• १० पुस २०८१, बुधबार

ढल्केबरमा विषादी अवशेष प्रयोगशाला सञ्चालनमा

blog

प्रयोगशाला उद्घाटन कार्यक्रममा उपस्थित अतिथि। तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, पुस ९ गते । धनुषाको ढल्केबरस्थित कृषि उपज बजारमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ सञ्चालनमा ल्याएको छ । बजारमा बिक्रीका लागि ल्याइएका हरियो तरकारी तथा फलफूलमा विषादीको मात्रा जाँच गर्न प्रयोगशाला एकाइ सञ्चालनमा ल्याइएको हो । 

नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय कृषि विभागअन्तर्गत केन्द्रीय कृषि प्रयोगशालाले एकाइको स्थापना गरेको कृषि उपज बजार व्यवस्थापन समितिका अध्यक्ष बुधेश्वर महतोले बताउनुभयो । उहाँले मङ्गलबार एक कार्यक्रमकाबिच जिल्ला समन्वय समिति धनुषाका सभापति राजनन्दन ठाकुर र केन्द्रीय कृषि प्रयोगशाला प्रमुख शान्ता कार्कीले उद्घाटन गरेपछि प्रयोगशाला विधिवत रूपमा सञ्चालनमा आएको जानकारी दिनुभयो । 

कार्यक्रममा केन्द्रीय कृषि प्रयोगशाला प्रमुख शान्ता कार्कीले खेतबारीमा कति मात्रामा विषादी छर्कने र विषादी छर्केको कति दिनपछि तरकारी तथा फलफूल टिप्न मिल्छ भन्नेबार जानकारी दिनुभयो । उहाँका अनुसार परीक्षण विधिलाई ‘आरबीपीआर’ (विषादी अवशेष द्रुत विश्लेषण) भनिन्छ । यसमा ३५ प्रतिशतभन्दा कम देखिएमा खानयोग्य हुन्छ भने ३५ देखि ४५ प्रतिशत भएमा केही समय राखेर मात्र प्रयोग गर्नुपर्ने हुन्छ र ४५ प्रतिशतभन्दा बढी भएमा अखाद्य मानिन्छ ।  

उहाँले प्रयोगशालाले बजारमा आएका तरकारी तथा फलफूल दैनिक आठ-नौवटा फरक–फरक ठाउँबाट नमूना लिएर परीक्षण गर्न सकिने बताउनुभयो । सभापति ठाकुरले मापदण्डभन्दा बढी विषादी प्रयोग गरिएको पाइएमा तरकारी तथा फलफूल नियन्त्रणमा लिएर नस्ट गर्नुपर्ने बताउनुभयो । तरकारी र फलफूलमा प्रयोग गरिएको विषादीबाट नकारात्मक असर देखिएको बताउँदै उहाँले कृषक आफै पनि प्रभावित भएर क्यान्सर, मृगौला रोग, छालाको रोगलगायत विभिन्न समस्या देखिएको जानकारी दिनुभयो । 

ढल्केबरस्थित कृषि उपज बजार सस्तो मुल्यमा हरियो तरकारी तथा फलफूल पाइने बजारका रूपमा प्रसिद्ध छ । आइतबार, बुधबार र शुक्रबार गरी हप्ताको तीन दिन लाग्ने यस बजारमा काठमाडौँ, पोखरा, सिन्धुली, जनकपुरलगायत ठूल्ठूला सहरका व्यापारी यहाँ तरकारी तथा फलफूल खरिद गर्न आउने गरेका छन् भने मिथिला, छिरेश्वरनाथ, धनुषाधाम नगरपालिकार र बटेश्वर गाउँपालिकाका किसानले उत्पादन गरेको तरकारी तथा फलफूल बिक्रीका लागि ल्याउने गरेका छन् ।