राजकुमार दिक्पाल
अहिले जुन थुम्कोमा गोरखा दरबार छ, कुनै समय त्यही ठाउँमा बसेर मगर राजाले शासन चलाउँथे । त्यहाँबाट मगर राजालाई विस्थापित गरेर गोरखामा शाहवंशको शासन सुरु भएको हो ।
गोरखाकोटमा बसेर शासन चलाउने तत्कालीन राजा खड्का मगरभित्र पनि सामरी थरका मगर थिए (योगी नरहरिनाथ, श्रीमगर गुरुङ वंशावली–२०७८: ९) ।
खड्का मगर राजा र द्रव्य शाहबीच घमासान युद्ध भयो । खड्का मगर राजा मारिए । त्यसपछि द्रव्य शाह त्यहाँका राजा भएका हुन् । उनले गोरखामा शाहवंशको राज्य स्थापित गरे । गोरखाली राजखलक काश्यप गोत्रका ठकुरी शाह हुन् (बाबुराम आचार्य, पूर्णिमा’ पूर्णाङ्क २७, असोज २०२९ः१६३) ।
लमजुङबाट आफ्ना दाजु राजा नरहरि शाहसँग छुट्टिएर अर्को राज्य निर्माण गरी राजा बन्न अगाडि बढेका राजा यशोब्रह्म शाहका कान्छा छोरा द्रव्य शाहले लिगलिगकोेटको दौड प्रतियोगितामा भाग लिने बहाना बनाएर क्षेत्रीय कुलका गणेश पाँडेको सहयोगमा लिगलिगको तल्लोकोटमा आफ्नो अधिकार स्थापित गराए । यसको केही समयपछि रागिनास–कोट उनको अधिकारमा आएपछि उनको आँखा गोरखा–कोटतिर प¥यो । उनले गोरखा–कोटमाथि आक्रमण गरे । १५ दिनसम्म गोरखाका राजा खड्का मगरसँग घमासान युद्ध भयो । उनले खड्का राजालाई आत्मसमर्पण गराउने हरसम्भव कोसिस गरे तापनि खड्का राजा गलेनन् । अन्ततः खड्का राजामाथि स्वयं द्रव्य शाहले तरबार प्रहार गरी त्यहाँ खड्का मगर शासनको अन्त्य गराए (बाबुराम आचार्य, नेपालको सङ्क्षिप्त वृत्तान्त’– २०६३:९१–९२) ।
खड्का मगर राजालाई तरबार प्रहार गरी उनको शासन सत्ता समाप्त गरेर द्रव्य शाह वि.सं. १६१६ भदौ २५ गते गोरखाको राजगद्दीमा बसे (दिनेशराज पन्त, गोरखाको इतिहास, पहिलो भाग–२०४१:५३) ।
मगर राजाको शासन अन्त्य गरे पनि द्रव्य शाहले एक जना मगरलाई आफ्नो भारदारीमा राखेका थिए । उनको भारदारीमा नारायणदास अज्र्याललाई राजगुरु, सर्वेश्वर खनाललाई राजपुरोहित, गणेश पाँडेलाई मन्त्री वा काजी, भगीरथ पन्थलाई सेनापति वा सरदार, केशव बोहरालाई भूमि विभाग र गङ्गाराम राना मगरलाई न्याय विभागका अधिकारी बनाएका थिए (बाबुराम आचार्य, श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सङ्क्षिप्त जीवनी’–२०६१:७) ।
कोतपर्वमा ज्यान गुमाउने पहिलो भारदार थिए, जनरल अभिमानसिंह राना । गोरखा राज्यमा द्रव्य शाहले शाहवंशको जग बसाएपछि भारदारीमा अनिवार्य रूपमा मगरलाई समेट्ने प्रचलनअनुसार नै अभिमानसिंह राना सत्ताको उच्च पदमा पुगेका थिए ।
गोरखामा शाहवंशको राज्य सुरु भएपछि गङ्गाराम राजदरबारको भारदारीमा पर्ने पहिलो मगर भारदार हुन् ।
पृथ्वीनारायण शाहले पनि मगर को महìव दर्शाएका छन् । उनले आफूलाई “मगरातको राजा हुँ” भनेका छन् । उनले आफ्नो उपदेशमा ‘नेपालको किताप हेर्दा तुर्काना मंग्रात मुग्लाना हुन्या रहेछ र तुरकाना अघि भैगयेछ. मगरात्को राजा मै हुं’ भनेका छन् (बाबुराम आचार्य, योगी नरहरिनाथ, बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहको दिव्य–उपदेश’– २०६१:५९) । पृथ्वीनारायण शाहले आफ्नो उपदेशमा सुरुमै सुरथसिंह रानाको नाम लिएका छन् । सुरथसिंह पृथ्वीनारायण शाहका ददा (बाल्यावस्थामा हेरचाह गर्ने व्यक्ति) थिए (आचार्य र योगी, उहीः२९) ।
