• १३ साउन २०८१, आइतबार

पर्यटनमा बढ्दै छ उत्साह

blog

काठमाडौँ, जेठ ८ गते । पछिल्लो समय नेपाल आउने भारतीय पर्यटकको सङ्ख्या बढ्दै गएको छ । कोराना महामारीको असर कम भएर निर्धक्क भएर घुम्ने वातावरण बनेसँगै भारतीय पर्यटकको आगमन बढ्दै गएको हो । 

भारतमा गर्मी बढेसँगै गर्मी छल्न र स्कुल कलेजमा जारी बिदा मनाउन नेपाल आउने भारतीय पर्यटकको सङ्ख्याले नेपाली पर्यटन बजारमा उत्साह बढाउँदै गएको छ ।पछिल्लो समय हवाई मार्ग र स्थल मार्ग भएर नेपाल भित्रिने पर्यटकको सङ्ख्या बढ्दै गएपछि पर्यटन व्यवसायीसमेत हौसिएका छन् । 

भारतीय पर्यटकले नेपालको पर्यटन क्षेत्रमा उल्लेख्य हिस्सा ओगट्दै आएका छन् । नेपाल घुम्न आउने विदेशी पर्यटकमध्ये भारतीय पर्यटकको सङ्ख्या एक चौथाइ छ । नेपाल पर्यटन बोर्डका अनुसार सेप्टेम्बरदेखि नोभेम्बर मध्यसम्मको समयलाई विदेशी पर्यटक आउने सिजन मानिन्छ । त्यसबाहेक अर्काे सिजन फेब्रुअरीदेखि अप्रिलसम्म मानिन्छ । 

बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीका अनुसार भारतीय पर्यटक बढाउन भारतीय बजारमा प्रवद्र्धनका काम सुरु भएका छन् । अन्तर्राष्ट्रिय पर्यटन मेलामा सहभागिता जनाउनु पर्यटन प्रवद्र्धनको एउटा पाटो भए पनि त्यसबाहेक अन्य विभिन्न माध्यमबाट पनि पर्यटन प्रवद्र्धनका काम भइरहेको 

उहाँले बताउनुभयो । हाल उपत्यकाका छेउछाउ र बाहिरका पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकसँगै भारतीय पर्यटकको चहलपहल निकै बढ्दै गएको समेत उहाँको भनाइ छ ।भारतपछि नेपालमा धेरै पर्यटक आउने अर्काे छिमेकी मुलुक चीनसँग नेपालबाट सिधा उडान हुन नसक्दा पर्यटकको सङ्ख्या बढ्न सकेको छैन । 

उहाँले भन्नुभयो, “महामारीको समयमा भारतसँग ‘एयर बबल’अन्तर्गत उडान जारी रहे पनि चीनसँग उक्त सम्बन्ध कायम रहन सकेन । बर्सेनि तीन लाख चिनियाँ पर्यटक आइरहेको अवस्थामा सिधा उडान नभएकै कारण चीनबाट अपेक्षा गरिएअनुसार पर्यटक आउन सकेका छैनन् ।”

पर्यटन व्यवसायीका अनुसार पछिल्लो समय पर्यटनमा केही सुधारको सङ्केत देखिएकाले भारत र चीनलगायत अन्य स्रोत राष्ट्रमा पनि पर्यटन प्रवद्र्वनका कार्यक्रम अगाडि बढाउनमा ढिलो गर्न नहुने बताउँछन् ।होटल एसोसियसन अफ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाहले होटल क्षेत्रमा विदेशी पाहुनाको बुकिङ बढ्न थालेको र सोधपुछ पनि हुन थालेको जानकारी दिनुभयो ।

विश्व पर्यटन बजार पूर्ण रूपमा पुरानै लयमा फर्किन अझै केही वर्ष लाग्ने प्रक्षेपण गरे पनि नेपालले पर्यटक आगमन खुला गरेर विश्व पर्यटन बजारमा सकारात्मक सन्देश दिन खोज्नुलाई हौसलाका रूपमा लिनु आवश्यक रहेको पर्यटन व्यवसायी बताउँछन् ।

Author

मीनराज भण्डारी