काठमाडौं, पुस १५ गते । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियताको विषयलाई लिएर अहिले नेपाली राजनीति तरङ्गित भइरहेको छ । पुस पहिलो साता पोखरा र स्याङ्जाको भ्रमणमा उहाँ निस्कनु हुँदा राजनीतिक बृत्तमा अनेकथरी अडकल काटिएको सुनियो ।
नेकपा (एमाले) का पोलिट्ब्युरो सदस्य कृष्णबहादुर राईका अनुसार वातावरण मिल्यो र पार्टी पङ्तिले ईच्छा जाहेर गर्यो भने पूर्व राष्ट्रपति भण्डारी नेतृत्वमा आउन सक्नु हुने विषय यथावत छ । राईले भन्नुभयो, “उहाँ त्यो ठाउँमा पुग्न सकिन्छ कि सकिँदैन भनेर दुई, तीन कुराबाट बुझ्नुपर्छ । जस्तो, केही समय अगाडि पार्टी सदस्यता नवीकरण गर्नुभयो भन्ने कुरा बाहिर आयो । उहाँ एमालेको तर्फबाट कही पनि राज्यको सेवा, सुविधा आदि प्राप्त गर्ने ठाउँहरूमा जानुहुँदैन भन्ने हो भने उहाँको पार्टी सदस्यता किन नवीकरण गरिदिने ?”
वातावरण मिल्यो र पार्टी पङ्तिले ईच्छा जाहेर गर्यो भने पूर्व राष्ट्रपति भण्डारी नेतृत्वमा आउन सक्नु हुने विषय यथावत छ ।
पूर्व प्रतिनिधिसभा सदस्य समेत रहनुभएका राई पूर्व राष्ट्रपति भण्डारी त्यसअघि पटक–पटक सांसद एवम् मन्त्री हुनुहुँदा लामो समय स्वकीय सचिवको जिम्मेवारीमा रहेर कार्य गर्नुभएको छ । पूर्व राष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्कने विषय शोभनीय हो या होइन भन्नेबारे विभिन्न कोणबाट बहस हुने गरेको छ । यद्यपि, यो सम्भावना आधा-आधा रहेको राई बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, “संवैधानिक व्यवस्थालाई मध्यनजर गर्ने हो भने हुन्छ या हुँदैन भन्दा हुनुहुँदैन भन्ने बाटो छेकिएको ठाउँ छैन । अर्को, सही व्यक्ति जो कर्ता हुन्छ, उहाँले यो काम म गर्छु या गर्दिनँ भन्ने उहाँको आफ्नो ईच्छाशक्तिबाट सुरु हुन्छ ।”
यस्तै, एमाले केन्द्रीय सदस्य सरिता न्यौपानेले पनि उहाँको पार्टी सदस्यता नवीकरण भएको कुरा बाहिर आइसकेको भन्नुहुँदै समकालीन एवम् मन मिल्ने नेताहरूसँगको परामर्शमा नै यो भएको हुनसक्ने बताउनुभयो । न्यौपाने भन्नुहुन्छ, “उहाँ सक्रिय हुनुपर्छ भन्ने उहाँको इच्छाभन्दा पनि हाम्रो चाहिँ आवश्यकता भन्छु म । उहाँ भर्खर ६२-६३ वर्ष त हुनुभयो नि । उहाँहरूभन्दा धेरै अगाडिको पुस्ता राजनीतिमा अझै युवा हुँ भनेर काम गरिरहनुभएको छ । अनि त्यतिकै उहाँलाई किन सामाजिक गतिविधिमा मात्र सीमित हुन दिने ?”
