• २३ पुस २०८१, मङ्गलबार

चाँगुनारायणमा स्वच्छ वातावरण बनाउने प्रयास

blog

गोरखापत्र समाचारदाता 

भक्तपुर, पुस २१ गते । चाँगुनारायण नगरपालिकाले वायु प्रदूषणबाट वातावरण प्रदूषित बन्दै गएपछि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना तयार गरी स्वच्छ वातावरण निर्माण गर्ने कार्यलाई तीव्रता दिएको छ । 

वायु प्रदूषण नियन्त्रण तिनै तहका सरकारको प्रमुख चुनौती बन्दै गइरहेका बेला चाँगुनारायण नगरपालिकाले भने गत वर्षदेखि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना तयार गरी कार्यान्वयन गरिरहेको हो । 

अहिले नगरपालिकाले सार्वजनिक सवारीसाधनलाई क्रमिक रूपमा विद्युुतीय सवारीसाधनका रूपमा रूपान्तरण गर्न नगरपालिका क्षेत्रमा चल्ने दुुई वटा रुटमा १४ सिटे विद्युतीय सवारीसाधन सञ्चालनमा ल्याई धुँवा फाल्ने सवारीसाधनलाई कम गर्दै गएको छ । विद्युतीय सवारीसाधन सञ्चालन गर्नका लागि तीन वटा स्थानमा चार्जिङ स्टेसन बनाउने प्रक्रिया अगाडि बढाइएको नगरपालिकाले जनाएको छ ।  नगरपालिकामा सञ्चालित इँटा उद्योगलाई प्रदूूषणरहित बनाउनका लागि प्रविधिमैत्री इँटा उद्योग निर्माण गर्ने काम भइरहेको छ भने नगरपालिका क्षेत्रभित्र अहिले पनि १० प्रतिशत घरधुरीमा दाउरा नै प्रयोग गरी खाना पकाउने कार्य भइरहेकाले दाउराबाट हुुने वायुु प्रदूूषणलाई सुधार गर्नका लागि ती घरपरिवारलाई सुधारिएको चुलो बनाउने काम अगाडि बढिसकेको छ ।  

नगरपालिका उपप्रमुख रमेश बुढाथोकीले नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउनुपर्ने संवैधानिक अधिकार अनुसार नगरपालिकाले वायु गुणस्तर कार्ययोजना निर्माण गरी नगरवासीको सहभागितामा कार्ययोजना तयार गरी कार्यान्वयन गरिरहेको बताउनुभयो । 

वायु गुणस्तर व्यवस्थापन कार्ययोजना तयार गरी कार्यान्वयन गर्ने चाँगुनारायण पहिलो भएको नगरपालिकाले दाबी गरेको छ । 

नगरपालिकाको खानेपानी सरसफाइ तथा स्वच्छता शाखाका संयोजक सुरेन्द्र लामिछानेले वातावरण स्वच्छ राख्नका लागि नगरपालिकाले नगरबासीको व्यवहारमा परिवर्तन गर्न नागरिकस्तरका सञ्जाल तथा सङ्गठनलाई क्रियाशील बढाउने काम भइरहेको बताउनुभयो । 

नदीकिनारमा कोरिडोरको निर्माण गर्ने, सडक मर्मत सुधार गर्दा सकेसम्म काम छिटो गर्ने, धुलो कम उड्ने गरी व्यवस्थापन मिलाउने, नगर क्षेत्रमा रहेका इँटा तथा अन्य उद्योगका उत्सर्जन तथा कृषि क्षेत्रमा कीटनाशक विषादीको प्रयोगबाट हुने प्रदूषण न्यूनीकरण गरी हरित अर्थतन्त्रको प्रवर्धन गर्ने नगरपालिकाले निर्माण गरेको कार्य योजनामा भनिएको छ । नगरपालिकाले  आव २०८२/८३ भित्र  कार्ययोजनामा उल्लेख गरिएका सबै सूचकलाई  कार्यान्वयन गरिसक्ने गरी कार्ययोजना बनाएको छ ।