• १५ पुस २०८१, सोमबार

‘मुलुकमा विकासै भएन भन्ने भाष्य निर्माण नगरौं’

blog

काठमाडौं, पुस ६ गते । प्रतिनिधिसभा सदस्य दीपा शर्मा नेकपा (एमाले) को केन्द्रीय सदस्य हुनुहुन्छ । दैलेखमा जन्मेर बाँकेलाई कर्मभूमि बनाउनुभएकी सांसद शर्मा सशक्त महिला अभियन्ता पनि हुनुहुन्छ । 

एमालेबाट प्रतिनिधिसभाका लागि समानुपातिक सांसद रहनुभएकी शर्मा प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सदस्य पनि हुनुहुन्छ । सांसद भएको यो दुई वर्षे कार्यकालमा उहाँले जनताका भावना, विचार र आवश्यकतालाई सरकारसम्म पु¥याउने पुलको रुपमा जनप्रतिनिधिहरु रहने गरेको उहाँको बुझाइ छ । 

प्रतिनिधिसभा सदस्य (सांसद) को काम मूलतः कानुन निर्माण गर्ने भए पनि जनताको अपेक्षा विकास निर्माण र दैनन्दिन समस्या समाधानमा जनप्रतिनिधिको साथ खोज्नेगरेको उहाँको भनाइ छ । संसद जनताको समस्या पस्कने थलो भएको र जनताको समस्या समाधान गर्न ऐन कानुन निर्माण गर्ने निकाय भएको उहाँ बताउनुहुन्छ । 

दुई वर्षे अवधिमा प्रतिनिधिसभाबाट १७ वटा विधेयक पारित भएको बताउनुहुने सांसद शर्माले भन्नुभयो, “आवश्यक ऐन कानुन निर्माणको काम समयमा हुन सके विकासको काम पनि अघि बढ्छ । विविध कारणले आवश्यकताअनुसार सबै ऐन कानुन संसदबाट निर्माण हुन सकेको छैन । सरकार र सांसद सबैले यो कमजोरी स्वीकार्नुपर्छ ।”

जनताको समस्या समाधानका लागि नयाँ संविधानले ३१ वटा मौलिक हक सुनिश्चित गरे पनि त्यसको कार्यान्वयन हुन नसकेको उहाँको भनाइ छ । पर्याप्त ऐन कानुन निर्माण हुन नसक्दा मौलिक हक कार्यान्वयन हुन नसकेको उहाँ बताउनुहुन्छ । 


महिलामाथि हुने हिंसा सम्बन्धमा धारणा राख्दै उहाँले भन्नुभयो, “महिलामाथिको हिंसा पहिलेजस्तै छ, पहिले घटनाहरु कम बाहिर आउँथे, अहिले धेरै आउँछन् । त्यसैले पनि हिंसाको ग्राफ बढेको देखिएको हो । यद्यपि हिंसा अन्त्यका लागि महिला र पुरुष सबै जिम्मेवार भएर लाग्नुपर्छ । हिंसा अन्त्यका लागि ऐन कानुन निर्माणसँगै प्रबृत्ति बदल्नुपर्ने देखिन्छ ।”

राष्ट्रिय गौरवको आयोजना सिक्ता सिँचाइ आयोजनाको काम भइरहेको भए पनि बजेट अभावमा समयमा सम्पन्न हुन नसकेको बताउनुहुने सांसद शर्माले भन्नुभयो, “बाँकेको नौवस्ता औद्योगिक क्षेत्रलाई छिटोभन्दा छिटो विकास गरी सञ्चालनको तयारी भइरहेको छ । राप्ती नदी र मानखोलाको कटानले आक्रान्त यहाँका जनताको राहतका लागि तटबन्धन निर्माणका लागि आवश्यक बजेट व्यवस्था भइरहेको छ । बजेट पर्याप्त विनियोजन नहुँदा काम अलि ढिलो भएको हो ।”

प्रस्तुत छ सांसद दीपा शर्मासँग समसामयिक विषयमा केन्द्रित भएर गोरखापत्र अनलाइनका नि. सम्पादक लक्की चौधरी र प्राविधिक मनोजरत्न शाहीले गर्नुभएको कुराकानीः 

Author
लक्की चौधरी

उहाँ गोरखापत्र अनलाइनका निमित्त सम्पादक हुनुहुन्छ ।