गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर २९ गते । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कमजोर दृश्य क्षमता (भिजिबिलिटी) मा पनि उडान सञ्चालन गर्न भू–उपग्रहमा आधारित प्रविधि (आरएनपी एआर) जडानको प्रक्रिया सुरु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार बाक्लो हुस्सु र कुहिरोका कारण जाडोयाममा हुने कमजोर भिजिबिलिटीमा पनि उडान र अवतरण नियमित गराउन उक्त प्रविधि जडान प्रक्रिया सुरु गरिएको हो ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भन्नुभयो, “हुस्सु र कुहिरोका कारण भैरहवामा अवरोध हुँदै आएको उडान अवतरणलाई नियमित राख्न आरएनपी एआर जडानको प्रक्रिया सुरु भएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मापदण्ड अनुसार आरएनपी एआर सञ्चालनमा ल्याउन बिहीबार विमानस्थलको सम्पूर्ण विवरण एरोनटिकल इन्फर्मेसन पब्लिकेसन (एआइपी) मा प्रकाशित गरिएको छ ।”
उक्त प्रविधि जडान प्रक्रियाका लागि सार्वजनिक गरिएको एआइपी अनुसार (४२ दिनभित्र) माघ १० गतेदेखि भैरहवामा भू–उपग्रहमा आधारित रहेर जहाज उडान अवतरण हुने उहाँले बताउनुभयो ।
हाल भैरहवामा उडान अवतरणका लागि एक हजार आठ सय मिटर भिजिबिलिटी रहेकोमा यो प्रविधि जडान भएपछि साना जहाजलाई आठ सय मिटर र ठुलो जहाजलाई उडान अवतरण गर्न नौ सय मिटिर (आधा भिजिबिलिटी) भए पुग्ने उहाँको भनाइ छ । आरएनपी एआर जडानबारे एआइपीमा सार्वजनिक भएपछि वायु सेवा कम्पनीहरूले आफूलाई त्यही अनुसार तयारी गर्ने र जहाजको ककपिट र चालक दलले पनि त्यही अनुसारको प्रक्रिया सुरु गर्ने उहाँले बताउनुभयो ।
हाल भैरहवामा जडान भएर सञ्चालनमा आउन नसकेको प्रविधिमा आधारित प्रणाली (इन्स्टु«मेन्टल ल्यान्डिङ सिस्टम– आइएलएस क्याट टु) को विकल्पमा आरएनपी एआर प्रविधि जडान प्रक्रिया सुरु गरिएको हो । विमानस्थलमा खराब मौसम र रातमा पनि अवतरण गर्न मार्गदर्शन गर्ने अत्याधुनिक उपकरण आइएलएस जडान गरिए पनि सञ्चालनमा आउन सकेको छैन ।
जसका कारण हाल त्यहाँ परम्परागत प्रविधि (भिओआर डिएमई) मा आधारित उडान भइरहेका छन् । सेटेलाइट बेस नेभिगेसनमा आधारित आरएनपी एआर प्रविधि सञ्चालनमा आएपछि भने त्यहाँको उडान अवतरण थप सहज र सुरक्षित हुने उहाँको भनाइ छ ।
आरएनपी एआर नेभिगेसन प्रणालीले जहाजलाई खराब मौसममा सुरक्षित अवतरणका लागि मद्दत गर्ने छ । यो प्रणाली कार्यान्वयनमा ल्याउन विमान चालकलाई तालिमदेखि विमानस्थल र वायु सेवाको ककपिटसम्मको प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।
प्राधिकरणले करिब एक अर्ब रुपियाँ खर्च गरेर जडान गरेको आइएलएसको फ्रिक्वेन्सी भारतको एरोबेसमा परेपछि भारतले सञ्चालन गर्न अनुमति नदिएका कारण त्यसको विकल्पमा प्राधिकरणले आरएनपी एआर प्रविधि जडान गर्न लागेको हो । हाल यो प्रविधि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालनमा रहेको छ । जसको मद्दतले एक हजार एक सय मिटर भिजिबिलिटीसम्म यहाँ जहाज अवतरण भइरहेका छन् ।