• १० माघ २०८१, बिहिबार

स्थानीय सरकार : महिला जनप्रतिनिधिको बुझाइ

blog

सांकेतिक फाइल तस्विर

काठमाडौं, पुस ७ गते । दोलखाको शैलुङ गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्की (थापा) ले स्थानीय तहको नेतृत्वमा रहिरहँदा आफूले सोचेजस्तो सिर्जनात्मक र उत्साही हुँदै काम गर्ने माहौल नभएको अनुभव सुनाउनुभयो ।  

उपाध्यक्ष कार्कीले भन्नुभयो, “नेतृत्व भनेको अध्यक्ष नै हो भन्नेखालको सोचाइ छ,  त्यही सोचाइले उत्साहित् बन्न दिएको छैन ।” यहाँसम्मकि, पालिका बैठकको सूचना समेत सामाजिक सञ्जाल फेसबुकबाट थाहा पाउनुपर्ने हबिगत आफूले भाग्नुपरेको उहाँको गुनासो छ ।

उहाँले भन्नुभयो, ‘‘न त भएका निर्णयहरू कार्यान्वयननिम्ति सरसल्लाह नै हुन्छ । अझ कार्यपालिका बैठकको एजेण्डा समेत थाहा नपाइने अवस्था छ ।’’ कार्की नेकपा (एमाले) बाट निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ । शैलुङ गाउँपालिका अध्यक्षमा माओवादीले जितेको थियो ।

कार्यपालिका मिटिङको एजेण्डाकै हकमा पनि अध्यक्षसँग मात्र सल्लाह गर्ने र उपाध्यक्षलाई ‘वाइपास’ गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “म आफैँ उपप्रमुख भएको हिसाबले यहाँ धेरै गाह्रो छ । मैले पटक–पटक भन्ने गर्छु, एजेण्डा तयार गर्दा मलाई पनि भन्नुपर्छ । मिटिङमा जानुअघि म विषयमा स्पष्ट हुनुपर्छ भन्छु, त्यो कार्यान्वयन भएको छैन । स–साना कुरामा भनिराख्नुपर्ने, टाउकै दुखाउनुपर्छ । आफूले सिर्जनशील र खुसी भएर काम गर्ने वातावरण छैन ।”

स्थानीय सरकारको नेतृत्व सम्हाल्दै गर्दा चुनौतीसँगै अवसर प्राप्त हुने विचार महिला जनप्रतिनिधिहरू राख्नुहुन्छ भने कतिपयको गुनासो कार्कीको जस्तै छ । प्रमुख, अध्यक्ष वा वडाअध्यक्ष पदमा महिला उम्मेदवारको सङ्ख्या नै कम भएका कारण प्रमुख एवम् निर्णायक तहमा निर्वाचित महिला नेतृत्वको सङ्ख्या कम छ ।

महिलाले अवसर प्राप्त गरेको खण्डमा नेतृत्व गर्न सक्षम छन् भन्ने अनुभव उनीहरूले सुनाउनुभयो । यद्यपि, समाजमा जरा गाडेर बसेको पुरुष नै प्रधान हुन्छ भन्ने पुरानो सोचका कारण नेतृत्व तहमा समेत महिला जनप्रतिनिधिले विभिन्न उल्झन भोग्नुपर्ने अवस्था छ । देशभरका स्थानीय तहमा वडाध्यक्ष र सदस्यसमेत गरी करिब ३५ हजारभन्दा बढी जनप्रतिनिधिमध्ये महिला जनप्रतिनिधिको सङ्ख्या १४ हजार ४०२ छ । 

स्थानीय तहमा महिला प्रतिनिधित्व गराउन अध्यक्ष वा उपाध्यक्षमध्ये एक अनिवार्य गरिएको छ । २०७२ को संविधानपछि दुई पटक स्थानीय तहको निर्वाचन भइसकेको छ, दुवै निर्वाचनमा महिलालाई प्रमुखभन्दा पनि उपप्रमुखमा सीमित गर्ने प्रयत्न गरिएको छ । सात सय ५३ स्थानीय तहमा जम्माजम्मी २५ पालिका प्रमुखमा मात्र महिला नेतृत्व हुनहुुन्छ भने बाँकी पालिका उपप्रमुख र उपाध्यक्षको जिम्मेवारीमा हुनुुुहुन्छ ।

