काठमाडौँ, पुस २८ गते । विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब ‘जय ट्रफी मेन्स एलाइट कप’ को फाइनलमा प्रवेश गरेको छ ।
लिग चरणको अन्तिम खेलमा आर्मीले मधेश प्रदेशलाई आठ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो । यस्तै पुलिसले लिगको अन्तिम खेलमा बागमती प्रदेशलाई पाँच विकेटले हराउँदै फाइनलमा पुगेको हो ।
वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा आइतबार मधेशले प्रस्तुत गरेको २८ रनको लक्ष्य आर्मीले दुई विकेटको क्षतिमा पूरा गरेको हो । आर्मीको पहिलो पहिलो जित हो । आर्मीले यसअघि पुलिस र बागमतीसँग बराबरी खेलेको थियो ।
आर्मीका लागि तृतराज दासले ११ तथा इम्रान शेखले अविजित आठ र बसिर अहमदले अविजित चार रन बनाउनुभयो । बलिङमा मधेशका प्रदीप पासवानले दुई विकेट लिनुभयो । आर्मीसँग फलो अनमा परेको मधेशले दोस्रो इनिङमा एक सय ५० रन मात्रै बनाएपछि आर्मीले २८ रनको सामान्य लक्ष्य पाएको थियो ।
२/० को अवस्थामा दोस्रो दिनको खेल सुरु गरेको मधेशले एक सय ४८ रन थप्दा सबै विकेट गुमाएको थियो । मधेशका लागि मायन यादवले सर्वाधिक ४९ रन बनाउनुभयो । यस्तै कप्तान हरिशंकर साहले २५, अभिषेक तिवारीले १९, निरज यादवले १७ र हिमान्शु दत्तले ११ रन बनाउनुभयो ।
बलिङमा आर्मीका बसिर अहमदले चार विकेट लिनुभयो । यस्तै शाहब आलमले तीन र आकाश चन्दले दुई दुई विकेट लिनुभयो । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले पहिलो इनिङ्समा दुई सय २५ रन बनाएको थियो । मधेश एक सय दुई रनमै समेटिए पछि मधेश फलो अनमा परेको थियो ।
यसैगरी जनकपुरमा आइतबार बागमतीले दिएको एक सय १६ रनको लक्ष्य पुलिसले पाँच विकेटको क्षतिमा पूरा गरेको हो । पुलिसको जितमा शंकर रानाले सर्वाधिक ५६ रन बनाउनुभयो ।
कप्तान कुशल भुर्तेल ३२ रन र अर्जुन साउदले अविजित २० रन बनाउनुभयो । बलिङमा बागमतीका कप्तान सन्दीप लामिछानेले दुई तथा नन्दन यादव, प्रतिस जिशी र सुर्य तामाङले एक एक विकेट लिनुभयो ।
पहिलो इनिङ्समा एक सय तीन रनले पछि परेको बागमतीले दोस्रो इनिङ्समा दुई सय १८ रन बनाएको थियो । दोस्रो इनिङमा बागमतीले एक सय १५ रनको अग्रता लिएको थियो । बागमतीका लागि शुभ कसांकारले सर्वाधिक ७० रन बनाउनुभयो । यस्तै इशान पाण्डे ५२, कप्तान सन्दीप लामिछाने र सुर्य तामाङ १६/१६ तथा उत्तम थापामगरले १४ रन बनाउनुभयो ।
बलिङमा पुलिसका लागि ललितनारायण राजवंशीले तीन विकेट लिनुभयो । श्रवण यादवले दुई तथा प्रेम तामाङ, कुशल भुर्तेल, राशिद खाना र गुलशन झाले एक एक विकेट लिनुभयो ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्ता पाएको बागमती ३३.२ ओभरमा सवै विकेटको क्षतिमा एक सय १२ रन बनाएको थियो । बागमतीका लागि ओपनर इशान पाण्डेले सर्वाधिक ७१ रन बनाउनुभयो । प्रतिक श्रेष्ठले १२ रन जोड्नुबाहेक बागमतीका अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
बलिङमा पुलिसका श्रवण यादवले ह्याट्रिक विकेट लिनुभयो । ललितनारायण राजवंशीले तीन तथा कुशल भुर्तेलले दुई विकेट झार्नुभयो । यसअघि पुलिसले पहिलो इनिङ्समा ४५.५ ओभरमा दुई सय १५ रन बनाएको थियो ।
जितसँगै पुलिस ६६ अङ्क जोडेदी शीर्षस्थानमा रह्यो । दोस्रो स्थानमा रहेको आर्मीले ५५ अङ्क बनायो । आर्मी र पुलिसबिचको फाइनल खेल मङ्गलबार हुनेछ । फाइनल खेल तीन दिवसीय हुनेछ । यस्तै ४१.५ अङ्क बनाएको बागमती र ३१ अङ्क बनाएको मधेशको यात्रा लिग चरणमा सकिएको छ ।