गोरखापत्र अनलाइन
काठमाडौं, पुस १३ गते । बाल कलाकार सम्राट दाहालको एकल अभिनयमा नयाँ गीत अस्तिभन्दा हिजोको भिडियो सार्वजनिक भएको छ । गीतको भिडियोलाई सम्राट क्रिएसनको युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।
सम्राटले यो गीतमा आफुजस्तै किशोरहरुको भावना समेटिएकाले यसमा आफुले अभिनय गरेको बताउनुभयो । उमेरले १४ वर्ष पुगेका सम्राटको यो १४ औं भिडियो हो । सम्राटले पाँच वर्षको उमेरबाटै अभिनय यात्रा सुरु गर्नुभएको थियो । राष्ट्रिय भावको भिडियोमा पहिलो पटक अभिनय गरेको उहाँको भनाइ छ ।
यो गीतमा नेपाल आइडल सिजन ५ का विजेता करण परियारको स्वर रहेको छ । गीतमा संगीतकार दीपक शर्माले संगीत सृजना गर्नुभएको छ । गीतको शब्द सान्दर्भिक छ । गीतमा गायक करणले न्याय गर्नुभएको छ । गीतमा सम्राट न्यौपानेको संगीत संयोजन रहेको छ ।
किशोर मनोविज्ञापनमा आधारित भएर तयार गरिएको यो गीतलाई निर्देशक सुमन दाहालले लेख्नुभएको हो । भिडियोमा निर्देशन पनि सुमनकै रहेको छ । गीतकार सुमनका अनुसार बालबाट किशोरावस्थामा प्रवेश गरेका किशोरहरुको मनोविज्ञानमा यो गीत केन्द्रित रहेको छ ।
उहाँका अनुसार यो गीतको भिडियोको सबै छायांकन अमेरिकाको केन्टकी राज्यका विभिन्न रमणीय स्थानमा गरिएको छ । गीतको मर्मअनुसार भिडियोलाई विभिन्न समयमा छायांकन गरिएको छ । सम्राटको यो भिडियोले अहिले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।