हाल ६९ वटा वडाको नेतृत्व महिलाले पाउनुभएको छ । यसैगरी पालिका उपप्रमुख तथा उपाध्यक्षमा पाँचसय ६४ महिला निर्वाचित हुनुभएको छ । २०७४ को स्थानीय निर्वाचनमा पालिका प्रमुख–अध्यक्षमा जम्मा १८ महिला निर्वाचित हुनुभएको थियो । उक्त निर्वाचनमा ६१ जना महिला वडाअध्यक्ष, उपप्रमुख–उपाध्यक्षमा सातसय महिला निर्वाचित हुनुभएको थियो । 

यो तथ्याङ्कलाई हेर्दा २०७४ को भन्दा २०७९ को निर्वाचनबाट निकै झिनो सङ््ख्यामा भए पनि पालिका अध्यक्ष–प्रमुख निर्वाचित हुने महिलाको सङ्ख्या बढेको देखिन्छ । यस्तै, पछिल्लो निर्वाचनमा उपप्रमुख–उपाध्यक्षमा निर्वाचित महिलाको सङ्ख्या भने घटेको छ । 

तीनवटा पालिकाको प्रमुख र उपप्रमुख दुवै नेतृत्वमा महिला हुनुहुन्छ । झापाको गौरीगञ्ज गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसकी फूलवती राजवंशी र उपप्रमुखमा नेकपा (एमाले) की पूजन न्यौपाने कुँवर हुनुहुन्छ । 

दैलेखको भैरवी गाउँपालिकाको प्रमुखमा रीता शाही र उपप्रमुखमा देवी भण्डारी हुनुहुन्छ । प्रमुख शाही र उपप्रमुख भण्डारी दुवै जना नेपाली कांग्रेसबाट निर्वाचित उम्मेदवार हुनुहुन्छ । कैलालीको लम्की–चुहा नगरपालिका प्रमुखमा नेपाली कांग्रेसकी सुशीला शाही र उपप्रमुखमा नेकपा (एमाले) की जुना चौधरी निर्वाचित हुनुभएको थियो । 

महिला नेतृत्व थपना मात्र

ताप्लेजुङको सिदिङ्वा गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी कडरिया देशका अधिकांश उपप्रमुख वा उपाध्यक्ष पदमा महिला जनप्रतिनिधि नेतृत्वमा रहनुभए पनि बहुमत भने पुरुषकै हुने गरेको बताउनुहुन्छ । 

राजनीतिमा सक्रिय महिलाको सङ्ख्या कम भएको तथा स्थानीय तहका महिला नेतृत्वको पहुँच अभावका कारण कानुनले सुनिश्चित गरेका अधिकार कार्यान्वयनमा चुनौती  हुने गरेको उहाँको भनाइ छ । 

उपाध्यक्ष कडरिया भन्नुहुन्छ, “नेतृत्व पङ्तिमा उपाध्यक्ष तथा उपप्रमुख महिलाहरू बन्नुभएको छ । ४० प्रतिशतका हिसाबमा प्रत्येक वडामा एक–एक महिला र दलित राखिएको छ । तर महिलालाई थपनाको रुपमा मात्र देखिन्छ । किनभने सक्रिय काम गर्ने महिला कमै रुपमा देखिन्छन् । 

उपप्रमुखले जिम्मेवारी प्राप्त गरेता पनि बहुमत चाहिँ पुरुषहरूको नै हुने गर्छ । वडाअध्यक्ष निर्वाचित हुने अधिकांशतः पुरुष नै हुनुहुन्छ ।” कडरिया नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित हुनुभएको जनप्रतिनिधि हुनुहन्छ ।

कर्मचारी संयन्त्र मुख्य चुनौती 

काठमाडौंको कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीको असामयिक निधनपछि उपप्रमुख शुभलक्ष्मी शाक्यलाई केही महिना कार्यबाहक प्रमुखको जिम्मेवारी समेत सम्हाल्नुपर्ने स्थिति बन्यो । शाक्य नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ ।

