• २५ पुस २०८१, बिहिबार

ताप्लेजुङमा वर्षा र हिमपात

blog

मैवाखोला गाउँपालिका शीर मिल्के–जलजले क्षेत्रमा परेको हिउँ । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, पुस २४ गते ।
ताप्लेजुङमा मङ्गलबार राति वर्षा र हिमपात भएको छ । वर्षासँगै जिल्लाको उच्च भेगमा बाक्लो हिमपात भएको हो । ताप्लेजुङमा यो दोस्रो पटक हिमपात भएको हो ।

जिल्लास्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) सहित उच्च हिमाली भेगमा हिमपात भएको छ । हिमाली बस्ती फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सा, फले, वडा–७ ओलाङ्चुङगोला, याङ्मामा सामान्य हिउँ परेको छ । ओलाङ्चुङगोला बस्तीमा सामान्य हिउँ परेको स्थानीय दावाफुटी शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार ओलाङ्चुङगोलामा वर्षा भएको छैन ।

यस्तै, फलेका स्थानीय मिङ्मा शेर्पाका अनुसार फले र घुन्सा बस्तीमा पनि सामान्य मात्र हिउँ परेको छ । उच्च हिमाली क्षेत्रमा भने बाक्लो हिमपात भएको स्थानीयले बताएका छन् । जिल्लाको मैवाखोला गाउँपालिकाको माथिल्लो भेग मिल्के जलजले क्षेत्र, मिक्वाखोलाको तोक्पेगोला क्षेत्र, फक्ताङ्लुङको मानाभरा क्षेत्रमा हिमपात भएको छ ।

सिदिङ्वा गाउँपालिकाको तिम्बुङ पोखरी क्षेत्र र सिरिजङ्घा गाउँपालिकाको माथिल्लो भेगमा बाक्लो हिमपात भएको स्थानीयले बताएका छन् । यता तीन हजार ७९४ मिटर उचाइ रहेको पाथीभरामा झण्डै एक फिटसम्म हिउँ थुप्रेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । यसअघि गत मङ्सिर ५ गते ताप्लेजुङमा पहिलो पटक हिमपात भएको थियो ।

यता लामो समयपछि वर्षा भएकाले किसान हर्षित भएका छन् । नगदेबाली अलैँची, फलफूल र हिउँदे बालीका लागि वर्षाले राहत पुर्‍याएको स्थानीय किसानले बताएका छन् । यस्तै वर्षा र हिमपातले वातावरण सन्तुलित राख्नमा पनि सहयोग पुग्ने सामुदायिक वन उपभोक्ता महासङ्घ ताप्लेजुङका अध्यक्ष सुरज ओझाको भनाइ छ ।

हिमपात भएपछि जिल्लामा चिसो भने निकै बढेको छ । सदरमुकाम फुङ्लिङसहित जिल्लाभर चिसो निकै बढेको स्थानीय बताएका छन् । जल तथा मौसम विज्ञान कार्यालय धरान, ताप्लेजुङ फिल्ड कार्यालयका अनुसार मङ्गबार राति ४.१ मिलिमिटर वर्षा भएको छ । बुधबार बिहानको ताप्लेजुङको न्युनतम् तापक्रम ३.२ डिग्री सेलसियस मापन गरिएको फिल्ड कार्यालयका नायव मौसम विज्ञान सहायक सुयोग भट्टराईले जानकारी दिनुभयो ।