निशा राई
धरान, पुस १३ गते । पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानमा डेल्टाद्वारा आयोजना हुने छैटौँ संस्करण डेल्टा ५.० महोत्सव हुने भएको छ । उक्त महोत्सव आगामी माघ १८ गतेदेखि २० गतेसम्महुने पत्रकार सम्मेलनमा आयोजकले जनाएको छ ।
यो कार्यक्रम इन्जिनियरिङ सङ्कायका विद्यार्थीहरूका लागि सबैभन्दा ठूलो तथा प्रतिष्ठित कार्यक्रम रहेकोले 'कृषि, प्रविधि र नवप्रवर्तन'लाई मुख्य विषय बनाइएको आयोजकले जनाएको छ ।
यस महोत्सवले विद्यार्थीहरूलाई प्रविधि र नवप्रवर्तनमा संलग्न गराएर बौद्धिक विकासमा सहयोग पुर्याउने डेल्टाका संयोजक विवेक न्यौपानेले बताउनुभयो । कृत्रिम बुद्धिमत्ता र स्वचालन, डिजिटल अर्थतन्त्र, स्मार्ट सिटीका लागि इन्जिनियरिङ र विश्वव्यापी समाधानका लागि इन्जिनियरिङ जस्ता उपविषयहरू समावेश गरिएको उहाँले बताउनुभयो ।
यसबाट विश्वविद्यालय र विद्यार्थीहरूलाई प्रविधिमा अगाडि बढ्न प्रेरित गर्ने स्ववियु सभापति नविन श्रेष्ठले बताउनुभयो । यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पनि क्याम्पसको पहिचान बढाउने उहाँले बताउनुुभयो । विद्यार्थीहरूका लागि नवप्रवर्तन र प्रविधिमा योगदान गर्न प्रोत्साहन गर्ने लक्ष्यका साथ आयोजना गरिएको श्रेष्ठले बताउनुभयो ।
क्याम्पसको ७ फ्याकल्टीका विद्यार्थीको संस्था डेल्टा ५.० ले टेक्नोलोजी फर एग्रीकल्चर एण्ड इनोभेसन थिम कृषिमा प्रविधिको नवीनताको प्रयोग सम्बन्धी अवधारणा सार्वजनिक गरेको छ । महोत्सवमा सोही अवधारणामा आधारित प्रविधिलाई मुख्य विषयवस्तुको रूपमा प्रस्तुत गरिने संयोजक न्यौपानेले बताउनुभयो ।
मुख्य विषयवस्तु कृषिमा प्रविधिको नवीनतम प्रयोगका ५ वटा विषयवस्तुमा आधारित प्रविधिहरू एआई र स्वचालन, प्रविधिमा नवीनता, डिजिटल अर्थव्यवस्था, स्मार्ट शहरको परिकल्पना, ग्लोबल समस्या समाधानमा ईन्जिनीयरिङ रहने उहाँले बताउनुभयो ।
आयोजनामा डेल्टा र क्याम्पस व्यवस्थापन तयारीमा लागेको सहायक क्याम्पस प्रमुख अनु श्रेष्ठले बताउनुभयो । डेल्टा ५.० को थिम रिलिज गर्दै क्याम्पसका विद्यार्थीहरू मेहनती र ऊर्जावान् रहेको उनीहरूले टेक्नोलोजीका प्रविधिहरू उत्पादन गरेको उहाँले बताउनुभयो ।
नेपाल सरकारको स्पष्ट कार्यविधि, नीति नभएका कारण विद्यार्थीहरूको प्रतिभा, क्षमताको सदुपयोग हुन सकेको छैन तथापी राज्यले बिद्यार्थीहरुलाई कार्यविधि बनाएर प्रविधि निर्माणमा लगानी गर्न सके विद्यार्थीहरूले बजारमा नयाँ आयाम ल्याउने सहायक क्याम्पस प्रमुख श्रेष्ठले बताउनुभयो ।
हाल पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरूले अलैँचीको पुच्छर टिप्ने मेसिन र टमाटर ग्रेडिङ गर्ने मेसिन बनाएर बजारमा ल्याएको छ यस उत्पादित प्रविधिलाई बजारीकरण गर्न र फिनिसिङ गर्न कामाख्य एग्रोले सहयोग पुर्याईरहेको सभापति श्रेष्ठले बताउनुभयो । इन्जिनियरिङका विद्यार्थीहरूलाई प्रयोगमा नल्याउनु सरकारको नीति विहीनताको उदाहरण भएको र राज्यले इन्जिनियरिङ अध्ययन गरेका विद्यार्थीहरूलाई स्पष्ट नीति, कार्यविधि बनाएर प्रविधिको क्षेत्रमा उपयोग गर्न जरुरी रहको उहाँले बताउनुभयो।
यो कार्यक्रमले विद्यार्थीहरूलाई ज्ञान र सिपमा समृद्ध बनाउँदै, भविष्यका लागि तयार गर्नेछ । यसले विद्यार्थीहरूलाई मात्र नभई, सम्पूर्ण समाजलाई प्रविधि र नवप्रवर्तनतर्फ उन्मुख गराउने विश्वास गरिएको छ । यो उत्सवले भविष्यमा पनि निरन्तरता पाइरहने अपेक्षा गरिएको आयोजकले जनाएको छ । स्वतन्त्र विद्यार्थी युनियनको सहकार्यमा सात ओटा विद्यार्थी समाज, रोबोटिक्स् क्लवको संयुक्त आयोजना हुने यो कार्यक्रम गैर–राजनीतिक र शैक्षिक उन्नतिका लागि स्थापना भएको संस्था हो ।