• ८ पुस २०८१, सोमबार

भारतले सन् २०२६ देखि स्थानीय-मात्र सौर्य ऊर्जा सामग्रीहरू अनिवार्य गर्ने

blog

नयाँदिल्ली, मङ्सिर २५ गते । चिनियाँ आयात घटाउने उद्देश्यले सरकारी आदेशअनुसार भारतीय स्वच्छ ऊर्जा कम्पनीहरूले सन् २०२६ जुनदेखि स्थानीयरूपमा निर्मित सौर्य मोड्युलहरु मात्र प्रयोग गर्न सक्नेछन् ।

रिलायन्स इन्टरप्राइजेज र टाटा पावरको उद्यमसहित भारतका स्वच्छ ऊर्जा क्षेत्रका नेताहरू आफ्ना प्रमुख आपूर्तिकर्ताका रूपमा चिनियाँ विक्रेताहरूमा निर्भर छन् । उद्योगको अनुमानअनुसार भारतको सौर्य ऊर्जा उत्पादन क्षमताको ७० प्रतिशत चिनियाँ उपकरणबाट सञ्चालित छ ।

भारतीय कम्पनीहरूले पहिले नै सरकारी परियोजनाहरूमा स्थानीयरुपमा निर्मित सौर्य प्यानलहरू प्रयोग गर्न कानुनद्वारा अनिवार्य गरिएको छ । नयाँ नियमले प्रकाश ऊर्जालाई विद्युतमा परिवर्तन गर्ने स्थानीयरुपमा निर्मित फोटोभोल्टिक सेलबाट बनेका मोड्युलहरु मात्र प्रयोग गर्न सक्नेछन् । 

सोमबारको आदेशपछि बोलीको समयसीमा भएका परियोजनाहरूमा प्रयोग गर्न सकिन्छ । “यो सर्त कार्यान्वयनको मिति जस्तोसुकै भए पनि पालन गर्नुपर्नेछ”, भारतको नवीकरणीय ऊर्जा मन्त्रालयले जारी गरेको आदेशमा भनिएको छ । देशमा सौर्य सेलहरूको स्थापित क्षमता मागभन्दा कम भएकाले सरकारले अझै सौर्य सेलका स्वीकृत निर्माताहरूको सूची जारी गरेको छैन ।

तर आदेशमा ‘देशमा सौर्य सेलहरूको स्थापित क्षमता अर्को वर्षमा उल्लेखनीयरुपमा बढ्ने अपेक्षा गरिएको छ, स्वीकृत निर्माताहरूको सूची अब जारी गरिनेछ’ भनिएको छ । हालैका वर्षहरूमा भारतको सौर्य उपकरण निर्माण क्षेत्रले तीव्र गतिमा प्रगति गरेको छ ।

बेङ्गलुरुस्थित परामर्श फर्म मर्कम इन्डियाको एक प्रतिवेदनले सन् २०२५ को अन्त्यसम्ममा देशको सौर्य प्यानलको उत्पादन ९५ गिगावाट पुग्ने अनुमान गरेको छ । भारतले २०२४ को पहिलो छ महिनामा १३.३ गिगावाट सौर उपकरण निर्माण क्षमता थपेको छ । रासस/एएफपी