राधा लुइटेल
फिदिम, पुस ३ गते। जिल्ला समन्वय समिति पाँचथर परिषरमा निर्मित ब्याडमिन्टन हल पुनःनिर्माण सकिएको २० महिनापछि उद्घाटन गरिएको छ। एक करोड १७ लाख १७ हजार दुई सय ३४ रुपियाँमा निर्माण गरिएको भवन मंगलबार उद्घाटन भएको हो।
२०५८ सालमा तत्कालीन जिल्ला विकास समिति पाँचथरले निर्माण गरेको भवन २०७६ सालदेखि पुनः निर्माण गर्न थालिएको थियो। आर्थिक वर्ष २०७५।०७६ मा अर्थ मन्त्रालयले स्रोत सुनिश्चिचता गरेपछि तत्कालीन एक नम्बर प्रदेश अन्तरगत सहरी विकास इलामले ठेक्का लगाएको थियो। निर्माण व्यवसायीले २०८० साल वैशाख १५ गते नै काम सकेर सञ्चालनमा ल्याइए पनि उद्घाटन भएको थिएन।
भवनमा दुईवटा कोर्ट निर्माण गरिएको छ। भवनको उद्घाटन संघीय सांसद वसन्तकुमार नेम्वाङले गर्नुभएको हो। नेम्वाङ पाँचथरबाट निर्वाचित एकमात्र प्रतिनिधि सभा सदस्य हुनुहुन्छ। भवन उद्घाटनका क्रममा नेम्वाङ पटक पटक भावुक बन्नुभयो।