• २६ पुस २०८१, शुक्रबार

पुरुषार्थ–चतुष्टय प्राप्तिको लक्ष्य

blog

हिन्दु सनातनधर्मले मानव जीवनलाई व्यवस्थित गर्नका निम्ति अनगन्ती नियमको सङ्ग्रह गरेको छ । चार वेद, विभिन्न सूत्रग्रन्थ, स्मृतिग्रन्थ, विविध पुराण र तिनीहरूका भाष्य एवं टीका एवं निबन्ध जीवनलाई सार्थक, सोद्देश्य र व्यवस्थित बनाउन तयार पारिएका आचार संहिताका नमुना हुन् । शास्त्रले बनाएका नियमलाई देश, काल र परिस्थिति अनुकूल हुने गरी लागु गर्नु पर्छ । सनातन हिन्दुधर्मका प्रतिपादक ग्रन्थमा उल्लेख गरिएका विषयलाई समग्रमा अध्ययन गर्ने हो भने तिनमा मानव जीवनका अनेकौँ रहस्य छिपेर रहेका पाइन्छन् । गहिरिएर हेर्दा ती सबै शास्त्रमा मानव जीवनलाई धन्य बनाउने चार प्रमुख उद्देश्य रहेको पाइन्छ । मानव जीवनका चार प्रमुख उद्देश्य वा लक्ष्य भनेका धर्म, अर्थ, काम र मोक्ष हुन् । मनुष्य शरीरको रचना यिनै चार पुरुषार्थ प्राप्तिका निमित्त भएको हो भन्ने विषयमा विवाद गरिरहनु पर्दैन ।

उपर्युक्त चार पुरुषार्थमध्ये धर्मलाई अग्रस्थानमा राखिएको छ । धर्म मानवलाई एक उचित स्थानतर्फ डोर्‍याउने अनिवार्य साधन हो । धर्र्म यस लोक र परलोक दुवैलाई सपार्ने साधन मानिएको छ । मानव जीवनका हर आयामलाई प्रभावित पार्न सक्ने क्षमता धर्ममा नै रहेको हुन्छ । मनुले धर्मको लक्षण निरूपण गर्र्दै भनेका छन्– “धृतिः क्षमा दमोऽस्तेयं शौचमिन्द्रियनिग्रहः । धीर्विद्या सत्यमक्रोधो दशकं धर्मलक्षणम् ।।” अर्थात् धृति, क्षमा, मनको नियन्त्रण, अचौर्य, शुद्धता, इन्द्रियहरूको निग्रह, शास्त्रज्ञान, तत्वबोध, सत्य र क्रोधको अभाव, यी धर्मका १० लक्षण हुन् । महाभारतको अध्ययन गर्दा त्यहाँ वेद, स्मृति र सदाचारलाई नै विशेषतः धर्म भनिएको पाइन्छ । धर्म मनुष्यलाई समाजमा बाँच्न र बचाउन आवश्यक पर्ने एक आधारस्तम्भ हो । प्रकृतिप्रदत्त यस स्तम्भलाई विच्छिन्न गर्दा सम्पूर्ण सृष्टि प्रक्रिया नै छिन्नभिन्न हुन पुग्छ । धर्म एक अनुष्ठान हो । अनुष्ठानमा संलग्न कर्तालाई प्रत्यक्ष वा अप्रत्यक्ष दुवै प्रकारका लाभ पुग्न जान्छ । धर्म एउटा शाश्वत सत्य हो, सत्यचाहिँ स्वयम् संसारलाई थामि राख्ने तन्तु हो । त्यही भएर ‘सर्वं सत्ये प्रतिष्ठितम्’ अर्थात् सम्पूर्ण संसार नै सत्यमा टिकेको छ भनिएको हो । धर्म एक वैयक्तिक तथा सामाजिक कर्तव्य पनि हो । समाजमा रहेको एक सदस्यले अर्काप्रति कर्तव्य भुल्नु हुँदैन । आफ्नै मात्र हित गर्न खोज्दा आफूबाहेकका सबैले त्यस्तै प्रेरणा प्राप्त गर्छन्, फलस्वरूप संसार स्वार्थको सिङ्गो सञ्जाल बन्न जान्छ । यस प्रकार सम्पूर्ण समाज नै स्वार्थी हुँदा दुनियाँ चल्नै नसक्ने हुन्छ । त्यस कारण कसैले पनि धर्म छाड्न मिल्ने कुरा होइन । 

धार्मिक आचरणद्वारा आफू र आफ्नो परिवेशको मात्र नभई स्थावर–जङ्गमात्मक यस सम्पूर्ण संसारकै कल्याण हुन्छ । धर्ममार्ग अवलम्बन गर्ने बुद्धि सधैँ रहिरहोस् भनेर नै ईश्वर प्रार्थना गर्ने गरिन्छ । वास्तवमा धर्म प्राणी मात्रको रक्षा गर्ने एक सुरक्षाकवच हो । मनुष्य जीवन प्राप्त भएपछिको उसको प्रमुख गन्तव्य भनेकै धर्मप्राप्ति भएकाले यसलाई लोक–कल्याणकारी साधन मात्र नभनेर सबैद्वारा अनुष्ठेय साध्य विषयका रूपमा समेत अङ्गीकार गर्नुपर्ने हुन्छ । 

