• २२ पुस २०८१, सोमबार

भरे दिन्छु (कथा)

blog

बिहान भइसकेको थियो । तर ऊ उठेको थिएन । निदाएको पनि थिएन । उसकी श्रीमती उठेर कौसी, बरन्डा, भ-याङ हुँदै आँगनसम्म कुचो लगाउँदै थिई । बाहिर अलि अलि मान्छेको हल्लाखल्ला भने अघिदेखि नै सुरु भइसकेको थियो । 

उसले घडी हे -याे र मनोगत भन्यो, अब त उठ्नु पर्छ । त्यही बेलामा डोरबेल बज्यो । बिहानै को आएछ भन्ने सोचेर उसले कान थापेर सुन्यो । 

‘भरे आउनू । म दिन्छु ।’ उसकी श्रीमतीले यस्तो भनेको सुन्यो उसले । कसलाई के दिन्छु भनेको होला ? उसको मनमा खुल्दुली बढ्यो । दिने कुरा धेरैथरी हुन्छन् । खाली सिसी, पुराना कागज, कवाडी आदि के दिन्छु भनेकी हो उसकी श्रीमतीले ? उसले ठम्याउन सकेन । 

ऊ मनमा के के सोच्दै उठ्यो । जिउ तन्कायो । दायाँ बायाँ हात घुमायो । पालैपालो खुट्टा उचाल्यो । आठ, दस पटक कोठामै उफ्रियो । यति गर्दा उसको सास बढे जस्तो भयो । यति गरेपछि दिनभरिलाई जिउ सन्चो हुन्छ भन्ने उसको मान्यता थियो । अरूको जस्तो मर्निङवाकमा जाने अथवा जिममा जाने उसको बानी थिएन । बानी के भन्नु, उसलाई मनै भएन । कहिले नभ्याएर र कहिले मन नलागेर । उसलाई समय व्यवस्थापन गर्न आएन अथवा उसैले चाहेन । त्यसैले उसको जिन्दगी पनि अव्यस्थित नै छ ।

उसकी श्रीमती उसलाई समय अनुसार अर्थात् जमाना अनुसार चल्न भन्छे । अलिकति सामाजिक हुन अर्थात् टोलछिमेकका मान्छेसित घुलमिल हुन भनिरहन्छे । तर उसको स्वभाव नै त्यस्तो भएर हो कि किन हो, उसले श्रीमतीले भने जस्तो कहिल्यै गरेन अथवा गर्न चाहेन । ऊ आफ्नै मर्जीमा चलिरह्यो । उसलाई टोलको चियापसलमा बसेर घण्टौँ बकमफुसे गफ गरेर बस्ने इच्छा कहिल्यै भएन । टोलको चियापसलमा हुने सरकारी कर्मचारीका फाइल अड्काउने र घुस खाने कुरा अनि टोले नेताका राजनीतिका गनाउने कुरा सुन्ने इच्छा पनि कहिल्यै भएन उसलाई । उसलाई किताब र पत्रपत्रिका भए पुग्छ । त्यसैमा रमाइलो लाग्छ उसलाई । त्यसैमा रमाउँछ ऊ । 

जिउ तन्काउने काम सकेर उसले दुई गिलास मनतातो पानी पियो । त्यो पानी उसकी श्रीमतीले अघि नै ल्याएर राखेकी थिई । उसको बानी थाहा छ उसकी श्रीमतीलाई । उसलाई बिहान उठेर बाथरुम जानुअघि मनतातो पानी चाहिन्छ भन्ने कुरा बिहे गरेर आएकै दिनदेखि बुझेकी थिई उसकी श्रीमतीले ।

बाथरुम जानुअघि उसले भित्तेघडीमा आँखा लगायो तर समयको ख्याल गरेन । कति बजेको हो उसले वास्तै गरेन । उसलाई बाथरुमको काम सक्न कम्तीमा आधा घण्टा लाग्छ । त्यतिन्जेलमा कसैलाई बाथरुम जानुप-याे भने माथि छतको बाथरुममा जान्छन् तर उसलाई डिस्टर्ब गर्दैनन् । उसको परिवारमा ऊ, उसकी श्रीमती, एक छोरा र एक छोरी छन्, जो सानै छन् । एक जना आठ कक्षामा पढ्ने, अर्को चार कक्षामा पढ्ने । दुवै बाथरुममा आवश्यक सबै कुराको व्यवस्था छ । त्यसैले जुन बाथरुम प्रयोग गर्दा पनि हुन्छ ।

