै प्रसन्नताको स्तर बढाउन ध्यान दिनुपर्ने छ । योग तथा ध्यानले प्रत्येक व्यक्तिलाई शारीरिक रूपमा स्वस्थ, मानसिक रूपमा शान्त र आध्यात्मिक रूपमा उच्च चेतनायुक्त भएर जिउने कलाको विकास गराउँछ । 

योग, प्राणायाम तथा ध्यानले हामीभित्रै रहेको आनन्दको अथाह खानीको उत्खनन गर्ने छ । आनन्दको खानीको केन्द्रविन्दुमा अवस्थित वास्ताविक मानवताको उजागर भएपछि मात्रै आत्मा विश्वास, मनोबल, धैर्य, विवेक बुद्धि जस्ता गुण हामीमा विकास हुने छ । अहिलेको समाज मलिन वासनाबाट ग्रसित छ । आफू र आफ्ना नजिकका व्यक्तिको भलाइबाहेक अन्य विषयप्रति हामी सजग छैनौँ । हामी आफ्नो क्षणिक खुसी तथा सुखका लागि अरूको खुसी तथा सुखको बलिदान गराउन पछि पर्दैनौँ । कालन्तरमा जस्तोसुकै मूल्य चुकाउनु परे पनि हामी वर्तमानमा मात्रै रमाई आफ्नो स्वार्थपूर्ति गर्न तल्लीन छौँ । 

युवामा नैराश्यता, चिन्ता र तनाव व्याप्त छ । मानसिक कष्ट तथा विक्षिप्तताले गर्दा समाजमा हिंसाले फल्ने, फुल्ने र झ्याङ्गिने ऊर्जा पाइरहेको छ । आपसी द्वन्द्व, मतभेद, जातीयता, रङ्ग र धर्मको विभेदको खाडल दिन प्रतिदिन गहिरिँदै गएको छ । योग, प्राणायाम र ध्यानले शरीर र मनलाई हलुका र तनावरहित बनाउँछ । विश्वमा अहिंसाको वकालत गर्ने छ । आपसी सद्भाव र करुणाको कारण हिंसावादी सोचमा कमी आई जातीयता, धर्म र क्षेत्रीयताको विभेदबाट हामीलाई विमुख गराई शान्तिपूर्ण बाटोतिर जान दिशा निर्देश गर्ने छ । कारण यागले तीन प्रकारको शान्तिलाई प्रवर्धन गर्छ ः पर्यावरण शान्ति, भावनाको शान्ति र आत्मिक शान्ति । विश्वलाई योगले यसरी एउटै शान्तिको चौतारीमा राखी विश्व शान्तिका लागि अतुलनीय योगदान दिन सक्छ । 

मलिन वासनाको नकारात्मक ऊर्जाको प्रभावले विश्वमा शक्ति र प्राकृतिक स्रोतको अधिकतम सञ्चय गर्ने परिपाटीले वातावरणीय असन्तुलन, प्राकृतिक स्रोतको डरलाग्दो दोहन हुन पुगेको छ । मानव र ब्रह्माण्डकै भविष्यमा नै प्रश्न चिह्न खडा हुने स्थितिको सिर्जना भइरहेको छ । योग, प्राणायाम र ध्यानले वातावरणीय सन्तुलन, प्राकृतिक स्रोतको सही उपभोग र दिगो विकासका लागि पनि अहम् भूमिका 

खेल्छ । योग, प्राणायाम र ध्यानको अभ्यास गर्ने व्यक्ति नेतृत्वदायी भूमिकामा पुगेमा उनीहरूले मिथिलाधीशका विवेकी राजा जनक जस्तै विशुद्ध भावनाबाट ओतपोत भएको समाज नै सिर्जना गर्न सक्ने छन् । 

जब हाम्रो समाजमा शुद्ध वासनाको सकारात्मक ऊर्जाको प्रभाव बढ्छ तब व्यक्तिहरूले आफ्ना लागि जति आवश्यक छ त्यति मात्रै शक्ति र प्राकृतिक स्रोतको प्रयोग गर्ने परिपाटीको विकास हुने छ । अर्को शब्दमा भन्ने हो भने हामीमा पन्छी प्रवृत्तिको विकास हुने छ । अधिकांश पन्छीले आफूलाई त्यस 

छाकका लागि जति आवश्यक छ त्यति मात्रै ग्रहण गर्छ । उसले भोलि र सन्ततिका लागि भनेर जगेर्ना गरेर राख्दैन । 

