काठमाडौँ, असार १४ गते। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा फर्किने घोषणा गर्नुभएको छ। उहाँले अब एमालेमै रहेर जीवनभर पार्टीको काम गर्ने अठोट गरेको घोषणा गर्नुभएको हो। शनिबार काठमाडौँमा जननेता मदनकुमार भण्डारीको ७४ औँ जन्मजयन्तीको अवसरमा आयोजित जबजका तीन दशक विषयक राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।
उहाँले सक्रिय राजनीतिमा काम गर्ने अभियानका साथ आफूले पार्टी सदस्यता नवीकरण गरेको उहाँले उल्लेख गर्नुभयो। उहाँले पार्टी सदस्यता नवीकरणसँगै एमालेको परिवारको एक सदस्यको रूपमा जोडिएको तर आफूसँग विशिष्ट आकाङ्क्षा नभएको बताउनुभएको छ।
‘‘फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा (एमाले)मै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु’’, उहाँले भन्नुभयो, ‘‘अब म नेकपा (एमाले) परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत्त्वाकाङ्क्षा छैन ।’’