गोरखामा शाहवंशको राज्य सुरु भएपछि अनिवार्य रूपमा मगरलाई भारदारीमा राख्ने चलन लामो समयसम्म चल्यो । तीमध्ये गङ्गाराम राना, विराज थापा मगर (प्रथम), रामकृष्ण थापा मगर, विराज थापा मगर (दोस्रो), जयन्त राना मगर, देवु राना मगर, सर्वजित राना मगर, बन्धु राना मगर, देवदत्त थापा मगर, अभिमानसिंह राना मगरलगायत उल्लेख्य छन् । काजी पदवीसहित महìवपूर्ण जिम्मेवारी दिइएको इतिहास पढ्न पाइन्छ । यस लेखमा अभिमानसिंह राना मगरका बारेमा चर्चा गरिन्छ । राजदरबारले भारदारीमा मगरलाई समेट्ने परम्पराअनुसार अभिमानसिंह राना अन्तिम मगर काजी बन्न पुगे । उनी कोतपर्वमा मारिए । नेपालमा भीमसेन थापाको समयदेखि सेनाका उपल्ला दर्जाका सैनिक अधिकारीलाई जर्नेल, कर्णेलको दर्जा दिने चलन चल्यो । यही चलनअनुसार जर्नेल पाउने पहिलो मगर बन्न पुगे, अभिमानसिंह राना ।
नेपालको इतिहासमा कोतपर्व एउटा कुख्यात घटनाका रूपमा चर्चित छ । वि.सं. १९०३ भदौ ३१ गते मच्चिएको कोतपर्वपछि जङ्गबहादुर सत्ताको शिखरमा पुगे ।
माथवरसिंह थापाको हत्यापछि वि.सं. १९०२ साउनमा चौतरिया फत्तेजङ्ग शाहलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइयो । त्यसबेला उनलाई पाल्पा, गोरखा र डोटी गरी तीन जिल्लाको जङ्गी निजामतीका साथै वैदेशिक सम्बन्धमा लेखापढी गर्ने जिम्मेवारी दिइयो । जनरल गगनसिंहलाई सात पल्टनको अख्तियारीका साथ सिलखाना, बारुदखाना र तोपखानाको अख्तियारी दिइयो । त्यसबेला जनरल अभिमानसिंह रानालाई तीन पल्टनको अख्तियारीका साथ पूर्वपश्चिम र तराई मधेसको सम्पूर्ण रेखदेख गर्ने जिम्मेवारी दिइएको थियो । जङ्गबहादुरलाई पनि तीन पल्टनको जिम्मेवारीसहित त्यसबेला जनरल दिएको थियो (पुरुषोत्तमशमशेर जबरा, श्री ३ हरूको तथ्य वृत्तान्त’– २०६५ : २४–२५) ।
पुरातìव विभागको मुखपत्र ‘प्राचीन नेपाल’को सङ्ख्या २५ (कात्तिक २०३०:१५)मा विदेश भागेका काजी अभिमानसिंह राना आइपुगी उनले बडा कौशी लिएर वि.सं. १९०२ आश्विन वदी ७ रोज २ मा पल्टनको जिम्मेवारीसहित जनरल पाए भन्ने उल्लेख भएकाले तत्कालीन राजनीतिक घटनाक्रममा अभिमानसिंह राना केही समय विदेश भाग्न बाध्य हुनु परेको भन्ने बुझ्न सकिन्छ ।
दरबारमा अनेकौँ शक्तिसङ्घर्ष र खेलचुक्ली चलिरहेकै थियो । वि.सं. १९०३ भदौ ३१ गते बेलुका ढोकाटोलस्थित आफ्नै घरको पूजाकोठामा पूजा गरिरहेको बेला अज्ञात व्यक्तिले छानातिरबाट प्रहार गरेको अचुक गोलीबाट दरबारका तत्कालीन सर्वशक्तिमान, महारानीका प्रिय जर्नेल गगनसिंहको रहस्यमय हत्या भयो । घटना हुनासाथ उनका छोरा कप्तान उजीरसिंह (कतै वजीरसिंह)ले हनुमानढोका दरबार पुगी महारानीसमक्ष घटनाबारे जाहेर गरे ।
घटनाबारे जानकारी पाएपछि महारानी राज्यलक्ष्मी क्रोधाग्निले जलिन् । महारानी नाङ्गो तरबार लिएर निस्किन् । उनले यो लास उठाउन हुँदैन । मुन्डको मुन्ड नजोरी मान्दिनँ । बिनाकसुर बिनाहुकुम मेरा वजीरलाई भारदारको खेलले मारे । अब श्री ५ महाराज बक्साई निसाव गर्छौं भन्दै ठूलो आक्रोश व्यक्त गरिन् (प्राचीन नेपाल, सङ्ख्या २५–कात्तिक २०३०:१६) ।
महारानीले मृतकको दाहसंस्कार गर्न राज्यकोषबाट एक लाख रुपियाँ पनि प्रदान गरिन् । विधवालाई सति जानबाट रोकिन् (पद्मजङ्ग राणा, जङ्गबहादुरको जीवनयात्रा’– २०७४:६५) ।
