• ६ पुस २०८१, शनिबार

‘युक्रेनको राजधानीमा भयानक विस्फोट’

blog

किएभ (युक्रेन), पुस ५ गते । युक्रेनको राजधानी किएभमा शुक्रबार बिहान शृङ्खलाबद्ध विस्फोटको आवाज सुनिएको र शहरको केही भागमा धुवाँ उडिरहेको देखिएको एएफपीका स्थानीय कर्मचारीले बताएका छन् ।

युक्रेनको वायु सेनाले एक टेलिग्राम सन्देशमा ‘उत्तरबाट ब्यालेस्टिक क्षेप्यास्त्र’ आएको भनी चेतावनी दिएको छ। रूसले युक्रेनमा आक्रमण गरेको लगभग तीन वर्षपछि राजधानी किएभमा भयानक आवाजसहित विस्फोट भएको हो । यसबाट के कति क्षति भयो समाचार तयार पार्दासम्म थाहा हुन सकेको छैन ।

अधिकारीहरूले दक्षिणी बन्दरगाह शहर खेरसनमा पनि क्षेप्यास्त्र आक्रमण भएको बताएका छन्, जहाँ एक व्यक्तिको मृत्यु भएको छ र छ जना घाइते भएका छन् ।

मस्कोको सेना रुससँग सीमा जोडिएको खार्किभ क्षेत्रमा अघि बढिरहेको छ र युद्धको पहिलो वर्षमा कब्जा गरिएको कुपियान्स्क शहरलाई पुनः कब्जा गर्ने लक्ष्य राखेको छ ।

युक्रेनले सेप्टेम्बर २०२२ मा यसलाई पुनः कब्जामा लिएको थियो जसमा युक्रेनी सेनाले खार्किभ क्षेत्रको ठूलो भूभाग पुनः प्राप्त गरेको थियो ।

यसैबिच, रूसी अधिकारीहरूले किएभमा भएको पछिल्लो आक्रमण पश्चिमी राष्ट्रद्वारा युक्रेनलाई सहयोग गरिएका र रूसविरूद्धको आक्रमणमा प्रयोग गरिएको बदलामा भएको दाबी गरेका छन् । रासस/एएफपी