ऊ केही नसोची बाथरुमभित्र पस्यो । कमोडमा बसेपछि भने उसले फेरि केही सोच्न थाल्यो ।

उसको सोचाइमा अनायासै अघिकै कुरा आयो । अघिको कुरा सम्झनासाथ उसको पेटबाट बाहिर आउनै लागेको दिशा मलद्वारमै अड्के जस्तो भयो । उसको सास पनि एकछिन रोकिए जस्तो भयो । छाती ढक्क भयो ।

भरे के दिन्छु भनेकी हो त्यसले ? उसले आफूले आफैँलाई सोध्यो । खाली सिसी पुराना कागजवालालाई दिन्छु भनेकी हो कि ? भिक्षा माग्नेलाई दिन्छु भनेकी हो कि ? सापटी माग्नेलाई दिन्छु भनेकी हो कि ? चन्दा माग्नेलाई दिन्छु भनेकी हो कि ? दसैँ नजिक आउँदै छ । दसैँको चिट्ठा बेच्नेलाई पो दिन्छु भनेकी हो कि ? कसलाई के दिन्छु भनेकी होली ? उसको मनमा प्रश्नहरूको ओइरो लाग्न थाल्यो । कल्पनाको आँधी चल्न थाल्यो । त्यो आँधीमा उसको मन वेगले बतासिन थाल्यो । ऊ कताकता हराउन थाल्यो । उसले म बाथरुममा के गर्दै छु भन्ने पनि बिर्स्याे । 

उसले श्रीमतीको गुनगुन सुन्यो । यस्तो गुनगुन कहिलेकाहीँ मात्रै सुनिन्थ्यो । लोग्नेसँग खुसी भएको दिन अथवा उसले खुसी पारेको दिन मात्रै उसकी श्रीमती यसरी बिहानैदेखि गुनगुनाउन थाल्थी । उसले श्रीमतीलाई खुसी पार्ने कुनै काम गरेको थिएन । हिजो अफिसबाट आउँदा उसले श्रीमतीलाई कुनै उपहार ल्याएर दिएको थिएन । महिनाको तलब पनि बुझाएको थिएन । हिजो श्रीमान्–श्रीमती कतै घुमेर र रेस्टुरेन्टमा मिठो मिठो खाएर आएका पनि थिएनन् । राति श्रीमतीलाई धेरै माया पनि गरेको थिएन । साँच्चै भन्ने हो भने ऊ त हिजो अफिसबाट निकै थाकेर आएको थियो । ओछ्यानमा पल्टनेबित्तिकै फुस्स निदाएको थियो । फेरि किन उसकी श्रीमती खुसी भएर बिहानै गुनगुनाउन थालेकी छे ? बिहानै चिट्ठा परेको खबर त सुनेकी छैन होला !

उसले अनेकथरी सोच्दासोच्दै बाथरुममा धेरै समय बितेछ । उसकी श्रीमती कराउन थाली, ‘अझै सकिएको छैन ?’

श्रीमतीको आवाज सुनेर ऊ फेरि सोचमग्न हुन थाल्यो । के कुराको आतुरी परेर यति हतारिएकी ? अरू बेला त कहिल्यै यसरी सोध्दिनथी । उसलाई कताकता श्रीमतीको व्यवहारप्रति शङ्का लाग्न थाल्यो ।

कहिलेकाहीँ ऊ अफिस हिँड्ने बेलामा उसकी श्रीमती सोध्थी, ‘भरे कतिखेर आउनुहुन्छ ?’

