• १२ असार २०८१, बुधबार

राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि गर्न माग

blog

काठमाडौं, जेठ १० गते । अर्थमन्त्री जनार्दन शर्मालाई पेसागत महासङ्घ नेपालका संयोजक प्रेमलकुमार खनाल, महासचिव रामप्रसाद रिमाल, सचिवालय सदस्य तथा एकीकृत सरकारी कर्मचारी सङ्गठनका अध्यक्ष मोहनकुमार घिमिरेसहितको टोलिले ज्ञापनपत्र बुझाउनुभएको छ ।

पेसागत महासङ्घ नेपालका महासचिव रिमालद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा राष्ट्रसेवक कर्मचारीहरुको न्यूनतम तीस हजार पारिश्रमिक कायम हुने गरी तलब वृद्धि गर्न माग गरिएको छ ।

त्यस्तै, आगामी वर्षको बजेटमा सम्पूर्ण श्रमिकलाई स्थानीय पालिकाबाट पञ्जीकरण गर्न, अनौपचारिक क्षेत्रमा सामाजिक सुरक्षाका लागि नेपाल सरकारले सामाजिक सुरक्षामा योगदान गर्न, अधिकार सम्पन्न राष्ट्रिय श्रम आयोग गठन गर्न, कर्मचारीहरुले पाउने सामाजिक सुरक्षा वापतको पेन्सन, उपदान, बीमा, औषधि रकममा आयकर लगाउने व्यवस्था हटाउन र सातवटै प्रदेशमा श्रमिक अस्पताल स्थापना गर्न पनि माग गरिएको छ ।

यसैगरी, श्रमिक कर्मचारीहरुले जीवन निर्वाह गर्न पुग्ने गरी अध्ययन गर्न र वैज्ञानिक ढङ्गबाट सुविधा निर्धारण गर्न उच्चस्तरीय तलब सुविधा निर्धारण आयोग गठन गर्न, कृषि, खाद्य, दुग्ध, औषधि, यातायात जस्ता जनसेवी र जनउपयोगी सार्वजनिक संस्थानहरुको पुनःसंरचना गरी तीनवटै तहका सरकारको स्वामित्व रहने गरी ७५३ वटै पालिकामा सेवा विस्तार गर्न पनि ज्ञापनपत्रद्वारा माग गरिएको छ ।