गोकर्ण दयाल
बैतडी, पुस ८ गते । सामाजिक दायित्व र ज्येष्ठ नागरिकको सम्मानका लागि दशरथचन्द नगरपालिकाले न्यानो सिरक र तातोपानी खान थर्मस बितरण गरेको छ । नगरपालिकाले न्यानो सामग्री वितरणसम्बन्धी मापदण्ड बनाएर ज्येष्ठ नागरिकको घरदैलोमै पुगेर सामग्री वितरण सुरु गरेको हो ।
सोमबार दशरथचन्द नगरपालिका –७, सुर्काल गाउँका विभिन्न टोलमा पुगेर नगर उपप्रमुख कौशीला चन्दले न्यानो सिरक, तातोपानी राख्न थर्मससहित दोसल्ला ओढाएर ज्येष्ठ नागरिकलाई सम्मान गर्नुभयो । न्यानो सामग्री लिन वडा कार्यालयसम्म आउन नसक्ने ज्येष्ठ नागरिकलाई घरमै पुगेर सामग्री वितरण गरिएको उपप्रुमख चन्दले बताउनुभयो ।
उहाँले भन्नुभयो, “दशरथचन्द नगरपालिकाका कुनै पनि ज्येष्ठ नागरिक वृद्ध अवस्थामा घर छाडेर वृद्धाश्रम जानु परेको छैन । सम्मानपूर्वक घरमै बस्न सक्ने वातावरण बनेको छ । यो सम्मान जोगाई राख्न राज्य र समाजको धाराणालाई सकरात्मक बनाउनु जरुरी ठानेको छौं । कुनै पनि नागरिक वृद्ध अवस्थामा पुगेपछि मेरो कोही छैन भन्ने अवस्था नहोस् । उहाँहरुको साथनमा स्थानीय सरकार छ ।”
उपप्रमुखले घरमै आएर न्यानो सामग्री दिँदा आफ्नै छोरी आएर न्यानो लुगा दिएको अनुभूति भएको दशथरचन्द नगरपालिका –७, सुर्कालका ज्येष्ठ नागरिक नन्दप्रसाद बडूले बताउनुभयो । सरकारले सामाजिक सुरक्षाभत्तासँगै घरमै आएर न्यानो लुगा दिन थालेपछि जीवन जिउने हौसला बढेको ८१ वर्षीया नारुदेवी बडूले बताउनुभयो ।
वडाले नामावली छनौट गरेर पठाएका नगरपालिकाभित्रका ११० जना ८५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई न्योनो समग्री वितरण गर्न थालिएको दशरथचन्द नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत इश्वरीदत्त भट्टले बताउनुभयो ।
नगरपालिकाले न्यानो समग्री वितरण गर्न ८५ वर्ष उमेर पुगेका सबै ज्येष्ठ नागरिकको नामावली सङ्कलन गर्दा पुरुषको भन्दा महिलाको सङ्ख्या बढी देखिएको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख लीला कँवरले बताउनुभयो ।
नगरपालिकाभित्र ८५ वर्ष देखि एकसय वर्ष भन्दा आयु बाँचेका महिला भेटिएका छन् । न्यानो सामग्री वितरण गर्न जाँदा दशरथचन्द नगरपालिका–७, सुर्कालमा १०८ वर्षीय ज्येष्ठ नागरिक बिर्मादेवी बडू भेटिनु भएको छ । उहाँको नागरिकतामा जन्म मिति विसं. १९७३ साल मङ्सिर १२ गते उल्लेख भएको पाईएको छ । उहाँ हिँडडुल गर्न नसक्ने भएकाले घरमै पुगेर न्यानो सामग्री प्रदान गरेको उपप्रमुख कौशीला चन्दले बताउनुभयो ।