ऊ दायाँ बायाँ केही नसोची भन्थ्यो, ‘उही सधैँको टाइममा ।’

‘हस्’ भनेर उसकी श्रीमती आफ्नो काममा लाग्थी । ऊ कुनै नखरा देखाउँदिनथी । लोग्ने दिउँसै आइदिए हुन्थ्यो भन्ने भाव पनि उसको अनुहारमा प्रकट भएको हुँदैनथ्यो । खाली औपचारिकतामा सीमित हुन्थ्यो उसको त्यो प्रश्न । हरेक श्रीमतीले श्रीमान्् बाहिर निस्कन लाग्दा औपचारिकताका लागि सोध्ने प्रश्न जस्तै । श्रीमतीको अनुहारमा कुन भाव छ भनेर हेर्ने अथवा पढ्ने आवश्यकता ठान्दैनथ्यो ऊ पनि । अनि ऊ पनि खुरुखुरु अफिसतिर हिँड्थ्यो ।

उसले आज अनायासै श्रीमतीको त्यही प्रश्न सम्झ्यो । अनि मनोवाद गर्न थाल्यो । किन सोधेकी होली त्यस्तो प्रश्न ? नवविवाहित जोडी भए पनि कतिखेर देखूँ र कतिखेर भेटूँ हुन्थ्यो होला । हामी त दुइटा बच्चाका बाआमा । किन त्यस्तो अधीर बन्नुपथ्र्यो र त्यसलाई ! म कतिखेर घर आउँछु भन्ने कुरामा निश्चिन्त हुन खोज्नुको कारण के होला ? 

अकस्मात् उसलाई बिहेका सुरुका दिनहरूको सम्झना भयो । उसले बिहेका लागि अफिसमा लामै बिदा लिएको थियो । बिहे सकिएपछि पनि अझै बिदाका दिनहरू बाँकी थिए । ऊ दिनभरि घरमै हुन्थ्यो । बाआमा पनि घरमै हुन्थे । ऊ कोठामा बसेर कहिले लेख्ने र कहिले पढ्ने गर्थ्याे । श्रीमती नजिक आएर बस्थी । श्रीमतीको तातो बाफले ऊ आफैँ बाफिन्थ्यो । मन तरङ्गित हुन्थ्यो । अनि ऊ श्रीमतीको हात समातेर अझै नजिक तान्थ्यो र सुमसुम्याउन थाल्थ्यो । उसको आशय बुझेर उसकी श्रीमती आत्तिँदै ‘अहिले नाइँ, भरे...’ भन्दै हात फुत्काएर भाग्थी । ऊ हाँस्दै श्रीमती गएको हेरिरहन्थ्यो र त्यो भरेको प्रतीक्षा गर्थ्याे । 

अस्ति भर्खर तीजका बेला एउटा गीत खुब बजेको उसले सुनेको थियो, ‘बिहे अघि दिन्नँ... ।’ गीतको आशय उसले बुझेको थियो । उसले मात्रै होइन, गीत सुन्ने सबैले बुझेका थिए । उसकी श्रीमतीले त सिधै भरे दिन्छु भनेकी छे । यो सोचेर उसलाई भाउन्न होला जस्तो भयो । कति निसङ्कोचसित भन्न सकेकी ! न लाज ! न शरम ! न डर ! न भय ! कति सजिलै भनेकी भरे दिन्छु भनेर ! यस्तो सोच्दासोच्दै उसको मनको उद्वेग झन् झन् बढ्न थाल्यो । 

त्यतिखेरै बाहिर नहेरेकोमा उसलाई पछुतो लाग्न थाल्यो । हेरेको भए बाहिर को आएको थियो भन्ने थाहा पाउँथ्यो । 

ऊ फेरि सोचमग्न भयो । मेरी श्रीमतीले मलाई साँच्चै नै धोका त दिइरहेकी छैन ? ममाथि विश्वासघात त गरिरहेकी छैन ? उसले मलाई जस्तै अरूलाई पनि यति सजिलै दिने गरेकी छे ? के ऊ मलाई नामर्द प्रमाणित गर्न खोज्दै छे ? 

