• २५ पुस २०८१, बिहिबार

धर्मशालामा लक्ष्मीनारायण पाटी सङ्ग्रहालय सञ्चालन

blog

सङ्ग्रहालयको समुद्घाटन गर्नुहुँदै रामपुर नगर उपप्रमुख थापा । तस्बिर : इमान सिं राना

इमान सिं राना

रामपुर (पाल्पा), पुस २४ गते । रामपुर नगरपालिका–४, खोप्टारमा रहेको धर्मशालामा लक्ष्मीनारायण पाटी सङ्ग्रहालय सञ्चालनमा आएको छ । लक्ष्मीनारायण गुठीद्वारा सञ्चालित ऐतिहासिक पाटी भवन धर्मशालामा सङ्ग्रहालय सञ्चालन गरिएको हो । 

पुराना ऐतिहासिक वस्तु तथा विभिन्न जातजातिका भेषभूषाको सङ्ग्रह गरी लक्ष्मीनारायण पाटी सङ्ग्रहालय समितिले बुधबारदेखि सङ्ग्रहालय सञ्चालनमा ल्याएको हो । धर्मशालामा सङ्ग्रहालयको समुद्घाटन गर्दै रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले पुर्खाहरूले प्रयोग गरेको सामग्री, तत्कालीन समयको परिवेश र इतिहासबारे नयाँ पुस्तालाई जानकारी सङ्ग्रहालयले सहयोग गर्ने बताउनुभयो । 

पाटी भवन रामपुरको इतिहासमात्र नभ पर्यटकीय गन्तव्य रहेको बताउँदै नगरपालिका धर्मशालाको संरक्षण तथा सङ्ग्रहालयको व्यवस्थापनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । 

रामपुर ४ का वडा अध्यक्ष रामबहादुर रानाले सङ्ग्रहालयको संरक्षण र सम्वर्धन गर्नु सबैको दायित्व रहेको बताउँदै वडाले पनि आवश्यक साथ र सहयोग गर्ने बताउनुभयो । स्थापनासँगै निरन्तरता दिनु चुनौतीपूर्ण रहेको भन्दै सहयोगका लागि सबैलाई आग्रह समेत गर्नुभयो । रामतुलसी माविका प्रधानाध्यापक ऐतिहासिक पाटीले बटुवालाई आश्रय दिनुका साथै हालको रामतुलसी मावि समेत यही पाटीमा सञ्चालन भएको रहेको बताउनुभयो । 

लक्ष्मीनारायण गुठी सञ्चालन संस्थाका अध्यक्ष बुद्धिप्रकाश रेग्मीले धर्मशालाको ऐतिहासिक पृष्ठभुमिको बारेमा जानकारी दिँदै सङ्ग्रहालय गुठी मातहतमा रहे पनि स्थानीयहरूबाट नै सञ्चालन हुने बताउनुभयो । उहाँले सङ्ग्रहालय सञ्चालनका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । 

लक्ष्मीनारायण पाटी सङ्ग्रहालय समितिका अध्यक्ष कविता मल्लले नगरपालिका र स्थानीयको साथ सहयोगबाट सङ्ग्रहालय स्थापना गरिएको जानकारी दिनुभयो । व्यवस्थापनका अन्य कार्यहरू बाँकी रहेकाले क्रमशः थप व्यवस्थापन गर्दै जाने बताउनुभयो । 

उपाध्यक्ष ओमनारायण श्रेष्ठले रामपुर नगरपालिका ३ देखि ७ सम्मका विभिन्न व्यक्तिले निःशुल्क प्रदान गर्नुभएको सामग्री सङ्कलन गरी सङ्ग्रहालयमा राखिएको बताउनुभयो । विभिन्न जातजातिसँग सम्बन्धित संस्थाको समन्वयमा जातिय पोशाकहरू सङ्ग्रहालयमा राखिएको छ । धर्मशालाको तल्लोतलामा विगतमा प्रचलनमा रहेका पुराना सामग्री र दोस्रो तलामा विभिन्न जातजातिसँग सम्बन्धित पोसाकहरू राखिएको छ । 

लक्ष्मीनारायण पाटी सङ्ग्रहालय समितिका सचिव इन्द्रबहादुर घर्तीले रामपुर नगरपालिकाबाट प्राप्त बजेटले यस वर्ष कम्पाउन्डको केही काम गरिएको र वडा नं. ४ बाट विनियोजित रकमले सङ्ग्रहालयमा लाइटको व्यवस्था गरिएको जानकारी दिनुभयो । सङ्ग्रहालय समुद्घाटनको अवसरमा सहयोग गर्नुहुने विभिन्न संस्था तथा व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको थियो । 

कालीगण्डकी बेँसीको धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको दुई सय वर्ष पुरानो धर्मशालालाई २०७२ को भूकम्पबाट क्षति भएपछि पुरातत्व विभागको तीन करोड छ लाख ५३ हजारको लागतमा पुनः निर्माण गरिएको थियो । धर्मशालालाई पाटी भवनका नामले बढी चिनिन्छ । सो सम्पदा विसं १८८९ भन्दा अघि निर्माण भएको ताम्रपत्रमा उल्लेख छ । साविक रामपुर गाविस–८ का समाजसेवी तुल्सीराम रेग्मीले गुठी निर्माण गर्नुभएको इतिहास रहेको छ । 

तत्कालीन समयमा यस क्षेत्रमा भित्रिने विशिष्ट व्यक्तिको स्वागत, बसोवास र धर्मशालाका रूपमा गुठी निर्माण गरिएको हो । 

लक्ष्मीनारायण गुठी सञ्चालन संस्थाका अध्यक्ष रेग्मीका अनुसार तत्कालीन समयमा बाटोमा हिँड्दा बटुवाका लागि बाँस बस्ने प्रयोजनका लागि गुठीको निर्माण गरी सोहीअन्तर्गत धर्मशाला बनाइएको थियो । विगतमा होटल नभएको समयमा पाल्पाबाहेक तनहुँ, नवलपरासी, कास्की, पर्वत, स्याङ्जा, बाग्लुङ देखिका बटुवा आई बस्दथे । 

साथै पाटीमा निः शुल्क बास बस्ने, खाना खाने, विभिन्न तिथिहरूमा योगी, साधु, सन्यासीहरू आई सिधा थाप्ने गर्दथे । यही स्थानबाट रामतुलसी मावि केही समय सञ्चालन भएको थियो ।