पूर्व राष्ट्रपति भण्डारीनिकटका नेताहरूले भण्डारीको पार्टी सदस्यता नवीकरण भएको बताउनु भए पनि एमाले सङ्गठन विभागका प्रमुख काशीनाथ अधिकारी भने सबै विवरण विभागमा नआइसकेकोले यसबारे जानकारी नभएको बताउनुहुन्छ । अधिकारीले भन्नुभयो, “सबै विवरणहरू सङ्गठन विभागमा आइसकेको छैन । प्रदेश कमिटीहरूले विभागमा फरवार्ड गर्ने काम गर्दैछ । सबै रिपोर्ट नआइकन कसको नवीकरण भयो, भएन त्यो विस्तृतमा भन्न सक्ने अवस्था भइसकेको छैन ।”
अधिकारीले पूर्व राष्ट्रपति भण्डारी राष्ट्रको सर्वोच्च व्यक्तित्व हुनुभएकोले सक्रिय राजनीतिक जीवनमा फर्कने या नफर्कने भन्ने विषय उहाँकै निर्णयमा भर पर्ने भनाइ राख्नुभयो ।
यता, एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले पूर्व राष्ट्रपति पनि राजनीतिक प्राणी भएकाले मठ, मन्दिरको भ्रमण तथा नागरिकसँग भेटघाट गर्नु स्वभाविक रहेको बताउनुभयो । गौतमले भन्नुभयो, “पूर्व राष्ट्रपतिज्यू विभिन्न मठ, मन्दिरहरूको भ्रमण गर्दै नागरिकसँग भेटघाट गरेर पोखरामा केही दिन बस्नुभयो । राष्ट्रपति भनेको पनि राजनीतिक प्राणी हो । त्यसो भएको हुनाले मठमन्दिर जानु, भेटघाट गर्नु यसलाई स्वभाविक रूपमा लिनुपर्छ ।” उहाँले पूर्व राष्ट्रपति भण्डारी स्वयम् नेतृत्वमा आउने कुरा नभनेको उल्लेख गर्नुभयो ।
हिजो पार्टीले आवश्यकता महसुस गरेर राष्ट्रपतिमा पठायो । आज पार्टीले नै महसुस गर्यो भने उपाध्यक्ष भइसकेको मान्छे अध्यक्ष पनि बन्न सक्नुहुन्छ ।
उहाँले भन्नुभयो, “नेतृत्वमा आउनुपर्छ भनेर कार्यकर्ताले भन्न सक्छन् । उहाँले भन्नुभएको छैन । राष्ट्रपति भनेको नेपालको गणतन्त्रको सिम्बोल हो । विविध सांस्कृतिक, मूल्य र मान्यता भएको देश भएको हुनाले सांस्कृतिक पनि सिम्बोल हो ।”
सचिवालय के भन्छ
पूर्व राष्ट्रपति भण्डारीको सचिवालयले विभिन्न सङ्घ, संस्थाहरूले कार्यक्रममा बोलाएका कारण प्रकृति हेरेर भण्डारी सहभागी भइरहनुभएको बताएको छ । भण्डारीको सक्रियता सम्बन्धमा सचिवालयले भन्यो, “कार्यकर्ताहरूले चाहेको कुरालाई अब हामीले होइन भन्न त सकिएन । हामीले पनि मिडियामार्फत आइरहेको कुरा सुनिराखेका छौं ।”
कार्यशालामा प्रसङ्ग उठेपछि
एमाले केन्द्रीय कार्यालयमा मङ्सिर २९ र ३० गते सम्पन्न राष्ट्रिय कार्यशालामा नेतृत्व पङ्तिबाट यस विषयमा प्रसङ्ग उठेको नेताहरू बताउनुहुन्छ ।एमाले केन्द्रीय सदस्य सरिता न्यौपानेका अनुसार कुनै दुविधामा रहेरभन्दा पनि सहज वातावरण निर्माण गरेरै भण्डारीलाई नेतृत्वमा ल्याउन खोजिएको बुझिएको छ ।