महिला भएकै कारण नेतृत्वमा समस्या भएको अनुभव नरहेको बताउनु हुने शाक्यले जनप्रतिनिधि र कर्मचारी संयन्त्रबिच तालमेल नहुँदा काममा अवरोध हुने गरेको बताउनुभयो । उपप्रमुख शाक्य भन्नुहुन्छ, “मुख्य चुनौती भनेको स्थानीय सरकार, जनप्रतिनिधि हुनुअघिका जुन कर्मचारी संयन्त्र छ, जनप्रतिनिधिहरू आइसकेपछि पनि त्यो संरचना यथावत् रहनुलाई हामीले एकदम चुनौतीका रुपमा लिएका छौं ।’’ 

उहाँको भनाइमा, ‘‘प्रमुख प्रशासककै विषयमा कुराकानी गर्नुपर्दा पहिला जनप्रतिनिधि नहुँदा उहाँहरूको जति काम, कर्तव्य, अधिकारको कुरा छ, जनप्रतिनिधि आइसकेपछि पनि त्यो कम भएको छैन । नियुक्ति गर्ने प्रक्रिया जुन केन्द्रीय सरकारबाट भनौं मन्त्रालयबाटै छ । त्यो भइसकेपछि उनीहरू स्थानीय जनप्रतिनिधिसँग त्यति घुलमिल भएर काम गराउने अथवा गर्नेतर्फ त्यति लागेको देखिँदैन ।”

पुरुषले सजिलै दिँदैनन्

बझाङको केदारस्युँ गाउँपालिका उपाध्यक्ष मनिषा धामीलाई निर्वाचित जनप्रतिनिधि भएको सुरुवाती चरणमा केही अप्ठ्यारो समेत भयो । उहाँ ढुक्कसँग निर्णय गर्दा आफूले पनि अध्ययन गरेको हुनुपर्ने बताउनुहुन्छ ।

उपाध्यक्ष धामीले भन्नुभयो, “सुरुमा अप्ठ्यारो कस्तो भने आफूलाई पनि ज्ञान त्यति भएन । निर्णय गर्दा आफूले पनि ढुक्कसँग जानेको, अध्ययन गरेको हुनुपर्छ । पुरुषहरूले त्यही त हो, आफूले नभनेसम्म उनीहरू काम सजिलै दिँदैनन् । जस्तो कि, कुनै निर्णय गर्नुछ भने महिला त हो नि भन्ने । नसोध्दा पनि हुन्छ नि भन्ने स्वभाव हुन्छ । हामीले पनि आवाज उठाउनुपर्छ त्यसपछि बोलाउँछन्, सोध्छन् ।” 

बझाङको अरु पालिकाको तुलनामा केदारस्युँ गाउँपालिकामा सक्रिय महिला रहेको उहाँ बताउनुहुन्छ । धामी नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ । जहाँ पालिका प्रमुख नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को हुनुहुन्छ ।

अपग्रेड हुन के गर्ने

कीर्तिपुर उपप्रमुख शाक्यले राजनीतिमा महिला सक्रिय रुपमा अगाडि बढ्न, घरपरिवार र समाजको साथ आवश्यक हुने बताउनुहुन्छ । आफू विगतदेखि सामाजिक तथा राजनीतिक जिम्मेवारीमा रही विभिन्न काम गर्दै आएकाले पनि त्यति अप्ठ्यारो महसुस नभएको उहाँको अनुभव छ ।

शाक्यले भन्नुभयो, “जनताले अपेक्षा गरेको कुरा मैले कति पूरा गर्न सकँे वा सकिनँ त्यो उहाँहरूकै हिसाबले गर्ने कुरा एक ठाउँमा छ । जुन सोच पहिला राखिएको हुन्छ, तर ठाउँमा पुगिसकेपछि चाहिँ काम गर्ने संयन्त्र, कार्यविधिदेखि जुन हाम्रो संविधानसँग बाझिने विषयबस्तुहरू पनि धेरै छन् । तर आशा, भरोसा चाहिँ छ, गर्न सकिन्छ ।’’

महिला नेतृत्वले इमान्दारीतापूर्वक जिम्मेवारी निर्वाह गर्छन् भन्ने छाप समाजमा पर्दै गएको कुरा उहाँले जोड दिनुभयो । उहाँ अझ उपप्रमुख भइसकेको महिलालाई प्रमुखमा ‘अपग्रेड’ हुनुपर्छ भन्ने मान्यता राख्नुहुन्छ । केदास्युँका उपाध्यक्ष धामीले उपाध्यक्षको नेतृत्वमा रहँदा धेरै कुरा सिक्ने अवसर प्राप्त भएको बताउनुभयो । 

