• २७ मंसिर २०८१, बिहिबार

चिया परीक्षण तथा अनुसन्धान केन्द्र उद्घाटन

blog

चिया परीक्षण, प्रवद्र्धन तथा अनुसन्धान केन्द्रको उद्घाटन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कुमार कार्की । तस्बिर : प्रेम अधिकारी

प्रेम अधिकारी 

पशुपतिनगर (इलाम) मङ्सिर २७ गते । इलामको कन्याममा निर्माण गरिएको नेपालकै पहिलो चिया परीक्षण, प्रवर्द्धन तथा अनुसन्धान केन्द्रको उद्घाटन गरिएको छ । चियाको राजधानी मानिने इलामको सूर्योदय नगरपालिकास्थित कन्याम चियाबगान भित्र निर्माण गरिएको चिया परीक्षण, प्रवर्द्धन तथा अनुसन्धान केन्द्रको कोशी प्रदेशका मुख्य मन्त्री हिकमत कुमार कार्कीले बिहीबार एक कार्यक्रमकाबिच उद्घाटन गर्नुभएको हो । 

कोशी प्रदेश सरकार र सूर्योदय नगरपालिकाले आर्थिक वर्ष २०७७ मा सुरु गरेको होटल, सेमिनार हल, क्याफे सहितको चिया परीक्षण केन्द्र २१ करोड ६७ लाख नौ हजार पाँच सय २६ रुपियाँको लगानीमा आर्थिक वर्ष २०८०-०८१ मा सम्पन्न भई उद्घाटन गरिएको सूर्योदय नगरपालिकाका इन्जिनियर दिपेश आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रमा चिया अनुसन्धानका मेसिन ल्याउन बाँकी छ । 

केन्द्रको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले उक्त चिया परीक्षण केन्द्र कोशी प्रदेश सरकारकै गौरवको आयोजना भएको बताउनुभयो । उहाँले चियाको बजारीकरणका लागि उक्त केन्द्र कोसेढुंगा साबित हुने बताउनुभयो । मुख्य मन्त्री कार्कीले भन्नुभयो, ‘चियामा चौतर्फी समस्या आइरहेको बेला निर्माण भई सञ्चालन भएको केन्द्रले विदेशी वायर ल्याएर सोझै चिया बिक्री गर्न सक्छ।’

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक डा. दीपक खनालले परीक्षण केन्द्र सञ्चालनका लागि बोर्डले प्राविधिक सहयोग गर्ने बताउनुभयो । उहाँले भारतले नेपाली चिया रोक्ने काम पटक-पटक गर्दा नेपाली चियाको बजार अन्योलमा परेपछि चाइनामा चियाको बजार खोज्ने काम भइरहेको जानकारी दिनुभयो । ‘हामी भारतको मात्र भर पर्नु हुन्न, गुणस्तर सुधारेर विश्व बजारमा नेपाली चिया लैजानु पर्छ,’ निर्देशक खनालले भन्नुभयो । 

सूर्योदय नगरपालिकालाई चियाको राजधानीको रूपमा लिने गरिन्छ । देशमै सबैभन्दा बढी अर्थोडक्स चिया उत्पादन गर्दै आएको नगरमा चिया परीक्षण केन्द्र निर्माणले व्यवसायीलाई उत्साही बनाएको चिया उद्योगी उदय चापागाईँले जानकारी दिनुभयो । सूर्योदय नगरपालिकाका नगर प्रमुख रण बहादुर राईले चिया परीक्षण केन्द्र निर्माणले चिया क्षेत्रका समस्या समाधान गर्न सहज हुने बताउनुभयो । उहाँले विश्व भरका वायर आएर अव कन्याममै चियाको अनुसन्धान, स्वाद लिने र खरिद गर्नसक्ने बताउनुभयो । 

उक्त कार्यक्रमको अवसरमा चिया उद्योगी दीपक बास्कोटा, पुनम बान्तवा, उदय चापागाईँ तारनाथ शर्मा, समीर श्रेष्ठ र चिया किसान मनकुमार लाप्चालाई सम्मान गरिएको छ । केन्द्र सञ्चालनका लागि नगरले कार्यविधि तयार गरेको छ । नगर प्रमुख राईले परीक्षण केन्द्र नगरअन्तर्गत नै हुने तर अनुसन्धानको काम भने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले गर्ने बताउनुभयो । उहाँले परीक्षण केन्द्र आवश्यक उपकरण जडान पश्चात् चाडै सञ्चालनमा आउने बताउनुभयो ।