अर्जुन काफ्ले
स्याङ्जा, मङ्सिर २८ गते । अर्जुनचौपारी गाउँपालिकाले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि दरौखोलामा विभिन्न जातका ८० हजार माछाका भुरा छाडिएको छ ।
नेपाल विद्युत् प्राधिकरण काली गण्डकी ए जलविद्युत् केन्द्र कालीगण्डकी मत्स्य ह्याचरी बेल्टारी स्याङ्जाको सहयोगमा ठेड, गर्जि र हाडे जातका माछाका भुरा दरौखोला केवरेखोला र दिर्जे खोलामा छाडिएको हो ।
माछापालनबाट आर्थिक आर्जनमा जोड्ने पालिकाको नीति तथा कार्यक्रम अनुसार प्रत्येक वर्ष खोलामा माछाका भुरा छाड्दै आएको अध्यक्ष प्रकाश तिवारीले बताउनुभयो ।
विभिन्न प्रजातिका माछाका भुराहरु प्रत्येक वर्ष छोडिने र खोलालाई पालिकाको आर्जनका माध्यम बनाउने तिवारीले बताउनुभयो ।
धेरै ठाउँमा खोलालाई माछामार्फत आय आर्जनमा जोडिएको र विज्ञसगँको छलफल गरेर खोलामा माछाका भुरा हालेको बताउनुभयो । पालिकाले खोलाको चार किलोमिटर क्षेत्रमा छ ठाउँमा भुरा हालेको हो ।
खोलामा माछाका भुरा हालेसँगै पालिकाले कुनै पनि तवरले खोलाका माछा मार्ने कार्य निषेध गरिएको प्रमुख प्रशासकीय अधिकृत कौशल पाण्डेले बताउनुभयो ।
परम्परागत रुपले माछा मारी जीविकोपार्जन गरिरहेका समुदाय तथा व्यक्तिहरुले समेत माछा मार्न नपाउने र दैनिक जीविकोपार्जनमा कठिनाइ उत्पन्न हुने अवस्था आइपरेमा पालिकाले राहत उपलब्ध गराउनेछ ।
पालिकाले जिल्ला प्रशासन कार्यालय, भीरकोट नगरपालिकाको कार्यालय र अर्जुनचौपारी प्रहरी चौकीलाई माछा मार्न निषेध गरिएको विषयमा जानकारी गराउँदै आवश्यक सहयोगका लागि आग्रह गरेको छ ।
पालिकाको आग्रह र निर्देशनविपरीत माछा मारेको भेटिएमा वा खबर पाइएमा कानुनबमोजिम कारबाही गरिने पालिकाले जनाएको छ ।