• १० माघ २०८१, बिहिबार

भारतीय बजारमा पर्यटन प्रवद्र्धन

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ ६ गते । नेपाल पर्यटन बोर्डको नेतृत्वमा पर्यटनसँग सम्बन्धित संस्थाले साउथ एसियाज ट्राभल एन्ड टुरिजम एक्सचेन्ज (साटे)मा सहभागिता जनाएका छन् । बुधबारदेखि भारत नयाँदिल्लीको गे्रटर नोयडामा सञ्चालन भइरहेको यो कार्यक्रममा नेपाल वायुसेवा निगमसहित विभिन्न २१ वटा संस्थाको सहभागिता छ । कार्यक्रम शुक्रबारसम्म चल्नेछ ।

कोरोना महामारीले थलिएको पर्यटन क्षेत्र प्रवद्र्धनका लागि पहिले छिमेकी मुलुकको बजारमा जाने रणनीतिअनुरूप बोर्डले साटेमा सहभागिता जनाएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले जानकारी दिनुभयो । “भारत नेपालको प्रमुख पर्यटन स्रोत बजार हो । बोर्डले साटे सँगसँगै क्रस बोर्डर टुरिजम प्रवद्र्धनका लागि काम गरेकाले यी सबै गतिविधिले भारतीय पर्यटक  आगमनमा वृद्धि हुने हाम्रो अपेक्षा छ,” उहाँले भन्नुभयो । 

कोभिडको सङ्क्रमण कम हुँदै जाँदा विश्वभर पर्यटन चलायमान हुन थालेको बताउँदै उहाँले पर्यटन बोर्डले भारतीय पर्यटक आकर्षित गर्न सीमा क्षेत्र, हिल स्टेसन तथा अन्य पर्यटकीय स्थलका छुट्टाछुट्टै रणनीतिको आवश्यकता पहिचान गरी सोहीअनुरूपको रणनीतिसमेत बनाएको जानकारी दिनुभयो ।

साटेमा पर्यटनसँग सम्बन्धित क्षेत्रीय तथा अन्तर्राष्ट्रिय पर्यटन उद्योग, बिक्रेता र पर्यटनसँग सम्बन्धित सङ्घसंस्था तथा व्यक्तिको सहभागिता रहेकाले यो प्लेटफर्म नेपालको पर्यटन प्रवद्र्धनमा सहयोगी हुने कार्यक्रममा सहभागी नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज  लामिछानेले बताउनुभयो ।