कविराज घिमिरे
हिले, फागुन २९ गते । “मेरी आमाले छैटीका दिन खाली कापी र कलम सिरानीमुनि हालेर सुताएकी थिइन् । त्यस रात भावीले मेरो भाग्य रेखालेख्छ भन्ने जनविश्वास थियो । तिमी मेरो ललाटभरि भावीले राम्रो भाग्यरेखा लेखिदियोस् भन्ने चाहन्थ्यौ तर आमा त्यो तिम्रो एउटा विश्वास मात्र थियो । हो भावीले त्यस रात मेरो कर्मरेखा राम्रो लेखेन । भाग्यरेखा पनि गतिलोसँग लेखेन । समयले मेरो पोल्टाभरि अभागका पोका थमाइदिएको थियो ।”
यो अंश साहित्यकार झमक घिमिरेको कृति ‘जीवन काँडा कि फूल’ नामक आत्मकथामा उल्लेख छ । अहिले उहाँ आफूले आत्मवृत्तान्तमा लेखे जस्तै समयले थमाइदिएका अभागका पोकामध्ये सबैभन्दा ठुलो पोकोसँग जुधिरहनुभएको छ । साहित्यकार झमक घिमिरे नेपाली साहित्यजगत्मा मात्र नभई असम्भवलाई सम्भव बनाउने अटुट इच्छाशक्तिकी एक प्रतिमूर्ति पनि हुनुहुन्छ ।
देब्रे खुट्टाका दुई औँलाको सहारामा लेखनलाई निरन्तरता दिँदै आउनुभएकी घिमिरे नेपाली साहित्यको प्रेरणादायी पात्र मात्र नभई, असाधारण सङ्घर्षको नमुना पात्र पनि त हो उहाँ । जन्मजात शारीरिक असक्तता, स्वअध्ययन, विभिन्न अनगिन्ती चुनौती, मात्र देब्रे खुट्टाका दुई औँलाको सहारामा साहित्य लेखन उहाँको खुबी हो ।
सङ्घर्षै सङ्घर्षमा बितेको घिमिरेको पीडादायी जीवन पछिल्लो समय थप पीडा र सङ्घर्षमय बन्दै गएको छ । लामो समयदेखि स्नायु प्रणालीसम्बन्धी समस्या झेलिरहनुभएकी घिमिरेको अवस्था झनै जटिल बन्दै गएको छ । लेख्न प्रयोग हुने देब्रे खुट्टाका दुई औँलासमेत नचल्दा लेखन कार्य बन्द छ । परिवारका अनुसार नियमित औषधि सेवन हुँदै आए पनि बारम्बार आकस्मिक स्वास्थ्य समस्या देखा पर्ने गरेको छ । उहाँमा अहिले नसासम्बन्धी नयाँ समस्या थपिएको छ । जसका कारण धेरै जसो समय अस्पताल धाउनुपर्ने अवस्था रहेको आमा आशादेवी घिमिरे बताउनुहुन्छ । घिमिरे भन्नुहुन्छ, “पुराना समस्या त छँदै छन् अहिले ढाड, पेट, खुट्टा दुख्ने तथा खानमा समस्या हुने गरेको छ । दुख्नासाथ अस्पताल पुर्याइहाल्नु पर्छ ।”
आमा आशादेवी घिमिरे पनि सडक दुर्घटनापछि सहज रूपमा हिँडडुल गर्न सक्नुहुन्न । घिमिरेका ८० वर्षीय पिता कृष्णबहादुर घिमिरे पक्षाघातले थलिएर ओछ्यान पर्नुभएको छ । उहाँका भाइ आर्थिक समस्याकै कारण वैदेशिक रोजगारीमा हुनुहुन्छ । अहिले उहाँको स्वास्थ्य तथा आर्थिक अवस्था झन्झन् कमजोर बन्दै गएको छ । सबै प्रतिकूल अवस्थाका कारण झमकको स्वास्थ्य उपचारमा राज्यले सहयोग गर्नुपर्ने अवस्था आएको झमक घिमिरे साहित्य कला प्रतिष्ठानका अध्यक्ष गोपाल गुरागाईं बताउनुहुन्छ ।
सरकारले उहाँलाई काठमाडौँको गोठाटारमा घर बनाइदिए पनि स्वास्थ्य र पारिवारिक कारण उहाँ धनकुटाकै कचिडेमा बस्दै आउनुभएको छ । सरकारले मासिक केही रकम निर्वाह भत्ता प्रदान गर्दै आए पनि यो रकम उहाँको आवश्यक उपचार, औषधी, हेरचाहका लागि पुग्दो छैन ।
पुस्तक बिक्रीबाट आउने आम्दानी पनि अहिले ज्यादै न्यून छ जसले सबै खर्च टार्न निकै गाह्रो हुँदै गएको प्रतिष्ठानका सचिव जनार्दन घिमिरे बताउनुहुन्छ । घिमिरे भन्नुहुन्छ, “घरका अधिकांश सदस्य बिरामी भएको अवस्थामा विदेशमा भएको एउटा भाइको कमाइले झमकको आकस्मिक उपचार खर्च, आउजाउ खर्च निकै बोझिलो बन्दै गएको छ । घरपरिवारबाट धानिने अवस्था छैन ।”
खुट्टाका दुई औँलाकै भरमा अहिलेसम्म १४ वटा साहित्यिक कृति प्रकाशित भइसकेका छन् । ‘जीवन काँडा कि फूल’ नामक आत्मकथा २०६८ सालको मदन पुरस्कार प्राप्त गर्न सफल भयो । अझै धेरै पाण्डुलिपिहरू प्रकाशनको प्रतीक्षामा छन् । झमक घिमिरेको कृति ‘जीवन काँडा कि फूल’ मा आधारित फिल्मसमेत बनेको छ । उनका प्रकाशित १४ कृतिहरू मात्र होइन, प्रकाशनको प्रतीक्षामा रहेका पाण्डुलिपिहरू नेपाली साहित्यका लागि गहन सम्पत्ति हुन् । उहाँको लेख्ने चाहना जीवित छ तर स्वास्थ्य, आर्थिक तथा पारिवारिक अवस्थाले अवरोध सिर्जना गरिरहेको छ ।