तिलाचन पाण्डे
तम्घास (गुल्मी), जेठ २६ गते । निर्माण व्यवसायीले कामको जिम्मा लिने तर समयमै काम सम्पन्न नगरी आलटाल गर्ने प्रवृत्ति कायमै छ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर हर्मिचौरदेखि बलेवा सडकखण्डको ४५ किलोमिटर खण्डको कालोपत्रे गर्ने काम भने कालिका कन्स्ट्रक्सनले सम्झौताभन्दा छ महिनाअगावै सम्पन्न गरेको छ ।
कालीगण्डकी कोरिडोर गैंडाकोट–राम्दी–मालढुङ्गा सडक योजना कार्यालयका अनुसार कुल तीन अर्ब ३३ करोड रुपियाँको लागतमा २०७९ मङ्सिर २६ गते सम्झौता भई २०८२ मङ्सिर २५ गते सम्पन्न गर्नुपर्ने उल्लेख थियो । निर्माण व्यवसायीले छ महिनाअगावै सम्झौता अनुसारको काम सम्पन्न गरेकोमा गुल्मी र बागलुङका स्थानीयमा खुसी छाएको छ । गुल्मी कालीगण्डकी गाउँपालिका अर्वेनीका शोभाखर न्यौपानेका अनुसार निर्माण व्यवसायीको सुरुदेखिकै कामले आशा पलाएको र अहिले आशा पनि पूरा भएको छ । कालिका कन्स्ट्रक्सनका परियोजना व्यवस्थापक महेश सुवेदीले अभावका बिच पनि काम सम्पन्न गर्न सफल भएको बताउनुभयो । उहाँले करिब ६५ करोड रुपियाँभन्दा बढी भुक्तानी लिन बाँकी रहँदा पनि राष्ट्रिय गौरवको योजना सम्पन्न गर्नमा आफूहरू सफल भएकामा खुसी व्यक्त गर्नुभयो । स्थानीय र जनप्रतिनिधिले बाटोको महत्व बुझेको र उहाँहरूको साथसहयोगले नै समयअगावै काम सम्पन्न गर्नमा थप टेवा पुगेको उहाँको भनाइ छ । हालसम्म भएका निर्माणमा यस क्षेत्रका व्यक्तित्वका साथ र सहयोग अन्य स्थानकोभन्दा अनुकरणीय रहेको उहाँको अनुभव छ ।
कालीगण्डकी कोरिडोर गैँडाकोट–राम्दी–मालढुङ्गा सडक योजना कार्यालयका प्रमुख कल्पना अधिकारीले निर्माण व्यवसायीले सम्झौताको समय अगावै काम सम्पन्न गरेकाले सकारात्मक सन्देश प्रवाह गरेको बताउनुभयो । उहाँले देशका धेरै योजनामा पटक पटक म्याद थप गर्दा पनि सम्पन्न हुन नसकेका उदाहरण प्रशस्तै रहँदै गर्दा निर्माण व्यवसायीले यहाँ उदाहरणीय कार्य गरेको बताउनुभयो । यसबिचमा कार्यालय र निर्माण व्यवसायीसँग सुमधुर सम्बन्ध कायम हुनु र बजेट अभावका बिच पनि निर्माण व्यवसायीको कामप्रति लगाव भएकै कारण परिणाम आउन सफल भएको उहाँको दाबी छ । उहाँले निर्माणका क्रममा स्थानीयका ससाना मागलाई पनि सम्बोधन गर्नका लागि आफूहरू सफल भएको बताउनुभयो ।