घोराही, पुस ९ गते । दाङमा व्यावसायिक सुन्तला खेती गरेर किसानले आम्दानी लिन थालेका छन् । ६ वर्षअघि सुन्तलाका बिरुवा रोपेर व्यावसायिक उत्पादनमा जोडिएका बङ्गलाचुली गाउँपालिका–५ साकिनेका स्थानीयले पछिल्लो समय सुन्तला बिक्री गरेर राम्रो आम्दानी लिन थालेका छन् ।
सात सय बिरुवा रोप्नुभएका बङ्गलाचुली गाउँपालिका–५ साकिने निवासी लीलाबहादुर घर्तीले यो वर्ष दुई लाख बढीको सुन्तला बिक्री गरेको बताउनुभयो । सुन्तलाको उत्पादनमा वृद्धि भएसँगै आम्दानी बढ्दै गएको भन्दै उहाँले गतवर्ष १५ क्विन्टल सुन्तला बिक्री गरेकोमा यो वर्ष अहिलेसम्म ३०÷३५ क्विन्टल सुन्तला बिक्री गरिसकेको बताउनुभयो । बोटमा राम्रो फल लागेको र पाक्ने क्रम जारी रहेकाले अझै बिक्री हुने बताउनुभयो ।
घरबाटै घर्तीले सात हजार रुपियाँ प्रति क्विन्टलका दरले सुन्तला बिक्री भइरहेको भन्दै घर्तीले भन्नुभयोे, "सुन्तला बिक्रीमा समस्या भएको छैन । अहिले घरबाटै उत्पादन भएको सुन्तला बिक्री भइरहेको छ ।"
पाखोबारीमा अन्नबाली राम्रो उत्पादन नहुने र भएको पनि जङ्गली जनावरले खाने भएपछि अन्य वाली छोडेर सुन्तला खेती गर्न थालेको भन्दै उहाँले भन्नुभयो, "पाखोबारी भएको र सिँचाइको पनि सुविधा नहुँदा अन्नवाली खासै राम्रो हुँदैनथ्यो तर सुन्तला रोपेको राम्रो फलिरहेको छ ।"
सुन्तला उत्पादनका लागि नयाँ ठाउँ भए पनि बिक्रीमा समस्या नभएको बताउनुभयो । उहाँका अनुसार उत्पादन भएका सुन्तला प्युठान, घोराहीलगायत बुटवलसम्म जाने गरेका छन् । उत्पादन कम भइरहेकाले माग अनुसार पुर्याउन समस्या भइरहेको भन्दै उहाँले भन्नुभयोे, ‘सुन्तलाको टेस्ट राम्रो भएकाले होला बिक्रीमा समस्या छैन । प्युठान, बुटवलदेखि भैरहवाबाट पनि माग भइरहेको छ ।’
साकिनेकै अर्का किसान दामबहादुर घर्तीले पनि व्यवसायीक रूपमा सुन्तला खेतीमा लाग्नुभएका छ । ६ वर्षअघि रोपेका सुन्तलाले गत वर्षदेखि उत्पादन दिन थालेपछि आम्दानी हुन थालेको घर्ती बताउनुहुन्छ । रोपेका दुई सय ५० बिरुवामध्ये ३०-४० वटा बिरुवाले उत्पादन दिन थालेको भन्दै घर्तीले भन्नुभयोे, ‘रोपेका सबै बोट उत्पादन दिने अझै भइसकेका छैनन् । ३०-४० बोटले उत्पादन दिन थालेका छन् । राम्रै फल लागिरहेको छ ।’ यो वर्ष करिब ५ क्विन्टल बराबरको सुन्तला प्रतिकेजी ७० देखि ८० रुपियाँका दरले बिक्री गरेको बताउनुभयो ।
खाद्यान्न उत्पादनभन्दा फलफूलका लागि राम्रो क्षेत्र मानिएकाले सुन्तला खेतीमा लागेको भन्दै उहाँले भन्नुभयो, "मकै, गहुँ लगायतका कृषि बालीभन्दा सुन्तलाबाट राम्रो आम्दानी लिन सकिने भएकाले छ वर्षअघि सुन्तला रोपेको थिए । अहिले राम्रो आम्दानी भइरहेको छ ।"
गाउँका करिब ७० घरधुरीमध्ये ४० घरपरिवारले व्यावसायिक सुन्तला खेती गरिरहेको बङ्गलाचुली गाउँपालिका–५ का वडाध्यक्ष समेत रहनुभएका सुन्तला किसान लीलाबहादुर घर्ती बताउनुहुन्छ । पहाडी क्षेत्र भएकाले मकै, गहुँ, जौ, कोदोलगायतका बालीभन्दा सुन्तलाबाट राम्रो आम्दानी लिन सकिने भएकाले गाउँलाई नै सुन्तला पकेट क्षेत्रका रूपमा विकास गर्नेगरी लागेको वडाध्यक्ष घर्तीले बताउनुभयो ।
सुन्तलाको राम्रो उत्पादनसँगै बिक्री हुन थालेपछि किसान उत्साहित भएको भन्दै वडाध्यक्ष घर्तीले भन्नुभयो, "सिँचाइको सुविधा नहुने भिरालो जमिनका कारण खासै राम्रो अन्नबाली हुँदैनथ्यो तर सुन्तला भने राम्रो फल्न थालेको छ । यसले किसानलाई उत्साहित बनाएको छ ।" वडाध्यक्ष घर्तीका अनुसार गाउँमा करिब ४० घरपरिवारले व्यावसायिक रूपमा २५ हजारभन्दा बढी सुन्तलाका बिरुवा रोपेका छन् ।