मस्को, पुस ५ गते । रुसले पूर्वी युक्रेनको लुगान्स्क क्षेत्रका एक बासिन्दालाई ‘देशद्रोह’ को अभियोगमा शुक्रबार १६ वर्षको जेल सजाय सुनाएको मस्कोको सङ्घीय सुरक्षा सेवा (एफएसबी)ले जनाएको छ ।
मस्कोले युक्रेनका लागि जासुसी गरेको आरोप लगाउने व्यक्तिहरुलाई नियमितरुपमा भारी सजाय सुनाउँछ र रुस र कब्जा गरिएका क्षेत्रहरूमा युक्रेनीलाई लगातार कैँद पनि गर्दै आएको छ । नाम नखुलाइएका ती व्यक्तिलाई रुसको दक्षिणी शहर रोस्तोभ-अन-डोनको एक सैनिक अदालतले सजाय सुनाएको हो ।
अभियोजकहरुले उहाँले रुसी सशस्त्र बलबारे किएभको सुरक्षा सेवालाई जानकारी दिएको बताउनुभएको छ । रुसी समाचार निकायहरुले उहाँलाई उदृत गर्दै भनेका छन्, ’ती व्यक्ति राज्यविरुद्धको राजद्रोह गरेको अभियोगमा दोषी ठहरिएका छन्, उनी आतङ्कवादी गतिविधिका साथै विस्फोटक पदार्थको अवैध भण्डारण र ओसारपसारमा सहयोगी थिए ।
अदालतले उनलाई उच्च सुरक्षा भएको ‘दण्ड कोलोनी’मा सजाय भुक्तान गराउन आदेश दिएको छ । तास समाचार एजेन्सीले प्रकाशित एक भिडियामो एफएसबीका अधिकारीहरुले कार रोकेर एक व्यक्तिलाई घिसारेर भुइँमा फ्याँकेका थिए, त्यसपछि उनलाई हत्कडी लगाएर सुरक्षा बलको स्थानीय मुख्यालयमा लगेका थिए ।
भिडियोमा अनुहार धमिलो भएका एक व्यक्तिले आफूलाई सन् २०१६ मा युक्रेनको एसबीयू सेक्युरिटी सर्भिसमा भर्ती गरिएको बताएका छन् । पक्राउ परेपछि रुसले एफएसबीले खिचेका स्वीकारोक्तिका भिडियो नियमितरुपमा सार्वजनिक गर्ने गरेको छ । मस्कोको युक्रेनविरुद्धको आक्रमण करिब तीन वर्षदेखि जारी छ । रासस/एएफपी