अर्थ

चार प्रकारका पुरुषार्थमध्ये अर्थलाई यथाक्रम दोस्रो प्रमुख पुरुषार्थ मानिएको छ । अन्य पुरुषार्थभन्दा मान्छेको दृष्टि यसैमा ज्यादा अल्झिएको हुन्छ । यसो हुनुको प्रमुख कारण अर्थ नै व्यावहारिक समस्याको समाधान गर्ने अपरिहार्य तत्व भएकाले हो । बिनाअर्थ प्रगतिको एक पाइलो पनि अघि सार्न सकिँदैन । अर्थ भन्नु वास्तवमा धन, सम्पत्ति र ऐश्वर्यको संज्ञा हो । अर्थ व्यक्तिलाई हरतरहले सम्पन्न पार्ने साधन हो । बिनाअर्थ सामान्यभन्दा सामान्य कुराको पनि पूर्णता सम्भव छैन । धर्माचरणको भौतिक उद्देश्य पनि अर्थप्राप्ति र कामनाको पूर्ति नै हो भने यसको अभौतिक उद्देश्यचाहिँ मुक्ति वा जीवन मुक्तितर्फको यात्रा हो । नीतिशास्त्रका प्रवर्तक शक्राचार्यले अर्थ नै सम्पूर्ण पक्षको कडी भएकाले बिनाअर्थ अन्य पुरुषार्थत्रयको पनि कल्पना गर्न नसकिने कुरा उल्लेख गरेका छन् । भर्तृहरिको विचारमा सबैभन्दा ठुलो पुरुषार्थ भनेकै अर्थ हो । उनी भन्छन्– “सर्वे गुणाः काञ्चनमाश्रयन्ते” अर्थात् धन भए मात्र मानिस कुलीन, पण्डित, ज्ञानी, वक्ता र रूपवान्को रूपमा समेत मानिन्छ, किनकि व्यक्तिमा रहने अन्य विशेष गुणहरूले पनि धनकै अपेक्षा गरिरहेका हुन्छन् । पञ्तन्त्रले धनको अपरिहार्य महत्व रहेको कुरालाई यस प्रकार उल्लेख गरेको छ– ‘मृतो दरिद्रः पुरुषः’ अर्थात् धनहीन भएर जीवन धान्नु भनेको एक प्रकारले मर्नु नै हो । 

अर्थोपार्जनकै निमित्त मनुष्य जे जस्तो कर्म गर्न पनि गर्न अग्रसर हुने भएकाले महान् अर्थशास्त्री चाणक्यसमेत अर्थलाई साधारण पुरुषार्थ ठान्दैनन् । अर्थबाट सम्पूर्ण भौतिक सुविधा प्राप्त हुने भएकाले अर्थप्राप्तिकै निमित्त मनुष्यले जघन्यभन्दा जघन्य काम पनि गरेको पाइन्छ तर जो व्यक्ति अर्थप्राप्तिका लागि भनेर निन्दितभन्दा निन्दित कार्य गर्नतिर लाग्छ उसलाई प्रथम पुरुषार्थ धर्मले नै छाडिदिन्छ । धर्मछाडालाई चौथो वा अन्तिम पुरुषार्थ मोक्ष पनि प्राप्त हुँदैन । यसरी जो धर्मप्राप्तिलाई छाडेर कोरा अर्थप्राप्तिमा मात्र आफूलाई सक्रिय गर्छ त्यसको जीवनमा प्राप्त अर्थले पनि अनर्थ निम्त्याउन पुग्छ । 

काम

चार पुरुषार्थमध्ये तेस्रो महत्वपूर्ण पुरुषार्थ हो काम । यहाँ प्रयुक्त काम शब्दले गृहस्थ जीवनको पूर्णतासूचक अर्थबोध गराउँछ । कामको सामान्य अर्थ इच्छापूर्ति हो । सबै किसिमका इच्छापूर्तिलाई पुरुषार्थ अन्तर्गत राख्न मिल्दैन । अनियन्त्रित इच्छाले धर्ममार्गलाई अवरोध गर्ने र धर्ममार्ग अवरुद्ध भएपछि मोक्षमार्ग स्वतः अवरुद्ध हुने भएकाले नियन्त्रित एवं संयमित इच्छापूर्तिलाई मात्र शास्त्रले पुरुषार्थ अन्तर्गत राखेको छ । विशेषतः अर्थ र कामको उचित प्राप्तिका लागि मनुष्यले धर्ममार्गको नै अनुसरण गर्नु पर्छ भन्ने शास्त्रको जुन व्यवस्था छ त्यो अत्यन्त वैज्ञानिक छ । ब्रह्मचारीको आचारनिष्ठ शुद्ध जीवनयापन गरिसकेपछि मनुष्यले शास्त्रोक्त विधिले पाणिग्रहण संस्कार गर्नु पर्छ । सफल दाम्पत्य जीवनको सुरुवात सँगसँगै मनुष्यले उपयोग गर्ने तेस्रो पुरुषार्थको पनि प्रारम्भ हुन्छ । गृहस्थ जीवन सुरु भएदेखि मानिसमा जिम्मेवारी बढ्छ । सुखी गृहस्थ जीवनका लागि आत्मसंयम र सदाचारले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । 

