• ३० वैशाख २०८१, आइतबार

समाइराको तेस्रोलिङ्गीदेखि डान्सिङ् स्टारसम्मको यात्रा

blog

तेस्रोलिङ्गी महिला समाइरा श्रेष्ठ ।

काठमाडौं, जेठ ६ गते । तेस्रोलिङ्गी महिलाहरुलाई राम्रो नाच्ने विशेष वरदान भगवानबाट नै पाएको रे भन्ने सुनेकी समाइरालाई सानैदेखि नाच्ने ठूलो रहर थियो । काठमाडौंमा जन्मिएकी समाइरा बच्चा बेलादेखि नै आफू केटा जस्तै देखिएपनि स्वभाव सबै केटीको रहेको बताउनुहुन्छ । 

समाइराको शरीर केटाको भएपनि उहाँको व्यवहार, बोल्ने शैली र रहर केटीको जस्तै थियो । सानैदेखि इन्टरनेश्नल डान्सिङ रियालिटि सो मा आफू पनि जान पाए हुन्थ्यो भन्ने सपना बुन्दै उहाँ केटी मान्छे जस्तै नाच्ने गर्नुहुन्थ्यो । तर हुर्किदै जाँदा घरको काम र पढाईमा दिनुपर्ने समयले नाचमा समय दिन सक्नुभएन । 

राजनीतिदेखि डान्सिङ् स्टारसम्मको यात्रा तय गर्नुभएका समाइरा श्रेष्ठ आफूमा पहिलेभन्दा धेरै फरकपन महसुस गर्नुहुन्छ । श्रेष्ठ अहिले २२ वर्षकी हुनुभयो । उहाँ अरु जस्तै साधारण मान्छे भएपनि समाजले उहाँलाई सामान्य मान्छेको रुपमा स्वीकार गर्न नसकेको उहाँको भनाइ छ । कारण हो हेर्दा उहाँ केटा जस्तै देखिन्छिन् तर उहाँको स्वभाव भने केटीको जस्तै । 


'डान्सिङ् स्टार सो' को सदस्य हुन पाउँदा आफूमाथि आफैंलाई गर्व भएको उहाँ बताउनुहुन्छ । “डान्सिङ् स्टार नेपालको टप ९ सम्मको यात्रा सजिलो थिएन,” उहाँ भन्नुहुन्छ, “मैले सोचेकोजानेको डान्स र डान्सिङ् स्टारमा सिकाइने डान्स एकदमै धेरै फरक रहेछ ।” डान्सिङ् स्टारमा आफ्नो कोरियोग्राफरको रुपमा उहाँले सञ्जय लामा पाउनुभएको छ । जसले उहाँलाई डान्सको विभिन्न फम्र्स सिकाएर डान्सिङ् टप ९ सम्म ल्याउन सफल हुनुभएको हो ।

श्रेष्ठलाई अहिलेसम्मको यात्रामा आफू नै दर्शकका लागि विजेता बनेको जस्तो लाग्छ । “खेलमा हार जित सबैको हुन्छ, यदि जिते भने म मेरो समुदायका लागि प्रेरणाको स्रोत बन्नेछु,” उहाँ भन्नुहुन्छ, “मेरो जित हाम्रो समुदायको लागि एकदमै ठूलो हुनेछ ।” “बच्चाबच्चाले समाइरा जस्तो बन्न चाहन्छु भनोस् भन्ने मैले सपना देखेको छु । म भविष्यमा 'राजनीतिक कलाकार' बनेर आफ्नो समुदायको लागि जीवन दिन चाहन्छु,” श्रेष्ठले भन्नुभयो ।

भिडियो तथा सम्पादन : मनोजरत्न शाही/केशव गुरुङ