उसको मनमा श्रीमतीको चरित्रमाथि शङ्का उब्जियो । कुनै चलचित्रको कथामा जस्तो । कुनै साहित्यिक किताबको कथा अथवा उपन्यासमा जस्तो । मेरोे जीवनमा पनि त्यस्तै घटना त भइरहेको छैन ? म कति धेरै सोझो र एकोहोरो भएको ! मेरो यही सोझोपनको फाइदा त उठाइरहेकी छैन मेरी श्रीमतीले ? मलाई कति पटक इन्कार गरेकी मेरी श्रीमतीले अरूलाई चाहिँ हाकाहाकी भरे दिन्छु भनेकी छे । को रहेछ हामी दुईको बिचमा उभिन आएको त्यो खलनायक ?

अब उसले आफ्नी श्रीमतीलाई त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्रकी नायिका अथवा त्यस्तै कथा र उपन्यासकी नारीपात्रसँग तुलना गर्न थाल्यो । उसको आँखामा पर्दामा देखिने चलचित्रको दृश्य र कथा अनि उपन्यासमा वर्णित चित्रहरू घुम्न थाले । सोच्दासोच्दै उसको मनको उद्वेग झन् बढ्न थाल्यो । उसलाई रिँगटा लागे जस्तो हुन थाल्यो । उसको आँखामा चक्र घुम्न थाल्यो फननन ।

उसले बाथरुममा आधा काम सक्यो । आधा काम अधुरै छोडेर ऊ बाहिर निस्क्यो । 

उसकी श्रीमती टेबुलमा चिया राखेर उसलाई नै कुरिरहेकी रहिछे । सधैँ बिहान नुहाउने लोग्ने आज ननुहाई निस्केको देखेर उसले अचम्म मान्दै सोधी, ‘आज किन नुहाउनुभएन ?’

उसले पुलुक्क श्रीमतीतिर हे-यो तर केही बोलेन । उसको अप्रत्याशित व्यवहारले उसकी श्रीमती हैरान भई । उसले दोहो¥याएर प्रश्न सोध्ने आँट गरिन । बरु उसले पनि पुलुक्क श्रीमान्को मुख हेरी । श्रीमान्को मुहार अरू दिनभन्दा फरक देखी । उसको मनमा चिसो पस्यो । आज बिहान बिहानै बुढालाई के भएछ भन्ने सोची । कुनै मेसो नपाएर ऊ पनि थोरै चिन्तित बनी । 

श्रीमान् नबोली बसेको थियो । उसले आफू मात्रै एकोहोरो बोलिरहनु उचित ठानिन । अनि टेबुलमा राखेको चियातिर औँल्याउँदै भनी, ‘चिया पिउनुस् है । म किचनतिर गएँ ।’ जाँदाजाँदै उसले आफ्नो लागि ल्याएको चियाको कप पनि लिएर गई ।

उसले श्रीमती गएको हेरिरह्यो । ‘ल हेर, आज सँगै बसेर चिया पिऊँ पनि भनिन ।’ उसलाई मनमा अलि छटपटी जस्तो भयो । श्रीमतीले आफूलाई उपेक्षा गरे जस्तो लाग्यो । उसलाई चिया पनि पिउन मन लागेन । तैपनि श्रीमतीको मन राख्नकै लागि उसले आधा कप चिया पियो । आधा बाँकी राख्यो । आज उसले हरेक काम आधा मात्रै ग-याे। उसले श्रीमतीको सम्भावित प्रश्नको उत्तर पनि मनमनै सोच्न भ्यायो । सोधी भने भनुला, आज पिउन मन लागेन । त्यसैले आधा मात्रै पिएँ ।

खाना खाने बेला भएछ । श्रीमतीले खाना पस्किदिई । उसले अरू दिनभन्दा धेरै बेर लगाएर खाना खायो । खाना खाउन्जेल दुई जनाको बिचमा कुनै संवाद भएन । किचेनको धाराबाट पानीको थोपा झरेको आवाज मात्रै आइरह्यो तप्प.. तप्प.. । उसले दाल, भात, तरकारी, अचार केही पनि थपेन । श्रीमतीले पनि उसले नमागेपछि थपिदिने आवश्यकता ठानिन । अरूबेला भने श्रीमान्लाई कर गरी गरी खाना थपिदिन्थी । उसले मनमनै सोच्यो, ल हेर, आज खानेकुरा पनि थपिदिइन । 

ऊ खाना खाएर अफिस गयो । अरू दिन सधैँ हिँड्ने बेलामा ‘म गएँ है’ भनेर जान्थ्यो । आज केही नभनी हिँड्यो । ऊ भ-याङमा पुगेपछि किचेनबाट श्रीमती कराई, ‘तपाईं हिँड्नु भा’को हो ?’

