काठमाडौँ, मङ्सिर २५ गते । नेपालका भूपेन्द्र गुरुङले छैटौँ एनुएल बक्स काउन्टी विन्टर मार्सल आर्ट्स च्याम्पियनसिपमा एक स्वर्ण र रजत गरी दुई पदक जित्नुभएको छ ।
नर्थ अमेरिका फेडरेसन अफ मार्सल आर्ट्सको आयोजनामा न्युटाउन, पेन्सिल्भिनियामा भएको प्रतियोगितामा भूपेन्द्रले ट्रेडिसनल फमको छाङ छ्वानमा स्वर्ण र ओपन फमको ताइचीमा रजत जित्नुभएको हो ।
प्रतियोगितामा अमेरिकाको २२ मार्सल आर्ट्स क्लबका तीन सय ४७ खेलाडी सहभागी थिए । भूपेन्द्रले यसअघि अमेरिकाको क्यालिफोर्नियामै एक महिनाअघि १५औँ गोल्डेन ड्रागन च्याम्पियनसिपमा दुई रजत पदक जित्नुभएको थियो ।
उहाँले यसअघि सन् २०१९ को विश्व कुङफु च्याम्पियनसिप र सन २०२२ को युरोपियन च्याम्पियनसिपमा पनि स्वर्ण जित्नुभएको थियो । भूपेन्द्रको व्यवस्थापकमा मनित गुरुङ रहनुभएको थियो ।