मोक्ष

मानव जीवनको चतुर्थ एवं अन्तिम उद्देश्य भनेको मोक्ष प्राप्ति हो । मोक्ष भन्नु र मुक्ति भन्नु एकै कुरा हो । पूर्वोक्त तीन पुरुषार्थको सफल उपयोगपश्चात् मनुष्यले मोक्षमार्गको अवलम्बन गर्ने हैसियत राख्छ । मोक्ष प्राप्त गर्नु भनेको संसारदेखि पार हुनु मात्र नभई जीवनका हरेक व्यावहारिक पक्षबाट तटस्थ हुनुसमेत हो । तेरो मेरोको भावना, ईष्र्या, द्वेष, काम, क्रोधादिको बन्धनलाई चटक्क छिनालेपछि मात्र मोक्षमार्गको द्वार खुल्ने शास्त्रीय चिन्तन रहिआएको छ । गृहस्थ जीवनमा आवश्यक विषयवस्तुका प्रभावले चित्तलाई पूर्णतः छुटकारा दिएपछि मनुष्यको बुद्धि निर्मल बन्न पुग्छ । बुद्धि निर्मल भएपछि भ्रम हट्छ । सांसारिक जीवनको क्षणभङ्गुरताको बोध भएपछिको गन्तव्य नै मनुष्य–जीवनको सग्लो यात्राको रूपमा स्पष्टिन आउँछ । क्षणभङ्गुर शरीरलाई आत्मा हो भनी ठान्ने र यी बाह्य धनसम्पत्ति र आफन्तलाई आफ्नै र सधैँका लागि हुन् भनी सोच्ने मनुष्य अनादिदेखि चल्दै आएको जन्ममृत्युजन्य फजितिमा पर्ने हुनाले विवेकी मानिसले चाँडै नै यस भ्रमबाट मुक्त हुनुपर्ने विचार मनिषीहरूमा रहेको देखिन्छ । यो व्यक्ति मेरो, यसलाई मैले विशेष स्नेह गर्नु पर्छ, यो टाढाको, यसलाई टाढै रहन दिनु पर्छ, इत्यादि विचारको बन्धन छिन्न थालेपछि मोक्षमार्ग फराकिलो हुँदै जान्छ भन्ने विश्वास तत्व द्रष्टामा रहेको पाइन्छ । 

उपसंहार

सङ्क्षेपमा के भन्न सकिन्छ भने अमूल्य मनुष्य जीवनमा प्राप्त समयलाई सार्थक बनाउनु छ भने जीवनका प्रमुख चार उद्देश्यलाई भुल्नु हुँदैन । उपर्युक्त चार पुररुषार्थ एक से एक महत्वपूर्ण छन् तापनि धर्म सर्वप्रथम उच्चारण गरिएको र अन्य पुरुषार्थको समेतको मार्गदर्शक भएकाले धर्मलाई प्रधान पुरुषार्थ मानिएको छ । धर्मपछिको दोस्रो पुरुषार्थ भनेको अर्थ हो । यो व्यवहारार्थ उपयोग हुने सबैभन्दा महìवपूर्ण पुरुषार्थसमेत हो । यसैको भौतिक सहयोगबाट अन्य पुरुषार्थ पनि उपलब्ध हुन्छन् । धर्म र अर्थरूपी साधनद्वयबाट तेस्रो पुररुषार्थ काम अर्थात् इच्छासिद्धि हुन जान्छ । इच्छापूर्ति वा कामलाई धर्मले परिष्कार गर्नु पर्छ भन्ने मान्यता छ । यी धर्म, अर्थ र कामरूपी पुरुषार्थत्रय लौकिक जीवनलाई सार्थक बनाउन ज्यादा उपयुक्त छन् । यी तीन पुरुषार्थ प्राप्त गरिसकेपछि प्राप्त गर्नुपर्ने पुरुषार्थ मोक्ष मात्र बाँकी रहन्छ, जसलाई परमपुरुषार्थ पनि भनिन्छ । यिनै चार वटा पुरुषार्थ प्राप्तिका निमित्त नै मनुष्य जीवन प्राप्त भएको हो । यी चार वटै पुरुषार्थको आआफ्ना क्षेत्रमा अरूको भन्दा ज्यादा महìव रहे तापनि समग्र मानव जीवनलाई सार्थक तुल्याउन सबैको विशेष महत्व रहेको कुरा स्पष्ट नै छ । अस्तु ।

 

Author

प्राडा माधवप्रसाद लामिछाने