• १० पुस २०८१, बुधबार

एनपिएल

सुदूरपश्चिमद्वारा जनकपुरलाई १२४ रनको सामान्य लक्ष्य

blog

फाइल तस्बिर ।

काठमाडौँ, मङ्सिर २६ गते । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा जितका लागि जनकपुर बोल्ट्सलाई एक सय २४ रनको सामान्य लक्ष्य दिएको छ ।

त्रिवि मैदान कीर्तिपुरमा बुधबार टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरका नौ विकेटको क्षतिमा एक सय २३ रन बनायो । 

सुदूरपश्चिमका लागि ओपनरद्वय विनोद भण्डारीले ३३ र सईफ जैवले २१ रन बनाउनुभयो । यस्तै इसान पाण्डेले १७ र ब्रान्डन म्याकमुलनले ११ रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । 

सुदूरलाई सस्तैमा रोक्न बलिङमा जनकपुरका किशोर महतोले चार विकेट लिनुभयो । उहाँले विकेट लिने क्रममा चार ओभर पूरा बलिङ गर्दै ३५ रन खर्चिनुभयो । यस्तै सेर मल्ल र अरनिको यादवले दुई दुई विकेट लिनुभयो । हर्ष थाकरले एक विकेट झार्नुभयो । 

जारी लिगका जनकपुर र सुदूरपश्चिम बलिया टोली हुन् । यसअघि चारवटै खेलमा अपराजित जनकपुर आफ्नो अपराजित लयलाई जारी राख्ने अभियानमा छ । यस्तै चार खेलमा तीन जित निकाल्दै दोस्रो स्थानमा रहेको सुदूरपश्चिम आज अनकपुरलाई रोक्दै अगाडि बढ्ने लक्ष्यमा छ । 

सुदूरपश्चिम रोयल्सले अमेरिकी अलराउन्डर हर्मित सिंहलाई अनुबन्ध गरेर बुधबारदेखि नै मैदानमा उतारेको छ । अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न टी-२० विश्वकपमा अमेरिकाका लागि उच्च प्रदर्शन गर्नुभएका  सिंह सोमबार नेपाल आइपुग्नुभएको हो ।

भारतबाट यु-१९ विश्वकप जित्नुभएका सिंहको आगमनसँगै सुदूरपश्चिमले थप बलियो बनेको दाबी गरेको छ । तर सिंह बुधबार एक रन जोड्दै पेभेलियन फर्कनुभयो ।