दमास्कस, पुस १५ गते । सिरियाका नयाँ नेता अहमद अल-शराले सोमबार युक्रेनका विदेशमन्त्रीसँग भेटवार्ता गरेको सरकारी समाचार संस्था सानाले जनाएको छ । रुसको सहयोगी राष्ट्रपति बसर अल असदलाई सत्ताच्युत गरेको केही हप्तापछि भेटवार्ता भएको हो ।
सन् २०१५ मा सिरियाको गृहयुद्धको लहरलाई दबाउन सहयोग पुर्याउनका लागि मस्को असदको प्रमुख समर्थकमध्ये एक थियो । सन् २०२२ मा युक्रेनमाथि आक्रमण सुरु गरेको रुसका लागि असदको पतनलाई ठुलो झट्काका रूपमा हेरिएको छ ।
सानाले सिरियाली अधिकारीलाई उदृत गर्दै भनेको छ, “सिरियाको नयाँ प्रशासनका नेता अहमद अल-शराले विदेशमन्त्री एन्ड्री सिबिगा नेतृत्वको युक्रेनी प्रतिनिधिमण्डलसँग भेटवार्ता गरेका छन् ।”युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबार आफ्नो देशले ५०० टन गहुँको पीठोसहित पहिलो खेप सिरियामा पठाएको बताउनुभएको छ । युद्धको बावजुद युक्रेन विश्वको शीर्ष गहुँ उत्पादकमध्ये एक हो । रासस/एएफपी