• १२ कात्तिक २०८२, बुधबार

जेन्जी आन्दोलनमा ट्राफिक बत्तीमा क्षति

blog

बाँकेको धम्बोझीमा आंशिक सञ्चालनमा आएको ट्राफिक बत्ती । तस्बिरः गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, कात्तिक १२ गते । गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनको क्रममा नेपालगन्जमा जडान गरिएका ट्राफिक बत्तीमा क्षति गरिएपछि यहाँको ट्राफिक व्यवस्थापनमा समस्या उत्पन्न भएको छ । 

सडक डिभिजन कार्यालयले नगरका पुष्पलालचोक, धम्बोझी, बिपीचोक र गणेशमान चोकमा ट्राफिक बत्ती जडान गरेको थियो । त्यसमध्ये बिपी चोक र गणेशमान चोकमा आंशिक सञ्चालन भए पनि पुष्पलालचोक र धम्बोझी चोकमा भने नियमित ट्राफिक बत्ती सञ्चालन भएकोमा भदौं २४ पछि लामो समय ट्राफिक बत्ती बन्द भयो । 

आनदोलनको दोस्रो दिन भदौ २४ गते ट्राफिक बत्तीमा तोडफोड र ढुङ्गामुढा गरी क्षतिग्रस्त बनाइएको हो । आन्दोलनको केही समयपछि धम्बोझी चोकमा आंशिक बत्ती सञ्चालन भए पनि समय नदेखाउने समस्याका कारण नियमित सञ्चालनमा आउन सकेको छैन । जसका कारण नेपालगन्जमा ट्राफिक व्यवस्थापनमा समस्या देखिएको छ । 

ट्राफिक प्रहरीपोस्ट नेपालगन्जका इन्चार्ज नन्द पोखरेलले ट्राफिक बत्तीमा क्षति पुगेपछि धम्बोझीको मात्र आंशिक सञ्चालनमा रहेको जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अङ्गुर जिसीले आफू जेन्जी आन्दोलनपछि बाँकेको प्रहरी प्रमुखको रूपमा सरुवा भइआएको बताउँदै ट्राफिक बत्ती र सिसिटिभिमा क्षति पुगेको बताउनुभयो । 

जिल्ला प्रहरी प्रमुख जिसीले भन्नुभयो, “मुख्य सडकमा सिसिटिभी जडानका लागि नेपालगन्ज उपमहानगरपालिकासँग समन्वय भइरहेको छ ।”