• २७ मंसिर २०८१, बिहिबार

सीमा क्षेत्रबाट गाँजा बरामद

blog

भोक्राहानरसिंह गाउँपालिका–८, सोनियाहीस्थित सीमा इलाकाबाट सशस्त्र प्रहरी बलले बरामद गरेको प्रतिबन्धित गाँजा ।

सुनसरी समाचारदाता

इटहरी, मङ्सिर २७ गते । पूर्वी पहाडी जिल्ला धनकुटा, भोजपुर, उदयपुरलगायतबाट अवैध रूपमा गाँजा उत्पादन गरी सुनसरीको दक्षिणी भारतीय सीमावर्ती क्षेत्रबाट तस्करी गर्ने गिरोह सक्रिय भएपछि पछिल्लो समय सशस्त्र प्रहरी बलले सीमावर्ती क्षेत्रमा सक्रियता बढाएको छ । यस क्रममा सुनसरीको सीमावर्ती क्षेत्रका साथै विभिन्न स्थानबाट सशस्त्र प्रहरी बलले ठुलो परिमाणमा प्रतिबन्धित गाँजा बरामद गरेको छ । 

सुनसरीमा लागुऔषध नियन्त्रण अभियानमा सशस्त्र प्रहरी बलले उल्लेखनीय सक्रियता देखाएसँंगै चालु आर्थिक वर्ष २०८१/८२ को झन्डै पाँच महिनाको अवधिमा १५ क्विन्टलभन्दा बढी गाँजा बरामद भएको हो । गत आव २०८०/८१ मा एक हजार १०३ किलो गाँजा बरामद गरेको सशस्त्र प्रहरी बलले चालु आवको साउनदेखि हालसम्मको अवधिमा एक हजार ५०२ किलो गाँजा बरामद गरेको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीले जनाएको छ । 

खुला सीमाको प्रयोग गरेर गाँजा भारततर्फ लैजाने योजनालाई विफल बनाउन सशस्त्र प्रहरी बलले नियमित गस्ती, चेकजाँच र गोप्य सूचनाका आधारमा सव्रिmयता देखाएको सशस्त्र प्रहरी बल ४ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक समेनन्द वज्राचार्यले जानकारी दिनुभयो । 

सीमावर्ती क्षेत्रका साथै जिल्लाका विभिन्न स्थानबाट बरामद गरिएको गाँजा नेपाल प्रहरीलाई कानुनी कारबाहीका लागि बुझाइएको छ । भोव्रmाहानरसिंह गाउँपालिका–८, सोनियाहीस्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले सोमबार राति करिब ६४ किलोग्राम गाँजा सशस्त्र प्रहरीले बरामद गरेको थियो । नेपालबाट भारततर्फ लैजाँदै गरेको उल्लिखित परिमाणको गाँजा सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण सुनसरीमातहत बोर्डर आउट पोस्ट उल्टीले बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक वज्राचार्यले बताउनुभयो । यसअघि सोही गणमातहत बिओपी साहेबगंजले बर्जु गाउँपालिका–६ स्थित चिम्डी बजारबाट करिब ३५ किलोग्राम गाँजासहितको अटो नियन्त्रणमा लिएको थियो । पछिल्लो समय सशस्त्र प्रहरी बलको गस्ती बढाउने, गोप्य जानकारीका आधारमा कारबाही गर्ने, सीमा क्षेत्रमा निगरानी गर्ने जस्ता क्षेत्रमा भएको सुधारले ठुलो परिमाणमा गाँजा बरामद गरी तस्करी रोक्ने अभियानमा उल्लेखनीय सफलता मिलेको बताइएको छ । 

सशस्त्र प्रहरी बलको सव्रिmयतामा सुनसरीमा ठुलो परिमाणमा गाँजा बरामदका अतिरिक्त चालु आवको पाँच महिनाको अवधिमा ६१ ग्राम ब्राउन सुगर, १९ हजार ८५० ट्याबलेट ट्रमाडोलगायतका अन्य लागुऔषध पनि ठुलो मात्रामा बरामद गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । 

यस व्रmममा विगत पाँच महिनाको अवधिमा सशस्त्र प्रहरी बलको टोलीले गाँजालगायतका अन्य लागुऔषधको कारोबारी र तस्करीमा संलग्न १८ जनालाई पनि नियन्त्रणमा लिएको छ । त्यसै गरी लागुऔषधको ओसारपसारमा प्रयोग गरिएका तीन वटा कार, चार वटा मोटरसाइकल र एक अटो पनि नियन्त्रण गरिएको बताइएको छ । गत आवमा सुनसरीबाट सशस्त्र प्रहरी बलले अवैध लागुऔषध कारोबार र तस्करीमा संलग्न ४२ जना व्यक्तिलाई नियन्त्रणमा लिनुका साथै प्रतिबन्धित लागुऔषधको ओसारपसारमा प्रयोग गरिएका दुई थान एम्बुलेन्स, १२ वटा मोटरसाइकल र एक अटोसमेत नियन्त्रण गरेको थियो ।