तिलाचन पाण्डे
तम्घास, पुस १६ गते । गुल्मी क्षेत्र नम्बर एकका प्रतिनिधि सभा सदस्य डाक्टर चन्द्र भण्डारीले राजनीतिक दलको नेतृत्वमा इच्छा शक्ति नभएका कारण नै विकास हुन नसकेको बताउनुभएको छ । गुल्मीको कालीगण्डकी गाउँपालिका र पर्वतको बियादी गाउँपालिका जोडने पक्की पुलको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
राजनीतिक दलको नेतृत्व पाँच वर्षमा विकास गर्न नसक्ने नेताहरू नेतृत्वमा जानै नहुने उहाँको तर्क छ । नेताहरुमा इच्छा शक्ति नदेखाएका कारणनै देशमा विकास हुन नसकेको उहाँको भनाइ छ । नेतृत्वले चाहेमा देश विकास सहजै रूपमा सम्पन्न हुने बताउँदै त्यस तर्फ नेतृत्वको ध्यान जान आवश्यक रहेको उहाँको भनाइ छ । देश विकास गर्नेभन्दा पनि व्यक्ति बन्ने सोच भएका कारण नै नागरिकको इच्छा अनुसार विकास हुन नसकेको उहाँले बताउनुभयो ।
तत्कालिन तम्घास सिमलटारी प्युठान सडक आयोजना गुल्मी र एलिट कन्ट्रक्सन प्रालि काठमाडौबिच २०७३ साल भदौ ३१ गते १४ करोड ६७ लाख ७६ हजार ५०९ रुपियाँ ११ पैसामा सम्झौता भएको थियो । सम्झौता अनुसार निर्माण व्यवसायीले २०७६ साल चैत ३० गते कार्य सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने थियो ।
पछि सम्झौता भएको कार्यालय नै खारेज भएर तत्कालिन समयमा सो कार्यालयसङग सम्झौता भएका योजनाहरू हेर्ने जिम्मा मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घास गुल्मीले पाएको थियो । २०७९ सालमा उक्त पुलको सडक डिभिजन कार्यालय पाल्पामार्फत कार्यान्वय हुने गरी दायित्व हस्तान्तरण भएको हो ।
सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी दुर्गा गौतमले लामो समय पछि उक्त पुलको निर्माण कार्य सम्पन्न भएको बताउनुभयो । सार्वजनिक खरिद नियमवालीको १२ औँ संसोधन अनुसार २०८१ साल असार मसान्तसम्म काम सम्पन्न गर्नुपर्ने व्यवस्था थियो ।