• १० माघ २०८१, बिहिबार

एघार पटक सगरमाथा उक्लेका शेर्पा किन गुमनाम भए ?

blog

११ पटक सगरमाथाको आरोहणकर्ता गौरीशंकर गाउँपालिका –९, दोलखाका छिरिङ पेम्बा शेर्पा ।

काठमाडौं, पुस ८ गते । एक पटक सगरमाथा उक्लिन जीवन लगाएर प्रयास गर्नेहरु हरेश खाएर फर्किन्छन् । पटक पटक उक्लिने प्रयास गर्नेहरु पनि असफल भएर हराउँछन् । एक युवा ११ पटक सगरमाथाको शिखर चुमेर पनि गुमनाम भएको सुन्दा आश्चर्य लाग्न सक्छ ।

गौरीशंकर गाउँपालिका –९, दोलखाका छिरिङ पेम्बा शेर्पा (३९) हुन् जो ११ पटक सगरमाथा उक्लेर पनि चर्चामा हुनुहुन्न । उहाँले एक पटक पाकिस्तानको चर्चित हिमाल केटुको सफल आरोहण गरिसक्नुभएको छ । 


शेर्पाले पहिलो पटक १८ वर्षको उमेरमा २३ मे २००७ मा सगरमाथाको सफल आरोहण गर्नुभएको थियो । सोपछि सन् २०१७ जुन २७ मा पाकिस्तानको केटु हिमाल आरोहण गर्नुभएको थियो । उहाँ इन्टरनेशनल माउन्टेन गाइडको रुपमा कार्यरत रहनुभएको छ । 

उहाँको तीन पींढि निरन्तर सगरमाथा उक्लेको छ । उहाँको हजरबुवा एडमण्ड हिलारीको समूहमा सगरमाथा उक्लनुभएको थियो । 

शेर्पाले २ पटक ल्होत्से हिमाल, दुई पटक होयो हिमाल पनि चढिसक्नुभएको छ । उहाँले हिमाल मात्र चढ्नुभएको छैन, दुई हिमालको अन्वेषणमा पनि नेतृत्वदायी भूमिका खेल्नुभएको छ । बेडिङ्गो र खोङ हिमालको नयाँ नामकरणमा उहाँको भूमिका रहेको छ । जुन हिमालको उचाइ ६ हजार १२५ मिटर रहेको छ । 

बेडिङ गाउँको शिरमा रहेकाले सो हिमालको नाम बेडिङ्गो राखिएको उहाँको भनाइ छ । स्थानीय भाषामा ‘गो’ को अर्थ टाउको हुन्छ । गाउँको शिरमा हिमाल भएकाले त्यसको नाम बेडिङ्गो जुराइएको उहाँले अनुभव सुनाउनुभयो । सोहीअनुसार खाङ हिमालको उचाई ६ हजार ६४६ मिटर छ । स्थानीय भाषामा खाङको अर्थ ‘सेतो’ लाग्छ । सेताम्मे हिमाल भएकाले त्यसको नामकरण खोङ गरियो । यी दुई हिमालको नामकरण सन् २०१५ मै भएको उहाँले बताउनुभयो । 


उसो त उहाँको तीन पींढि निरन्तर सगरमाथा उक्लेको छ । उहाँको हजरबुवा एडमण्ड हिलारीको समूहमा सगरमाथा उक्लनुभएको थियो । उहाँले सो समूहमा सञ्चारकर्ताको काम पनि गर्नुभएको शेर्पा सम्झनु हुन्छ । आफू बाजेबाटै हिमाल आरोहण गर्ने प्रेरणा पाएको शेर्पाको भनाइ छ । 

उहाँका बुवाको सात दाजुभाइ सबैले सगरमाथाको टुप्पोको अवतरण गर्नुभयो । बुवा आङछिरि शेर्पा, उहाँका काकाहरु निमा तेम्वा शेर्पा, पेमा थार्के शेर्पा, निमा गुम्बु शेर्पा, मिङ्मा छिरि शेर्पा, थुण्डु  शेर्पा, पासाङ तेन्जिङ शेर्पाले पनि सगरमाथाको सफल आरोहण गर्नुभएको उहाँले बताउनुभयो ।

सो पछि उहाँका बुवाको सात दाजुभाइ सबैले सगरमाथाको टुप्पोको अवतरण गर्नुभयो । बुवा आङछिरि शेर्पा, उहाँका काकाहरु निमा तेम्वा शेर्पा, पेमा थार्के शेर्पा, निमा गुम्बु शेर्पा, मिङ्मा छिरि शेर्पा, थुण्डु शेर्पा, पासाङ तेन्जिङ शेर्पाले पनि सगरमाथाको सफल आरोहण गर्नुभएको उहाँले बताउनुभयो ।


शेर्पाका अनुसार सात दाजुभाइले ६१ पटक सगरमाथाको सफल आरोहरण गर्नुभएको थियो । नेपाल नेशनल गाइड एशोसियशनको सदस्य समेत रहेका शेर्पाले पछिल्लो समय माउन्टेन चढ्नेहरुको रेस्क्यूको काम पनि गर्दैआउनुभएको छ । शेर्पाले अहिलेसम्म चीन, भारत, पाकिस्तान, अफ्रिका, नर्वे, फ्रान्सलगायतको मुलुकको भ्रमण गर्नुभएको छ । सगरमाथाको पटक–पटक सफल आरोहण गर्दा पनि आफूले राज्यबाट केही नपाएको उहाँको गुनासो छ ।  


Author
लक्की चौधरी

उहाँ गोरखापत्र अनलाइन प्रकाशनको निमित्त सम्पादक हुनुहुन्छ ।