धामीले भन्नुभयो, “न्यायिक समिति संयोजक, बजेट विनियोजन संयोजकको जिम्मेवारी उपाध्यक्षलाई छ । अनुगमन समितिको संयोजकको जिम्मेवारी पनि छ । अध्यक्षकोभन्दा बढी जिम्मेवारी उपाध्यक्षको छ । तर हामी महिलाले सबैभन्दा पहिला त आफ्नो जिम्मेवारी के हो भनेर नबुझ्दासम्म अरुले भन्दैन । हक, अधिकार अरुले दिँदैन । नेतृत्वमा रहँदा एकदमै राम्रो छ । आगामी दिनमा के गर्ने, कसरी जाने भन्ने कुरा सिकियो ।”

सिदिङ्वा गाउँपालिका उपाध्यक्ष कडरियाले नेतृत्वमा रहँदा नेतत्व पङ्क्तिमा जान सकिन्छ भन्ने आँटको विकास भएको बताउनुभयो । यससँगै महिलाले जुनसुकै क्षेत्रमा काम गर्न सकिन्छ भन्ने आत्मविश्वास बढेको उहाँको भनाइ छ ।

कडरियाले भन्नुभयो, “नेतृत्व पङ्तिमा जान सकिन्छ भन्ने आँट एकातिर हुन्छ भने अर्कोतर्फ आफूलाई समाजले गन्छ अथवा गन्दैन भन्ने कुराहरूको विश्लेषण गर्दै जिम्मेवाी प्राप्त गरेअनुसार जुनसुकै क्षेत्रमा काम गर्न सकिन्छ भन्ने भयो । राजनीतिक वृत्त र समाजले हेर्ने दृष्टिकोणलाई चिरफार गरी अघि बढ्नु भने चुनौतीपूर्ण छ । अवसरसँगै चुनौती पनि सँगै छ ।”

उहाँले महिलाको अर्थपूर्ण सहभागिता र नेतृत्वका निम्ति प्रमुख र वडाध्यक्षको जिम्मेवारीमा ‘गु्रमिङ’ गर्नुपर्ने धारणा राख्नुहुन्छ । उहाँले भन्नुभयो, “तलैबाट महिलाहरू छन्, महिलाले गर्छन्भन्दा आफू अल्पमतमा परेको कारणले धेरै चुनौतीपूर्ण हुन्छ । यो विषय माथिबाटै आयो भने चाहिँ महिला, दलित, अल्पसङ्ख्यक एवम् लक्षित वर्ग लाभान्वित हुने अवस्था बन्ने छ ।”

शैलुङ गाउँपालिका उपाध्यक्ष कार्की भने नेतृत्व तहमा पनि गुणस्तरको समय बित्न नसकेको चिन्ता व्यक्त गर्नुहुन्छ । नेपालको कानुनले सुनिश्चित गरेको महिला अधिकार समेत कार्यान्वयन तहमा निकै फितलो रहेको अनुभव उहाँको छ । 

स्थानीय तहमा महिला, बालबालिका एवम् लक्षित वर्गसम्म प्रभावकारी कार्यक्रम सञ्चालन हुनुपर्ने उल्लेख गर्दै उहाँले गाउँपालिकास्तरमा अनुभवी कर्मचारीको आवश्यक भएको औंल्याउनुभयो ।

कार्कीले भन्नुभयो, “जहाँ सुविधा छ, नगरपालिका, महानगरपालिका, उपमहानगरपालिकामा अनुभवी महिला कर्मचारी त्यस्तो ठाउँमा बसिदिनु हुन्छ । गाउँपालिकास्तरमा त्यो तहको अनुभवी कर्मचारी आइदिनुभयो भने त्यसले सहयोग गर्न सक्छ । म मन्त्रालयका सचिवहरूसँग भने तपाईंहरू पालिकालाई के सहयोग गर्नुहुन्छ ? सबै जना विज्ञ यहाँ बसेर मात्र हुँदैन । भर्खर पढेर पास गरेर आएका कर्मचारी र अनुभवीबिच फरक हुन्छ ।”

