काठमाडौँ, पुस २१ गते । टेस्ट संरचनाको क्रिकेट प्रतियोगिता ‘जय ट्रफी मेन्स एलाइट कप’ आइतबार देखि वीरगञ्ज र जनकपुरमा सुरु भएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा सुरु भएको प्रतियोगिताको पहिलो दिन सहभागी चारवटै टोलीले खेल सुरु गरेका छन् । पर्साको वीरगञ्जस्थित मैदानमा भएको दुई दिवसीय खेलको पहिलो दिन बलरहरू हाबी भएका छन् ।
विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबिचको खेलमा १७ विकेट खसेको छ । खेलमा पुलिसले टस जितेर आर्मीलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । बलर हाबी भएको खेलमा आर्मी ३४.४ ओभरमा १२१ रन बनाएर अलआउट भयो । पुलिसका लागि ललित राजवंशी एक्लैले सात विकेट लिनुभयो । यस्तै श्रवण यादव, रासिद खान र कुशल भुर्तेलले एकएक विकेट झार्नुभयो ।
यस्तै पहिलो इनिङ सुरु गरेको पुलिसले पनि २४ ओभरमा सात विकेट गुमाएर एक सय तीन रन बनाएको छ । लगातार विकेट गुमाएको छ । आर्मी पुलिसभन्दा १८ रनले पछाडि छ । पुलिसका गुलसन झा र प्रेम तामाङ अविजित हुनुहुन्छ । यता बलिङमा आर्मीका साहाब आलमले पाँच विकेट लिनुभयो । सोमपाल कामी र पवन कार्कीले एक एक विकेट लिनुभयो ।
बागमती ६८ रनले पछाडि
यस्तै जनकपुरमा भएको अर्को खेलमा मधेश प्रदेशविरुद्ध बागमती प्रदेश ६८ रनले पछाडि परेको छ । रामजानकी मैदानमा पहिलो दिन बागमतीले १३ ओभरमा दुई विकेट गुमाएर ३४ बनाएको छ ।
बागमतीका लागि शुभ कंशाकार २२ र इशान पाण्डे ९ रनमा अविजित हुनुहुन्छ । मधेशका लागि रुपेश सिंह र विशाल पटेलले एक एक विकेट लिनुभएको छ ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मधेश ३५.३ ओभरमा एक सय दुई रनमा अलआउट भएको थियो । मधेशका लागि मायन यादवले २१, विशाल पटेलले १६, निरज यादवले १२, अभिषेक तिवारीले ११ र हिमान्शु दत्तले १० रन बनाउनुभयो ।
बलर हाबी बनेको यस खेलमा पनि बागमतीका कप्तान सन्दीप लामिछानेले पाँच विकेट लिनुभयो । सूर्य तामाङले तीन तथा नन्दन यादव र प्रतिश जिसीले एक एक विकेट लिनुभयो ।