• २१ पुस २०८१, आइतबार

विश्वविद्यालयभित्रका अराजनीतिक गतिविधि अन्त्य हुनुपर्छः शिक्षामन्त्री

blog

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई शुक्रबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्नुहुँदै ।

काठमाडौं, पुस १९ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विश्वविद्यालयभित्रको दलीय प्रभावलाई अन्त्य गर्न जरुरी रहेको बताउनुभएको छ ।

शुक्रबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्यविज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा छलफलमा बोल्नुहुँदै मन्त्री भट्टराईले यस्तो बताउनुभएको हो ।

उहाँले विश्वविद्यालयभित्रको दलीय प्रभाव र दबाबलाई अन्त्य गर्नेगरी विधेयक ल्याउनुपर्ने बताउनुभयो । उहाँले अब विश्वविद्यालय कस्तो हुने ? भन्ने किसिमको निर्धारण हुनेगरी विधेयक बनाउनुपर्ने जरुरी रहेको औंल्याउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘विश्वविद्यालयको ऐन किन स्वायत्त छ भन्दा उसको परिभाषालाई अरु ऐनमा पनि  धेरै कुराहरु परिभाषित गर्नसक्छौँ । यसकारण स्वायत्त मान्छौँ । अब विश्वविद्यालय कस्तो हुने ? त्यहाँ हुने जस्ता खालका गतिविधिहरु छन्, खासगरी म त्यसलाई राजनीतिक भन्दिन, अराजनीतिक गतिविधिहरु छन्, त्यो अराजनीतिक गतिविधिलाई अन्त्य गर्ने हो भने विश्वविद्यालयको स्टाटस के हो त ? कस्तो हुनुपर्छ भन्ने कुरा यो ऐनमा व्याख्या गरौँ । जुन कुरा यो ड्राफ्टमा आएको छैन । त्यसका लागि समितिलाई म अनुरोध गर्न चाहन्छु ।’’

शिक्षामन्त्री भट्टराईले विश्वविद्यालयभित्रका अराजनीतिक गतिविधिको अन्त्य गर्नुपर्ने गरी ऐन ल्याउनुपर्ने बताउनुभयो । अहिलेको ड्राफ्टमा नआएको भए पनि समितिले छलफल गरेर अघि बढाउनसक्ने उहाँको भनाइ छ ।

मन्त्री भट्टराईले विश्वविद्यालयभित्रका अराजनीतिक गतिविधिको अन्त्य गर्न जरुरी रहेको बताउनुभयो ।