नेतृत्व लिन सक्षम छौं 

झापाको गौरीगञ्ज गाउँपालिका अध्यक्ष फुलबती राजवंशी सबैको मन जितेर नेतृत्व लिन महिला उम्मेदवार सक्षम रहेको बताउनुहुन्छ । कमजोर मनस्थिति नभइ महिला, पुरुष सबैले साथ दिन्छन् भन्ने कुरामा पहिले आफू विश्वस्त हुनुपर्ने धारणा उहाँ राख्नुहुन्छ ।

अध्यक्ष राजवंशीले भन्नुभयो, “हामी काम गर्न सक्दैनौं भन्ने कमजोर मनस्थिति होइन । दिदी–बहिनी, दाजुभाइ सबैलाई समेटेर, विभिन्न चुनौती हुँदाहुँदै कहिल्यै पनि हरेस नखाइकन अघि बढ्नुपर्छ । मन जितेरै हामीलाई नेतृत्व दिइएको छ ।” 

महिलाले गर्न सक्दैनन् भन्ने सोचका कारण चुनौती रहेकोे उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पुरुषको आफ्नो कार्यशैली होला तर महिला पारदर्शी ढङ्गले सम्हाल्ने हाम्रो जिम्मेवारी हो । पुरुषले के गर्दैछन्भन्दा पनि हामीले आफ्नो काम गर्नुपर्छ । आफ्नो काम गर्दैगर्दा कतिले महिलाले केही गर्न सक्दैनन् भन्ने चुनौती चाहिँ हुन्छ । हामीले काम गरेर देखाउने हो ।”

राजवंशी नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ । महिलालाई जिम्मेवारी नै नदिएका कारण प्रमुख वा अध्यक्ष पदमा महिला नेतृत्वको सङ्ख्या कम भएको उहाँ बताउनुहुन्छ । यद्यपि, महिला नेतृत्व पनि स्वतःस्फूर्त रुपमा नेतृत्वमा आउन सक्नुपर्ने सुझाव उहाँको छ । 

२५ पालिका प्रमुखहरु (२०७९ मा निर्वाचित )

कोशी प्रदेश

विमला राईः प्रमुख– हलेसी तुवाचुङ नपा, खोटाङ (नेपाली कांग्रेस)

पवित्रादेवी महतारा–प्रमुख, बिर्तामोड नपा, झापा, - नेकपा (एमाले)

फूलवती राजवंशी–अध्यक्ष,  गौरीगञ्ज गापा, झापा - (नेपाली कांग्रेस)

राजमति इङनाम–अध्यक्ष, कानेपोखरी गापा, मोरङ – नेकपा (एमाले) 

मीनादेवी कार्की–अध्यक्ष, लिखु पिके गापा, सोलुखुम्बु– (नेपाली कांग्रेस)

अरुणादेवी राई–अध्यक्ष, जन्तेढुङ्गा गापा, खोटाङ– नेकपा (माओवादी केन्द्र) 

मधेश प्रदेश

गीता चौधरी –प्रमुख, सुरुङ्गा नपा, सप्तरी–नेपाली कांग्रेस 

कौशल्या देवी – प्रमुख, ईशनाथ नपा, रौतहट –लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल

रिनाकुमारी साह – प्रमुख, मौलापुर नपा, रौतहट –नेकपा (एमाले)

कल्पनाकुमारी कटुवाल –प्रमुख, बरहथवा नपा, सर्लाही –नेकपा (एमाले)  

बागमती प्रदेश

रेणु दाहाल –प्रमुख, भरतपुर महानगरपालिका, चितवन–नेकपा (माओवादी केन्द्र)

मीना लामा –प्रमुख, हेटौंडा उपमहानगरपालिका, मकवानपुर– नेकपा (एकीकृत समाजवादी) 

ताराकुमारी काजी महतो (थारु) – प्रमुख, माडी नपा, चितवन– नेकपा (एमाले)

पार्वती सुनुवार – अध्यक्ष,  फिक्कल गाउँपालिका, सिन्धुली – नेकपा (एमाले)

दीपा बोहोरा – अध्यक्ष, सुनकोसी गापा, सिन्धुली – नेकपा (माओवादी केन्द्र)

रेणुका चौलागाईँ – अध्यक्ष, चौरीदेउराली गापा, काभ्रेपलाञ्चोक – नेकपा (माओवादी केन्द्र) 