महारानीले विगुल फुकाएर तत्कालै भारदारलाई कचहरीका लागि खबर गराइन् । गगनसिंहको हत्यारा पत्ता लगाउन कोतमा कचहरी बस्ने भयो । सबैभन्दा पहिले जङ्गबहादुर आफ्ना तैनाथीका पल्टन लिएर आइपुगे । क्रमशः अभिमानसिंह राना, फत्तेजङ्गहरू पनि आइपुगे । महारानीले अभिमानसिंह रानालाई हत्याको दोषी भन्दै सबैभन्दा पहिले वीरकेशर पाँडेलाई काट्न हुकुम दिइन् तर हत्याका लागि राजाबाट कायलनामा लालमोहर नआएकाले राना महारानीको हुकुम कार्यान्वयन गर्नबाट हच्किए । त्यहाँको भयत्रासपूर्ण वातावरण देखेर अभिमानसिंह राना आफू बच्न आफ्ना मातहतका फौजी जवानसँग मिसिन के आएका थिए, उनलाई पाले जवानले रोकिहाल्यो । जङ्गबहादुरको इशारा पाएका अर्का फौजी जवान युद्धवीर अधिकारीले अभिमानसिंहको छातीमा सङ्गीन प्रहार गरे । अभिमानसिंह ढल्दै गर्दा उनले हत्याको रहस्योद्घाटन गर्दै ‘गगनसिंहलाई मार्ने जङ्गे हो’’भनी चिच्याएका थिए (ज्ञानमणि नेपाल, नेपालको महाभारत’– २०५२:२३४–२३५) ।
अझ जङ्गबहादुरका साहिँला छोरा पद्मजङ्ग राणा (उहीः६९)ले त अभिमानसिंह रानाले गगनसिंहको हत्यारा जङ्गबहादुर हो भनी रगतले भित्तामा लेखेको उल्लेख गरेका छन् । कोतपर्वमा जनरल अभिमानसिंह राना मारिए । त्यसबेला भागेर ज्यान बचाउनेहरूमा कप्तान कुलचन्द्र राना र कप्तान रत्नसिंह रानाजस्ता मगर पनि थिए (नेपाल, उहीः२५९) । यसैगरी कोतपर्वमा जङ्गबहादुरलाई साथ दिने मगर पनि थिए । कोतपर्वपछि तीमध्ये रामु आले, भिमल आलेले सिपाहीबाट कप्तान र बुद्धिबल राना मगरले सुवेदार पद पाएका थिए (जबरा, उहीः३९) ।
कोतपर्वमा ज्यान गुमाउने पहिलो भारदार थिए, जनरल अभिमानसिंह राना । गोरखा राज्यमा द्रव्य शाहले शाहवंशको जग बसाएपछि भारदारीमा अनिवार्य रूपमा मगरलाई समेट्ने प्रचलनअनुसार नै अभिमानसिंह राना सत्ताको उच्च पदमा पुगेका थिए । जसरी कोतपर्वसँगै राणाशासनको सुरुवात भयो, उसैगरी अभिमानसिंह रानाको हत्यासँगै द्रव्य शाहको पालादेखि भारदारीमा मगरलाई अनिवार्य रूपमा समेट्ने परम्पराको पनि अन्त्य भयो ।
उनलाई एक ऐतिहासिक व्यक्तिका रूपमा छाउनीस्थित सैनिक सङ्ग्रहालयमा उनको तस्बिर राखिएको छ । उनलाई नेपालका कमान्डर इन चिफ (प्रधानसेनापति)मध्ये एक भनी माथवरसिंह थापापछि उनको तस्बिर राखिएको छ । उनको कार्यकाल वि.सं. १९०२–१९०३ उल्लेख गरिएको छ ।
ऐतिहासिक पत्र
अभिमानसिंह रानाको जन्ममिति खुल्ने कुनै लिखित हालसम्म यो लेखकले फेला पार्न सकेको छैन तर उनको नाम उल्लेख भएको ऐतिहासिक पत्र भने पाइएको छ । इतिहासकार भगिराज इङ्नामले यो लेखकलाई उपलब्ध गराएको एक लालमोहरमा उनको पद काजी रहेको देखा पर्छ । कोतपर्व भएको छ वर्षअघि उनले जिम्मा पाएको एक लालमोहरमा यस्तो बेहोरा उल्लेख गरिएको छ–
स्वस्तिश्रीमन्महाराजाधिराजकस्यरुक्का
आगे–––पल्टनका जागीर षेत षुवाकमा उन्या मोहि ठेकदार मोहि नाइक्याप्रति गौडामा पल्टन्लाई अघी अघी पनी ...ले कमायाको षेत अनुसार सापट र घ्यु षानी दिदा रह्याछौ एसपाला नि काजी अभिमानसिंह राना मार्फत सापट र घ्यु षानी उठाउन पल्टनका हुद्दा सिपाही आउछन् अघी अघी सापट घ्यु षानी दीआ बमोजिम सापट र घ्यु षानी दिन्या काम गर जसले झेलखेल गरि सापट र घ्यु षानी नदी गौडामा जान्या पल्टनलाई अट्काउनामा पसला सो अप्सरिया हौला इति संवत् १८९७ साल मिति फागुण वदि १० रोज ३ शुभम् ।