काठमाडौँ, पुस १० गते । यस वर्ष अन्तर्राष्ट्रिय बजारमा अलैँचीको मूल्य उच्च भए पनि निर्यात भने बढ्न सकेको छैन । विगतका वर्षमा प्रतिमन (४० केजी) अलैँचीको मूल्य ३० देखि ४० हजार रुपियाँ रहेकोमा बढेर प्रतिमन एक लाख सात हजार रुपियाँसम्म पुगेको व्यवसायीको भनाइ छ । चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा साढे तीन अर्ब रुपियाँ बराबरको अलैँची निर्यात भएको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि मङ्सिरसम्म तीन अर्ब ४५ करोड ७२ लाख ८४ हजार रुपियाँ बराबरको २० लाख ७४ हजार ८६५ किलो अलैँची निर्यात भएको छ । गत वर्ष सो अवधिमा तीन अर्ब नौ करोड ८६ लाख १५ हजार रुपियाँ बराबरको २३ लाख ७३ हजार ११० किलो अलैँची निर्यात भएको थियो ।
विभागको तथ्याङ्क अनुसार आव २०८०/८१ मा सात अर्ब ९४ करोड ९६ लाख रुपियाँ बराबरको आठ लाख ३६ हजार ३८९ केजी, आव २०७९/८० मा आठ अर्ब २५ करोड ५९ लाख ९२ हजार रुपियाँ बराबरको ९९ लाख ४६ हजार २६२ केजी र आव २०७८/७९ मा चार अर्ब ७७ करोड ८९ लाख ८९ हजार रुपियाँ बराबरको ५२ लाख ९७ हजार ४४३ किलो अलैँची निर्यात भएको थियो । अलैँची उत्पादक सङ्घका अनुसार उत्पादन कम हुँदा निर्यातमा कमी आएको हो । सङ्घका अध्यक्ष निर्मल भट्टराईले अलैँचीको उत्पादन घट्दा माग अनुसार निर्यात गर्न नसकिएको बताउनुभयो । जलवायु परिवर्तन, रोग, सिँचाइको कमी, दक्ष प्रविधिको कमीलगायतका अन्य कारणले अलैँचीको उत्पादनमा कमी आएको
उहाँले बताउनुभयो । यस वर्ष अलैँचीको उत्पादन २५ प्रतिशतले कमी आएको उहाँको भनाइ छ । गत वर्ष समयमा पानी नपरेकाले पर्याप्त सिँचाइ नहुँदा र फुल्ने समयमा पर्याप्त पानी नहुँदा धेरै बोट सुकेकाले उत्पादनमा कमी आएको उहाँको भनाइ छ ।
विगतका वर्षमा अलैँचीको मूल्य घटेकाले किसानले कम मेहनत गर्दा उत्पादनमा कमी देखिँदा त्यसको असर निर्यातमा परेको उहाँको भनाइ छ ।
सङ्घका अनुसार १८ हजार हेक्टरमा खेतीमा उत्पादन भइरहेकामा वार्षिक पाँच हजार मेट्रिक टनदेखि आठ हजार मेट्रिक टन उत्पादन हुने गरेको छ । व्यावसायिक ४३ जिल्लामा र खेती विस्तार ५३ जिल्लामा भएको छ । एक लाख २५ हजार परिवार अलैँची खेतीमा आश्रित रहेका छन् ।
नेपालको पूर्वी जिल्लामा उत्पादन हुने अलैँची जर्मनी, भारत, इटाली, पाकिस्तान, अमेरिकालगायतका देशमा निर्यात हुने गर्छ । नेपाली अलैँची निकासी हुने ठुलो बजार भनेको भारत नै हो । अलैँची औषधी र मसलाका रूपमा प्रयोग गर्ने गरिन्छ ।
अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढ्दै गए पनि खेती गर्ने क्षेत्रफल भने घट्दै गएको छ ।