आज विश्वमा करिब आठ अर्ब २० करोड जनसङ्ख्या रहेको छ । ३० करोड व्यक्तिले दैनिक योग गर्छन् । २७ करोड ५० लाख मानिस ध्यान गर्छन् । छिमेकी मुलुक भारतका करिब १५ करोड व्यक्ति योग गर्छन् । त्यस्तै छिमेकी मुलुक चीनका एक करोड व्यक्ति योग गर्छन् । अमेरिकामा तीन करोड ६० लाख व्यक्ति दैनिक योग गर्छन् । अमेरिकामा पाँच युवामध्ये एकमा मानसिक तनाव छ । त्यस्तै चीनमा १० जनमा एक जनालाई मानसिक तनाव छ । विश्व समुदायले स्वास्थ्य र फिटनेस अन्तर्गत योग र ध्यानलाई प्राथमिकतामा राखी करिब दुई सय १५ अर्ब डलर सन् २०२५ मा खर्च गर्ने तथ्याङ्कको विश्लेषणबाट देखिन्छ । योग र ध्यानलाई पर्यटन उद्योगसँग जोडेर हेर्न आवश्यक छ । यसो गर्न सकेमा योग विदेशी मुद्रा आर्जन गर्ने भरपर्दो स्रोत बन्न सक्छ । 

नेपालको भौगोलिक र जातीयताको विविधता, छ वटा मौसम, लाइट (गौतम बुद्ध), हाइट (सगरमाथा) नेपालको पहिचान हो । त्यस्तै यो त्यस्तो पवित्र भूमि हो जहाँ भगवान् शिवले माता पार्वतीलाई पहिलो पटक विज्ञान भैरवतन्त्रको ११२ वटा ध्यान विधिको शिक्षा दिनुभयो । योग नेपाली भूमिमा प्रादुर्भाव भई विश्वमा फैलियो । ध्यान र योग प्रादुर्भाव भएको पवित्र भूमिका बारेमा हामी सबैले शास्त्रीय प्रमाण सङ्कलन गरी विश्व समुदायमा व्यापक प्रचार प्रसार गरेर ध्यान र योगको गन्तव्य स्थान नेपाललाई बनाई विदेशी पर्यटकको बसाइ लम्बाउने प्रभावकारी योजना र पूर्वाधार विकास गर्नु आवश्यक छ । त्यसका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त योग शिक्षक उत्पादन गरौँ । पर्यटन उद्योगमा ध्यान र योगका लागि आवश्यक संरचना थप गर्ने । हाल नेपालमा भइरहेका र सञ्चालनमा रहेका योग र ध्यान केन्द्र र शिविर, तालिम केन्द्र र गुरुकुललाई हामीले विश्वको आवश्यकता सम्बोधन गर्ने गरी स्तरोन्नति गर्ने । स्तरोन्नति गर्दा ध्यान र योगमा महिलाको उपस्थिति उल्लेखनीय रहेकाले महिलामैत्री वातावरण बनाउनुपर्ने प्राप्त तथ्याङ्कको विश्लेषणले देखाउँछ । समृद्ध नेपालको सपना पूरा गराउन हामीले हरेक दिन केही समय आफ्नो शरीरका लागि छुट्याउनु पर्छ । ध्यान र योगलाई दिनचर्याको महìवपूर्ण पाटो बनाउन सके स्वास्थ्य जीवन जिउन मात्रै होइन, मनलाई शान्त र स्थिर बनाउन सघाउँछ । आपसी मतभेद र नकारात्मक कुरालाई मनबाट फाल्न महìवपूर्ण भूमिका खेल्छ ।

अन्त्यमा विशेष गरेर तेस्रो विश्वका देशले योगलाई केवल शारीरिक व्यायमका रूपमा मात्रै बुझेका छन् । योग भनेको विभिन्न रोगको निदानका लागि गरिने आसन मात्रै हो भन्ने बुझाइको कारण नै योगमा पुरुषभन्दा महिला सहभागिता बढी भएको देखिन्छ । विश्वमा करिब योग र ध्यानमा महिलाको सहभागिता ८० प्रतिशतको हाराहारीमा छ । नेपालको परिपेक्ष्यमा योग शिविरमा उपस्थिति विवरण केलाउँदा ९० प्रतिशत महिला र केवल १० प्रतिशत पुरुष देखिन्छन् । 

बाह्य समाज र युवाको योगको बुझाइलाई वैदिक सनातन परम्परा र ऋषि महर्षिका विविध पक्षको विश्लेषण गरेर गलत धारणालाई चिर्नु पर्छ । योगिश्वर याज्ञवल्क्यले योग हाम्रो चित्तवृत्तिलाई विषयान्तरबाट हटाएर केवल आत्मामा स्थिर बनाउने प्रभावकारी साधन हो भनी उल्लेख गर्नुभएको छ । अर्को शब्दमा विषयान्तरबाट हटेर जीवको परमात्माका साथ संयोग नै योग हो । योगले हामीभित्र भएको मनलाई वृत्तिहीन स्थितिमा पु¥याएर परमात्मामा एकीकृत गराउँछ । योग साधक तथा साधिकालाई ब्रह्म ज्ञानी बनाउँछ । हामीभित्र भएका अवगुणलाई आत्म साक्षात्कार गराउँछ । 

मनका सम्पूर्ण विकार हटाई विश्वमा शान्ति ल्याउन बल पु¥याउँछ । 

Author

दीपककुमार अधिकारी