“राष्ट्रिय कार्यशालामा पार्टी अध्यक्षले बोल्नुभएको विषयलाई लिएर होला । मैले त्यसलाई सकारात्मक रूपमा लिएको छु । मैले अहिलेसम्म पाएको जानकारी र अनुभवले, लामो समय भयो नि अहिलेको प्रधानमन्त्रीसँग पनि पार्टी केन्द्रीय समितिमा हामी सँगै छौं । पार्टीभित्र त्यस्तो द्वन्द्व भएर होइन, एकदम सहज वातावरण नै बनाएर ल्याउन खोजेको होकी भन्ने बुझेको छु मैले चाहिँ ” न्यौपानेले भन्नुभयो ।
एमालेको नयाँ नेतृत्व चयन ११ औं महाधिवेशनबाट हुनेछ । पोलिट्ब्युरो सदस्य कृष्णबहादुर राईले अध्यक्ष ओलीको विकल्पमा जान हुँदैन भन्ने ठुलो पङ्ति उभियो भने एउटा परिस्थिति बन्ला, नभए नयाँ पुस्ताबाट भण्डारी उपस्थित हुन सक्ने सम्भावना रहेको बताउनुभयो ।
राईले भन्नुभयो, “हिजो पार्टीले आवश्यकता महसुस गरेर राष्ट्रपतिमा पठायो । आज पार्टीले नै महसुस गर्यो भने उपाध्यक्ष भइसकेको मान्छे अध्यक्ष पनि बन्न सक्नुहुन्छ । अथवा, पार्टीको अभिभावकत्व ग्रहण गर्ने पोजिसनमा पार्टीले लान पनि सक्छ । भोलि पार्टीलाई एकीकृत गर्न, अझ म के भन्छु भने नेपालको जनमत हेर्ने हो भने वामपक्षका सन्दर्भमा मत हाल्ने जनताको सङ्ख्या बेसी देखिन्छ । त्यो हिसाबमा कम्युनिष्ट आन्दोलनलाई फेरि एकीकृत गरेर लाने सन्दर्भमा उहाँले म योगदान गर्छु भन्न पाउनुहुन्न र ?”
राजनीति गर्नुहुँदैन भन्नुको तात्पर्य राष्ट्रिय विषयवस्तुमा योगदान गर्नु हुँदैन भनेको चाहिँ होइन ।
वाम शक्तिहरूको नेतृत्वको सम्बन्धमा पूर्व राष्ट्रपति भण्डारीको सचिवालयले वाम पार्टीका नेताहरूको बुझाइमा भर पर्ने प्रतिक्रिया दिएको छ । यस विषयमा सचिवालयले भन्यो, “मूल कुरा त, विभिन्न वाम शक्तिहरूले कसरी बुझेका छन्, कसरी लिन्छन भन्नेकुरा नै हो ।”
के छ कानुनी व्यवस्था
संविधानविद् डा. विपिन अधिकारीले राष्ट्रअध्यक्ष भइसकेको मान्छे जीत–हारको राजनीतिमा आउने प्रचलन नरहेको बताउनुभयो । डा. अधिकारीले भन्नुभयो, “हाम्रो जुन पद्दति छ, त्यस्तो प्रचलन छैन । त्यो पद्दतिमा राष्ट्रअध्यक्ष भइसकेको मान्छे जीत–हारको राजनीतिमा आउँदैन । हामीले हेर्ने भनेको संसदीय पद्दति भएको मुलुकहरूलाई हो, त्यस्तो प्रचलन छैन ।”
उहाँले संवैधानिक सर्वोच्चतामा पुगिसकेको व्यक्तिले राष्ट्रिय दृष्टिकोण कायम गर्नका लागि भूमिका खेल्न सक्ने भनाइ राख्नुभयो । “या त राजनीति गर्ने मान्छे राष्ट्रपति हुँदैनन् । यदि राष्ट्रपति हुन्छ भने उसले सम्मानको जिन्दगी ठान्दछ र राष्ट्रिय विषयवस्तुमा राष्ट्रिय दृष्टिकोण कायम गर्नका लागि उसले बोल्न सक्छ” उहाँले भन्नुभयो, “संविधानमा केही लेखेको छैन । बेलायतमा, अन्य मुलुकहरूमा पनि छैन । मलाई लाग्छ, राजनीति गर्नुहुँदैन भन्नुको तात्पर्य राष्ट्रिय विषयवस्तुमा योगदान गर्नु हुँदैन भनेको चाहिँ होइन ।”