उसले सुनेर पनि केही जवाफ दिएन । बरु मनमनै सोच्यो, ल हेर, म छिटो निस्कियोस् भन्ने कत्रो आतुरी त्यसलाई ।

ऊ हिँडिरहेको थियो । हिँड्दै गर्दा उसलाई बाटाका मान्छेहरू उसलाई हेरेर हाँसिरहे जस्तो लाग्यो । उससँग जम्काभेट भएका मान्छेहरू पनि उसलाई हेरेर हाँस्दै गए जस्तो लाग्यो । उसलाई लघुताभासले छोप्यो । ऊ कतिखेर अफिस पुग्यो भन्ने उसलाई हासै भएन ।

उसलाई अफिसमा पनि केही काम गर्न मन लागेन । उसको कानमा खाली बिहान श्रीमतीले बोलेको शब्द मात्रै बारम्बार गुन्जिरह्यो, ‘भरे दिन्छु... भरे दिन्छु... भरे दिन्छु ।’ उसले जति जति त्यो कुरा सम्झ्यो, त्यति त्यति उसको मनमा छटपटी बढ्यो । श्रीमतीसँग रिस उठ्यो । अनि त्यही रिसको आवेगमा मनोगत भन्यो, लाज, घिन र डर सबथोक पचाएर भरे दिन्छु भन्छे । बेसरम आइमाई । मैले भेट्टाएँ भने दुवै जनालाई टुक्राटुक्रा पार्छु... । यस्तो सोच्दै गर्दा उसको मुटुको ढुकढुकी बढ्यो र लामो लामो सास फेर्न थाल्यो । 

उसको निन्याउरो अनुहार र अनौठो गतिविधि देखेर सहकर्मीले सोध्यो, ‘आज सरलाई के भयो ? अनुहार पनि निन्याउरो छ । सन्चो भएन कि सर ?’

‘अँ, हो । मलाई पनि त्यस्तै लागिरा’छ । काम गर्न मनै छैन आज ।’ उसले सहकर्मीकै कुरामा सही थाप्यो तर उसले मनको कुरा भन्न सकेन अर्थात् भन्न चाहेन । भनिहाल्ने कुरा पनि थिएन त्यो । आफ्नै श्रीमतीका बारेमा नराम्रो कुरा कसरी भन्नु ।

उसको कुरा सुनेर सहकर्मीले भन्यो, ‘त्यसो भए हाकिमलाई भनेर घर जानुस् न त सर । सन्चो नहुँदा पनि कत्ति अफिसको काममा मरिहत्ते गर्नुहुन्छ ।’

‘त्यसै गर्नुपर्ला ।’ यसो भनेर ऊ हाकिमको कोठामा गयो । उसले सन्चो नभएकाले घर जाने अनुमति माग्यो । ऊ काममा इमानदार थियो । यो कुरा हाकिमलाई थाहा थियो । त्यसैले हाकिमले सजिलै अनुमति दियो । त्यसपछि ऊ घरतिर हिँड्यो । 

अरू दिन अफिसबाट घर फर्कंदा निकै फुर्तिलो हुन्थ्यो । छिट्टै घर पुगे जस्तो लाग्थ्यो । आज भने उसलाई आफ्नो हिँडाइ साह्रै ढिला भए जस्तो लाग्यो । उसलाई आज सकेसम्म छिटो घर पुग्न मन लाग्यो तर बाटो नै लामो भइदिए जस्तो लाग्यो उसलाई । अनि ऊ झन् छिटो छिटो हिँड्न थाल्यो । हिँड्दाहिँड्दै मनमनै सोच्यो, बाटोमा कोही नभेटियोस् । नत्र एकछिन् भए पनि समयको बर्बादी हुन्छ ।

