• ५ जेठ २०८१, शनिबार

त्रियुगा नगरपालिकाको मत गणना सुरु हुँदै

blog

गाईघाट, जेठ १० गते । वैशाख ३० गते सम्पन्न भएको उदयपुरको त्रियुगा नगरपालिकाको मत गणना आजबाट सुरु हुने भएको छ । त्रियुगा नगरपालिका वडा नं १२ को जनप्रेमि आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा वर्षादका कारण कर्मचारीहरुबाट मतदान कार्य सम्पन्न गराउन ढिलाई हुँदा सामान्य विवाद भएपछि मतगणना कार्य रोकिदै आएको थियो ।

सोहि क्रममा मुख्यनिर्वाचन अधिकृत दिपक खनाललेसमेत स्वास्थ्यका कारण मुख्य निर्वाचन अधिकृतबाट राजिनामा दिनुभएपछि थप समस्या उत्पन्न भएकोमा त्यसको निराकरणका लागि निर्वाचन आयोगले अर्का न्यायधिस उत्तम सिलवाललाई उदयपुरको मुख्य निर्वाचन अधिकृत नियुक्त गरी निर्वाचनका बाँकि कामहरु अगाडि बढाएको हो । तर केहि राजनैतिक दलहरुले वडा नं १२ मा पून मतदान हुनुपर्ने जिकिर गर्नथालेपछि मत गणनाको काम सुरु हुन सकेको थिएन ।

अपरान्ह करिव साढे ४ बजेसम्म भएको मतदानमा करिव ५४ प्रतिशत मत खसेको तर गणना गर्न असहमत जनाएका दलहरुले अनेक विवाद झिकेपछि आयोगबाट आयुक्त रामप्रसाद भण्डारीको नेतृत्वमा आएको टोलिले मतदानस्थल सम्मको घटना विवरणको अध्ययन,अनुसन्धान गरी प्रतिवेदन दिएपछि निर्वाचन आयोगले सोमवार तत्काल मत गणना सुरु गर्ने निर्णय गरेको हो ।

 उदयपुरका मुख्य निर्वाचन अधिकृत उत्तम सिलवाले आजबाट त्रियुगा नगरपालिकाको मत गणना सुरु गर्न आवश्यक तयारी गरिएको बताउनुभयो । आयोगको निर्णय आएसँगै अव मत गणना सुरु गर्न बाटो खुलेको उहाँले बताउनुभयो ।

Author

भक्तिविलास पोखरेल