गण्डकी प्रदेश

लक्ष्मी पाण्डे – अध्यक्ष, हुप्सेकोट गापा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)– नेपाली कांग्रेस

गण्डकी थापा अधिकारी –अध्यक्ष, बडिगाड गापा, बागलुङ–नेपाली कांग्रेस 

हीरादेवी शर्मा – अध्यक्ष, मोदी गापा, पर्वत–नेकपा (एमाले)  

लुम्बिनी प्रदेश

विमला अर्याल – प्रमुख, सुनवल नपा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)–नेकपा (एमाले) 

सरस्वती दर्लामी –अध्यक्ष, बगनासकाली गापा, पाल्पा– नेकपा (एमाले) ।

कर्णाली प्रदेश

मोहनमाया ढकाल – प्रमुख, विरेन्द्रनगर नपा, सुर्खेत– नेकपा (एमाले)

रीताकुमारी शाही – अध्यक्ष, भैरवी गापा, दैलेख– नेपाली कांग्रेस 

सुदूरपश्चिम प्रदेश

अम्बिका चलाउने – प्रमुख, पञ्चदेवल विनायक नपा, अछाम– नेपाली कांग्रेस 

सुशीला शाही – प्रमुख, लम्कीचुहा नपा, कैलाली– नेपाली कांग्रेस 

१८ पालिका प्रमुख  (२०७४ मा निर्वाचित)  

कोशी प्रदेश

मेनुका काफ्ले – अध्यक्ष, कमल गापा, झापा,- नेकपा (एकीकृत समाजवादी)

मधेश प्रदेश

रीना कुमारी साह – प्रमुख, मौलापुर नपा, रौतहट – नेकपा (माओवादी केन्द्र)

बागमती प्रदेश

रेणु दाहाल – प्रमुख, भरतपुर महानगरपालिका, चितवन – नेकपा (माओवादी केन्द्र) 

प्रभा बराल – प्रमुख, राप्ती नपा, चितवन – नेकपा (एकीकृत समाजवादी)

दीपा बोहोरा दाहाल – अध्यक्ष, सुनकोशी गापा, सिन्धुली – नेकपा (माओवादी केन्द्र) 

सीता कुमारी पौडेल अधिकारी – अध्यक्ष, कालिका गापा, रसुवा – नेकपा (एकीकृत समाजवादी) 

गीता कुमारी गुरुङ – अध्यक्ष, ईच्छाकामना गापा, चितवन – नेपाली कांग्रेस  

गण्डकी प्रदेश

सीमाकुमारी क्षेत्री – प्रमुख, पुतलीबजार नपा, स्याङ्जा – नेकपा (एकीकृत समाजवादी) 

चन्द्र कुमारी पुन –प्रमुख, कावासेती नपा, नवलपरासी बर्दघाट सुस्तापूर्व – नेकपा (एकीकृत समाजवादी)

छुपि माया गुरुङ – अध्यक्ष, दूधपोखरी गापा, लमजुंग – नेपाली कांग्रेस 

मायादेवी राना आले – अध्यक्ष, म्याग्दे गापा, तनहुँ – नेपाली कांग्रेस  

लक्ष्मीदेवी पाण्डे –अध्यक्ष, हुप्सीकोट गापा, नवलपरासी बर्दघाट सुस्तापूर्व – नेपाली कांग्रेस

थमसरा पुन – अध्यक्ष, धवलागिरी गापा, म्याग्दी – नेकपा (एकीकृत समाजवादी) 

लुम्बिनी प्रदेश

कुमारी वराल (गौतम) – अध्यक्ष, सिस्ने गापा, रुकुम पूर्व – नेकपा (माओवादी केन्द्र) 

कर्णाली प्रदेश

दिलमाया बुढा मगर (गिरी) – अध्यक्ष, कुमाखमालिका गापा, सल्यान – नेकपा (माओवादी केन्द्र) 

कान्तिका सेजुवाल – प्रमुख, चन्दननाथ नपा, जुम्ला – नेपाली कांग्रेस

सुदूरपश्चिम प्रदेश

मन्जु मलामी – प्रमुख, दिपायल सिलगढी नपा, डोटी – नेकपा (एकीकृत समाजवादी) 

कौशीला कुमारी भट्ट – अध्यक्ष, भागेश्वर गापा, डडेलधुरा – नेपाली कांग्रेस  

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।