सचिन पोख्रेल
इटहरी, पुस २१ गते । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सुनसरीको पवित्र धार्मिक तीर्थस्थल तथा प्राचीन हरिद्वारको रूपमा रहेको चतराधामको धार्मिक, ऐतिहासिक, र पर्यटन महत्त्वलाई अझै उजागर गर्न नेपाल सरकारको पूर्ण साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
चतराधाममा रहेको जगतगुरु रामानन्दाचार्य सेवा पीठ, तारकब्रह्म पीठ, र हनुमान मन्दिरको दर्शनको क्रममा उपप्रधानमन्त्री सिंहले नेपालको धार्मिक पर्यटन क्षेत्रको विकासमा चतराधामले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै चतराको धार्मिक महत्त्वले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत गरेको बताउनुभयो । उहाँले चतरा क्षेत्रको समग्र विकास र उत्थानमा सरकारका सदैव साथ रहने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ ।
सो अवसरमा उपप्रधानमन्त्री सिंहले जगतगुरु रामानन्दाचार्य सेवा पीठका जगतगुरु महायोगी सिद्धबाबासँग भेटघाटसमेत गर्नुभएको थियो । भेटघाटको क्रममा जगतगुरु महायोगी सिद्धबाबाले रामानन्दाचार्य पीठ परिसरमा दुई अर्बको लगानीमा निर्माणाधीन श्रीराम मन्दिरको योजना प्रस्तुत गर्दै चतरालाई विश्वकै एक मात्र तारकब्रह्म पीठका रूपमा विकास गर्ने लक्ष्य रहेको जानकारी दिनुभएको थियो ।
जगतगुरु सिद्धबाबाले वराहक्षेत्र–चतरा क्षेत्रलाई समग्र सनातनीहरूको प्रमुख गन्तव्य बनाउने आफ्नो अभियान रहेको र सोही अभियान अन्तरगत भौतिक पूर्वाधारको निर्माण तथा बृहद् धार्मिक गतिविधिको आयोजना गर्ने अभियानलाई पीठले प्राथमिकतामा राखेकोसमेत जानकारी दिनुभयो ।
चतराधामको विकासमा महायोगी सिद्धबाबाको नेतृत्वमा रामानन्दाचार्य सेवा पीठले सञ्चालन गर्दै आएका सामाजिक र धार्मिक गतिविधिले पनि ठुलो योगदान पुर्याइरहेकाे छ ।
उपप्रधानमन्त्री सिंहको भ्रमणले चतराको धार्मिक पर्यटन प्रवर्धन नयाँ दिशा दिन सक्ने अपेक्षा पीठले राखेको छ । निर्माणाधीन श्री राम मन्दिर र चतराधामको अन्य संरचनात्मक विकास पूरा भएपछि यो क्षेत्र नेपालका मात्र होइन, विश्वभरका धार्मिक पर्यटकहरूको प्रमुख गन्तव्य बन्ने विश्वास गरिएको छ ।