सुन्दरबजार (लमजुङ), पुस १५ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना पाउने जनताको अधिकार व्यवस्थित गर्न सरकार प्रयासरत रहेको बताउनुभएको छ । सामाजिक सञ्जालको जथाभावी प्रयोगलाई नियन्त्रण गर्न सरकारले कानुन ल्याउन लागेको उहाँले जानकारी दिनुभयो ।
लमजुङको सुन्दरबजारमा तमू ल्होसारको अवसरमा आयोजना गरिएको संयुक्त ल्होसार विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले सामाजिक सञ्जालका माध्यमबाट भइरहेका अपराध नियन्त्रण गर्नु सरकारको दायित्व भएको उल्लेख गर्नुभयो । उहाँले अहिले सामाजिक सञ्जालमा जथाभावी पोष्ट गर्नेलाई नियन्त्रण गर्न, साइबर अपराधको अन्त्य गर्न बनेको ‘साइबर सेक्युरिटी ऐन’ ल्याउने तयारी रहेको बताउनुभयो ।
मन्त्री गुरुङले भन्नुभयो, “सही सूचना पाउने जनताको अधिकारलाई व्यवस्थित गर्न सरकार लागि परेको छ ।” फरक प्रसङ्गमा उहाँले सहकारीले सर्वसाधारणलाई ठग्ने गरेकाले त्यसलाई रोक्न जरुरी रहेको बताउनुभयो । देशका अधिकांश सहकारीमा एउटै व्यक्ति आजीवन अध्यक्ष रहने र रकमको हिनामिना भइरहेको अवस्थामा बढीमा दुई कार्यकालभन्दा बढी अध्यक्ष हुन नपाउनेगरी नियमन गर्न लागिएको मन्त्री गुरुङले उल्लेख गर्नुभयो ।
सहकारी कुन स्तरका हुन सोहीअनुसार स्थानीय तह वा प्रदेशमा दर्ता हुने व्यवस्था मिलाइने उहाँले बताउनुभयो । अहिले तत्काल सहकारीको गठीमा परेका जनताको रकम फिर्ता गर्न सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यायदेश संसद्बाट पास गरेर राष्ट्रपतिलाई बुझाइएको र प्रमाणिकरणसमेत भएको मन्त्री गुरुङले जानकारी दिनुभयो । सबैभन्दा पहिला सानो रकम फिर्ता गर्ने र क्रमशः अन्य रकम पनि फिर्ता गराउनेतर्फ सरकार लाग्ने उहाँको भनाइ छ ।
मन्त्री गुरुङले भन्नुभयो, “संविधानमा नेपाली भाषाका अतिरिक्त अन्य भाषा पनि सरकारी कामकाजको भाषा हुने उल्लेख छ, त्यसैले संविधानले दिएको अधिकार उपयोग गर्न आवश्यक छ ।” केही शक्ति सङ्घीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याएर पूरानै व्यवस्था ल्याउन लागिपरेको भन्दै उहाँले मूलधारका पार्टी जसले सङ्घीय गणतन्त्र प्राप्तिका लागि बलिदानीपूर्ण आन्दोलन गरेर यो व्यवस्था ल्याए तिनैलाई यो व्यवस्थाको माया र रक्षा गर्ने दायित्व भएको बताउनुभयो ।
पालिकाभित्रका विभिन्न तमू समाजको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा विभिन्न स्थानबाट सांस्कृतिका झाँकीसहित बजार परिक्रमा गरी कार्यक्रम गरिएको थियो । कार्यक्रममा गुरुङको मौलिक संस्कृति सोरठी, घाटु, कृष्ण चरित्र, कौरा, ठाडोभाकालगायतका नृत्य प्रस्तुत गरिएको सुन्दरबजार तमु समाजका अध्यक्ष मीनबहादुर गुरुङले जानकारी दिनुभयो । रासस