• २३ पुस २०८१, मङ्गलबार

मकवानपुर–काठमाडौँ सडक पन्ध्र दिन बन्द

blog

मकवानपुर र काठमाडौँ जोड्ने महालक्ष्मीखोला–मातातीर्थ सडक अन्तर्गत इन्द्रसरोवर–५ मा भइरहेको सडक स्तरोन्नतिको कार्य ।तस्बिर : राममणि दाहाल

मकवानपुर समाचारदाता

हेटौँडा, पुस २१ गते  । मकवानपुरलाई काठमाडौँसँग जोड्ने वैकल्पिक मार्ग महालक्ष्मीखोला–मातातीर्थ–सतुङ्गल सडक स्तरोन्नतिका लागि बन्द गरिने भएको छ । मकवानपुरको महालक्ष्मीखोला–मातातीर्थ सडक अन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ स्थित महालक्ष्मीखोलानजिकै भिर कटानका लागि उक्त सडक सोमबारदेखि १५ दिनका लागि बन्द गरिने भएको हो ।

मकवानपुरको महालक्ष्मीखोलादेखि चखेल देउराली हुँदै काठमाडौँतर्फ जाने सडक यही पुस २२ गते सोमबारदेखि आगामी माघ ७ गतेसम्म बन्द हुने भएको छ । बागमती प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय मकवानपुरबाट मकवानपुरतर्फको सडकखण्डमा स्तरोन्नतिका क्रममा सडक बन्द गर्न लागिएको इन्द्रसरोवर गाउँपालिका–५ का वडाध्यक्ष दुतराज तितुङले जानकारी दिनुभयो ।  उहाँका अनुसार महालक्ष्मीखोलादेखि चखेल–देउराली खण्डमा टेवा पर्खाल निर्माण, भिर कटान, ढल निर्माणलगायतका कार्य भइरहेको छ । हेटौँडा–काठमाडौँ जोड्ने सबैभन्दा छोटो उक्त मार्गको काठमाडौँतर्फ भने स्तरोन्नतिको कार्य हाल नभएको वडाध्यक्ष तितुङले बताउनुभयो ।

यसैबिच कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडक र फर्पिङ–टल्कु–हुमाने सडकखण्डमा एकतर्फी रूपमा सवारीसाधन सञ्चालन गरिएको छ । राजधानी पूर्वाधार विकास विशेष आयोजना, हेटौँडा अन्तर्गत यी सडकको निर्माण कार्य भइरहेकाले एकतर्फी गरिएको हो ।