• ११ माघ २०८१, शुक्रबार

पासो थाप्ने सिकारी नै बने बाघको सिकार

blog

नारायणगढ, पुस ८ गते । बाघलाई मार्न राखिएको पासोमा उल्टै सिकारी परेर बाघको सिकार बनेको घटना चितवनमा सार्वजनिक भएको छ । गत कात्तिक २ गते चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने तीनचुली मध्यवर्ती सामुदायिक वनको लक्ष्मीडाँडामा सिकारी नै बाघको सिकार भएको घटना आइतबार निकुञ्ज कार्यालयले पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।  

निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेशप्रसाद पन्तले बाघको सिकारमा नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका वडा नम्बर १ का ६० वर्षीय जितबहादुर थिङ परेको  जानकारी दिनुभयो । 

उहाँका अनुसार  थिङले बाघ मार्न पासो थाप्दै गर्दा आफैँ बाघको आक्रमणमा परेका हुन् । “बाघ मार्न थापिएको पासोमा सिकारी परेर बाघको सिकार भएका हुन् । बाघ मार्न गएछन्, उल्टै बाघले मारेछ,” उहाँले भन्नुभयो । 

“आफूले थापेको पासोमा परेको बाघलाई हेर्न नजिकै पुगेका थिङलाई बाघले पासो नै छिनाएर उम्किँदै आक्रमण गरेर मारेछ । उनीसँगै बाघको सिकार गर्न निकुञ्ज क्षेत्र छिरेका अमृत न्यौपाने भने रुखमा चढेर बाँचेछन् ।  सवारीसाधनमा प्रयोग हुने ब्रेकको तार लिएर वन क्षेत्रमा छिरेका थिङले वन क्षेत्रमै बाघका लागि पासो राखेर मार्ने उद्योग गरेको प्रमुख संरक्षण अधिकृत पन्तले बताउनुभयो । 

“सँगै रहेका अमृत न्यौपाने रुखमा चढेर बाँचेछन् । उनले माथि चढेर मोबाइलबाट पासोमा परेको बाघको फोटो पनि खिचेका छन्,” उहाँले भन्नुभयो । 

गत कात्तिक २ गते थिङलाई बाघले आक्रमण गरेर मारेको हो । उनी लामो समयदेखि चोरीसिकारमा संलग्न रहेको निकुञ्जको दाबी छ । थिङ वन्यजन्तुको आपराधिक पृष्ठभूमिका व्यक्ति भएको निकुञ्जले जनाएको छ तर उनी मरेका दिन सञ्चार माध्यममार्फत भने घाँस काट्न जङ्गल जाने क्रममा बाघले आक्रमण गरेको भनी समाचार सार्वजनिक भएको थियो । मृतकका परिवारले बाघका कारण मृत्यु भएको भन्दै निकुञ्जको मध्यवर्ती समितिमा क्षतिपूर्तिका लागि माग पनि गरेका थिए । प्रमुख संरक्षण अधिकृत पन्तले घटनाक्रम रहस्यपूर्ण भएपछि आफूहरूले अनुसन्धान गरेको र वास्तविक कुरा बाहिर आएको बताउनुभयो । 

यो घटनामा संलग्न रहेका न्यौपानेलाई निकुञ्जले पक्राउ गरी आइतबार चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गराएको छ । बाघ मार्ने प्रयास गरेको अभियोगमा गत कात्तिक २९ गते पक्राउ परेका न्यौपानेमाथि अनुसन्धान पूरा भई आइतबार अदालतमा मुद्दा दायर गरिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिनुभयो । 

निकुञ्जले नयाँ गोरखगणमा आबद्ध नेपाली सेनाको समन्वयमा न्यौपानेलाई पक्राउ गरिएको थियो । न्यौपानेसँगै निकुञ्जले तार बरामद गरेको छ । तारलाई पासोका रूपमा प्रयोग गरिएको र त्यसमा बाघको रौँसमेत भेटिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

“पासोको तारमा भेटिएको रौँ बाघकै भएको विधिविज्ञान प्रयोगशालाले पुष्टि गरेको छ भने पक्राउ परेका न्यौपानेको खल्तीमा भेटिएको मोबाइलमा पासोमा परेको बाघको फोटो भेटिएको छ,” मगरले भन्नुभयो । 

पक्राउ परेका न्यौपानेलाई बाघ मार्ने उद्योगमा मुद्दा चलाइएको छ । निकुञ्जको दाबी अनुसार न्यौपाने दोषी ठहरिए वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ उपदफा ५ घ बमोजिम कसुर गरेकामा सोही ऐनको दफा २६ को उपदफा १ बमोजिम सजाय हुने व्यवस्था छ । निकुञ्जका अनुसार न्यौपानेलाई अदालतले दोषी ठहर गरे एक लाख रुपियाँदेखि १० लाख रुपियाँसम्म जरिबाना वा पाँच वर्षदेखि १५ वर्षसम्म जेल वा दुवै सजाय तोक्न सक्ने छ ।