काठमाडौं, पुस ६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सभ्यताको मुहान ध्यान भएको बताउनुभएको छ । विश्व ध्यान दिवसका अवसरमा ‘आन्तरिक शान्तिः विश्वव्यापी सद्भाव’ भन्ने नाराका साथ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शनिबार सैनिक मञ्च, टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा उहाँले सो कुरा बताउनुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, “वास्तवमा प्राकृतिक ढङ्गले सचेत मानिस जातिमा धेरै ठुला सभ्यताभन्दा अगाडि ध्यान आयो र ध्यानले सभ्यता सुरु गरायो । सभ्यताको मुहान भनेको ध्यान हो । मान्छेको चिन्तन हो ।”
प्रधानमन्त्री ओलीले विश्व समस्याग्रस्त भइरहेको अवस्थामा शान्ति ल्याउनका लागि ध्यानको आवश्यकता रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “आज विश्व समस्याग्रस्त छ । युद्धको सन्त्रास छ । लडाइहरु भइहरहेका छन् । मान्छेहरु मरिरहेका छन् । निर्दोष बालबालिकाहरु, वृद्धवृद्धाहरु, अस्पतालका बिमारीहरु मरिरहेका छन् । अत्यन्त निर्ममताका साथ अहङ्कारलाई अगाडि बढाइएको छ । ध्यानले अहङ्कारलाई खरानी बनाइदिन्छ । त्यसकारण विश्वमा शान्ति ल्याउन अहङ्कार समाप्त पार्नुपर्छ ।”
प्रधानमन्त्री ओलीले आफू भूमिगत हुँदा योग र ध्यानले उच्च मनोबल एवम् सकारात्मक सोचका लागि मद्दत पुगेको उल्लेख गर्नुभयो । उहाँले २०२६ सालतिर केही समय भूमिगत रहँदा बनारसबाट योगबो किताब किनेर अभ्यास गरेको अनुभव सुनाउनुभयो ।
उहाँले भन्नुभयो, “अनि म लुकेरै बनारस गएर योगको एउटा किताब किनें । सानो पुस्तिका थियोे । त्यसबाट केही प्राणायमम र आसनहरु मैले सिकें । भूमिगत कालमा पनि मलाई योगले स्वस्थ राख्न, जेलका कठिन गोलघरका चार वर्ष कुजिएर एक ठाउँमा बस्नुपर्ने बेलामा पनि योग जस्तो कुराले मलाई स्वस्थ रहन, सधैं सकारात्मक सोच राख्न, सधैं मनोबल उच्च राख्न मद्दत गर्यो ।”

प्रधानमन्त्री ओलीले नेपालमा वर्षको सबैभन्दा लामो दिनमा योग दिवस र सबैभन्दा छोटो दिनलाई ध्यान दिवसका रुपमा मनाउने गरिएको उल्लेख गर्नुभयो । ध्यानलाई दैनिक जीवनपद्दतिसँग जोड्न्पर्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “आजदेखि हरेक दिन ध्यान दिवस हुनुपर्दछ । हरेक बिहान ध्यानबाट जीवनको सुरुवात गरौ । सकारात्मक चिन्तनबाट दिनको सुरुवात गरौं । ध्यान भनेको सकारात्मक चिन्तन सुरु गर्ने माध्यम हो । त्यसबाट दिनको सुरुवात गरौं । सकारात्मक सोचले सकारात्मक कार्यतर्फ हामीलाई मार्गदर्शन गर्दछ ।”
प्रधानमन्त्री ओलीले ध्यानको विधिलाई पूर्वजहरुले हजारौं वर्ष अगाडि शुभबद्ध गरेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “हाम्रा पूर्वजहरुले धेरै हजार वर्ष अगाडि आविष्कार गरेका हुन् । यसलाई शुत्रबद्ध गरेका हुन् । अघि नै गुरुहरुले भनि पनि सकनुभयो । यो ध्यान वास्तवमा समस्याको समाधान हो । जब मान्छे समस्यामा पर्छ अनि उसले यसा सोच्न थाल्छ । एकाग्रताका साथ सोचन थाल्छ । एकाग्रताका साथ सोच्नु ध्यान हो ।”
प्रधानमन्त्री ओलीले मुलुकलाई निरोगी नेपाल बनाउने सरकारको सङ्कल्प पूरा गर्न पनि ध्यान र योगलाई नियमितता दिन आवश्यक भएको बताउनुभयो ।

“नियमित सही आहार बिहार गरेर हामीले आरोग्य जीवन बिताउनुपर्छ । सकभर बिरामी परेर उपचारका लागि अस्पताल जानु नपरोस् भन्ने सोच राख्नुपर्छ । स्वस्थ्य र शान्तिमय विश्व निर्माणमा हामी सबै लाग्नुपर्नेछ ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “सरकारका तर्फबाट ध्यान र योगका लागि गर्नुपर्ने काममा मेरो ध्यान पुगेको छ । स्वार्थीपन त्यागेर एकाग्रतामा ध्यान गर्नु हरेक समस्याको समाधानको उपाय पनि हो ।”
कार्यक्रममा ओशो तपोवनका स्वामी आनन्द अरुण, आर्ट अफ लिभिङ्का सन्तोष केडिया र जीवन विज्ञानका एलपी भानु शर्माले ध्यानका विभिन्न अभ्यास गराउनुभएको थियो ।