हिँड्दाहिँड्दै ऊ मनमा यस्तो सोच्दै गयो, स्वास्नीमान्छेको चरित्र बुझ्नै नसकिने रहेछ । 

त्यसैले मनुस्मृतिमा लेखिएको होला ‘स्त्रिया चरित्रम् पुरुषष्य भाग्यम्, देवो न जानाति कुतो मनुष्यः’ अर्थात् स्त्रीको चरित्र र पुरुषको भाग्य देवताले पनि जान्दैनन् भनेर । 

आज श्रीमतीलाई रङ्गेहात समात्छु भन्ने सोच्दै ऊ छिटोछिटो हिँड्न थाल्यो । हिँडाइसँगै उसको मुटुको धड्कन पनि बढ्न थाल्यो । यस्तै बेलामा आफ्नो गन्तव्य आफैँलाई टाढा लाग्दो रहेछ । उसलाई त्यस्तै भयो । अफिसदेखि घरसम्मको गन्तव्य निकै टाढा लाग्यो उसलाई । 

ऊ घर पुग्यो । कुनै आवाज नदिई घरभित्र पस्यो । उसकी श्रीमती कोठामा लुगाहरू मिलाउँदै रहिछे ।

सधैँ अफिस छुटेपछि मात्रै घर आउने श्रीमान्लाई आज दिउँसै घर आएको देखेर श्रीमती छक्क परी । सन्चो नभएर पो आएको हो कि भन्ने सोचेर हत्तपत्त प्रेमपूर्वक श्रीमान्को निधार छाम्दै उसले भनी, ‘छिट्टै आउनुभएछ । सन्चो भएन कि कसो ?’

‘त्यस्तै भयो ।’ यति भन्दै उसले पुलुक्क श्रीमतीको मुख हे-याे। श्रीमान्को बद्लिए बद्लिए जस्तो व्यवहार देखेर श्रीमतीले पनि श्रीमान्लाई अनौठोसित हेरी र भनी, ‘आराम गर्नुस न त । म बेसारपानी लिएर आउँछु ।’

ऊ खाटमा बस्यो । खाटको तन्ना नियालेर हे-याे । तन्ना कतै खुम्चिएको थिएन । सपक्क मिलेको थियो । यताउता हे-याे । तर उसले शङ्का गरे जस्तो गतिविधिको कुनै प्रमाण देखेन अथवा भेटेन । पुरुष गन्ध छ कि भनेर सुँघेर पनि हे-याे । त्यस्तो गन्ध पनि थाहा पाएन । त्यसपछि उसलाई थोरै राहत महसुस भयो । उसलाई श्रीमतीको अनुहार नियालेर हेर्न मन लाग्यो । ऊ श्रीमतीलाई कुर्न थाल्यो ।

एकैछिनमा श्रीमती हातमा बेसारपानी लिएर आइपुगी । ‘लिनुस्, अलिकति बेसारपानी पिउनुस् । सन्चो गर्छ ।’

उसले बेसारपानी हातमा लियो र एक घुट्को पियो । बिहानैदेखि उसको मनमा एउटै कुराले गाँठो परेर उकुसमुकुस भइरहेको थियो । यही मौकामा उसले त्यो मनको गाँठो फुकाउने मनसायले भन्यो, ‘अँ साँच्चि, आज बिहानै तिमीले कसलाई भरे के दिन्छु भनेकी ?’

‘ए, दुधवालाले पैसा मागेको थियो । मैले भरे आउनु, म दिन्छु भनेकी थिएँ । अहिलेसम्म आएकै छैन ।’ श्रीमतीले ऊसँग टाँस्सिएर बस्दै भनी ।

सुनेर उसलाई मुटुमाथिको गह्रुँगो ढुङ्गा झिकिदिए जस्तै हलुका महसुस भयो । अनि उसको अनुहार उज्यालो भयो । 

उसलाई हेरेर उसकी श्रीमती मुसुक्क मुस्कुराई । मधुपर्क