काठमाडौँ,पुस २८ गते । काठमाडौँका एक लाख भन्दा बढी किशोरीलाई पाठेघरको मुख क्यान्सर बनाउने ह्युमन प्यापिलो भाइरस (एचपिभी) विरुद्धको खोप लगाइने भएको छ।
जिल्ला खोप समन्वय समिति र सञ्चार क्षेत्रको अभिमुखिकरण कार्यक्रममा जनस्वास्थ्य कार्यालयका प्रमुख वसन्त अधिकारीले काठमाडौँका एक लाख १० हजार २६३ किशोरीलाई पाठेघरको मुख क्यान्सर बनाउने एचपिभी विरुद्धको खोप लगाइने जानकारी दिनुभयो ।
सरकारले माघ २२ गतेदेखि फागुन ६ गतेसम्म कक्षा ६ देखि १० सम्म छात्रालाई र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका किशोरी लक्षित गर्दै एचपिभी विरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको छ ।
वरिष्ठ जनस्वास्थ्य प्रशासक सतिश विष्टले सोही अभियानमा काठमाडौँमा १३८ वडाका १४६ स्वास्थ्य संस्था र एक हजार १८६ विद्यालयबाट खोप प्रदान गर्ने जानकारी दिनुभयो ।
यो खोप सरकारले अगामी आर्थिक वर्षदेखि राष्ट्रिय खोप कार्यक्रम मार्फत् निःशुल्क प्रदान गर्ने भएको छ ।
विश्व स्वास्थ्य सङ्गठनबाट मान्यता प्राप्त हुनुका साथै नेपालको औषधी व्यवस्था विभागले समेत स्वीकृत भएकाले खोप सुरक्षित र प्रभावकारी रहेको विष्टले जानकारी दिनुभयो ।
एचपिभी खोप लगाएपछि सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुने, ज्वरो आउने, टाउको दुख्ने, रिँगाटा लाग्ने, मांसपेशी दुख्ने, थकाई लाग्ने पेट दुख्ने, वाकवाकी लाग्ने वान्ता हुने जस्ता प्रतिकुल असर देखिएपछि यस प्रकारका असर आफै ठिक हुँदै जाने हुँदा नआतिन विष्टको अनुरोध छ ।
उहाँका अनुसार अहिले एचपिभी खोप १४४ देशको राष्ट्रिय खोप तालिकामा समावेश गरेर किशोरीलाई दिँदै आएको छ । यसको प्रभावकारिता शतप्रतिशतसम्म रहेको विभिन्न अध्ययनले देखाइसकेकोले ढुक्कसँग खोप लगाउन उहाँको सुझाव छ ।
एचपिभी खोप एक प्रकारको भाइरस हो । एचपिभीको दुई सय भन्दा बढी किसिमका प्रजाति हुन्छन् र यसमध्ये कम्तिमा १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख कारक मानिन्छ । यसमध्ये पनि १६ र १८ प्रजाति प्रमुख कारक हुने विष्ट बताउनुहुन्छ । नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर १६ र १८ प्रजातिबाट भएको देखिन्छ । नेपालमा महिलामा हुने विभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर महिलाको मृत्युको प्रमुख कारण हो ।यो रोगबाट नेपालमा प्रत्येक दिन चार जना महिलाको मृत्यु हुने अध्ययनले देखाएको छ ।