काठमाडौं, मङ्सिर २५ गते । राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले छोरा र छोरीबिच समान भावनात्मक एवम् पारिवारिक हैसियतको विकास हुनुपर्ने बताउनुभएको छ । गोरखापत्र अनलाइनसँग कुरा गर्नुहुँदै उहाँले कानुनले पैतृक सम्पत्तिमाथि छोराछोरीलाई समान हक व्यवस्था गर्नुपर्ने बताउनुभएको हो ।
अध्यक्ष पराजुलीले भन्नुभयो, “सम्पत्तिमाथिको अधिकारको एउटा कुरा भयो । अर्को आर्थिक अधिकार । यसलाई दुईटा पाटोबाट हेर्छु । पैतृक सम्पत्तिमा छोराछोरीलाई समान हक स्थापित गरेको छ । तर अहिले पनि हामीले रिसर्चका फाइण्डिङ्सलाई हेर्ने हो भने मलाई लाग्छ, यो १० प्रतिशत पनि कार्यान्वयन भएको छैन ।”
“हाम्रो समाज जुनसुकै जाति, भाषा, धर्म, वर्ग पितृसत्तावादी सोचबाट ग्रस्त छ” उहाँले भन्नुभयो, “हिन्दु, मुस्लिम, क्रिश्चियन, बुद्धिस्ट, जैन हाम्रा सबै धर्मावलम्बीलाई हेर्यौं भने विवाह गरेर श्रीमतीलाई केटाको घर लिएर जाने प्रचलन छ, समान स्थिति वा हैसियतको भए पनि । यदाकदा केटीले विवाह गरेर केटा ल्याए भने केटा चाहिँ अपमानित हुनेखालको शब्दावली प्रयोग गरिन्छ ।”
महिला हिंसा या लैङ्गिक हिंसाबिच के फरक छ भन्ने जिज्ञासामा उहाँले लामो समयदेखि महिला दबिएको लिङ्ग भए पनि कहिलेकाहीं पुरुष वा महिलाबाट लैङ्गिक, यौनिक, अल्पसङ्ख्यकहरु हिंसामा पर्ने गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “पुरुषबाट महिला हिंसामा पर्ने कुरा छँदैछ, तर कहिलेकाहीं महिलाबाट पनि पुरुष हिंसामा पर्न सक्ने अवस्था आउँछ । अब अहिले महिला र पुरुषको कुरा मात्रै छैन । लैङ्गिक, यौनिक, अल्पसङ्ख्यक पनि हिंसामा पर्न सक्ने अवस्था छ । एउटा लिङ्गले अर्को फरक लिङ्गलाई हुने हिंसा चाहिँ लैङ्गिक हिंसा भयो ।” घरेलु हिंसा घर परिवारभित्रै हुने किसिमको हुने भए पनि लैङ्गिक हिंसा सार्वजनिकस्थल, कार्यस्थल, विद्यालयलगायत विभिन्न ठाउँमा हुन सक्ने उहाँको भनाइ छ ।
उहाँले विगतमा घरेलु हिंसा कुट्ने, पिट्ने, चोट लाग्ने किसिमको हुने गरेको तर अचेल अदृश्य प्रवृत्तिको जस्तो कि भावनामा एवम् आत्मसम्मानमा चोट पर्नेजस्ता मानसिक हिंसा हुनेगरेको बताउनुभयो । उहाँले भन्नुभयो, “त्यो कारणले घरमा द्वन्द्व हुन्छ र हिंसा हुन्छ । आर्थिक हिंसा हुन्छ । महिलाले १८ घण्टा काम गरेर पनि अरुमा आर्थिक निर्भरजस्तो देखिन्छ । अनि उसले अपमानित, तिरस्कृत हुनुपर्ने । कतिले वस्तुभाउ, भैंसी, खसीबोका पाल्ने तर त्यो बेच्ने र पैसा अर्कैले लिइदिने । कतिपय विवाहबारी भएर उसको नागरिकता नबनाइदिने, बालबच्चाको जन्मदर्ता नगराइदिने, अंशको अधिकार नदिने । अहिले चाहिँ परिवारबाटै पनि विद्युतीय हिंसा भइरहेका छन् ।”
उहाँले अपहेलित छोरी एवम् किशोरीसँग आत्मविश्वासको समेत कमी हुने भन्नुहुँदै शिक्षा, समान अवसर, सम्पत्तिलगायत पहुँच एवम् अधिकारका कुरा घरपरिवाटै स्थापित हुनुपर्नेमा जोड दिनुभयो । ८० प्रतिशतभन्दा बढी घरेलुहिंसा हुने गरेका कारण छोरी, बुहारी, आमा एवम पीडित महिला घरभित्रै बढी असुरक्षित रहनु अझ बढी चुनौतीपूर्ण विषय रहेको उहाँको भनाइ छ ।
“आफ्नै परिवारको विरुद्ध, श्रीमान, सासु, ससुरा, देवर, जेठाजु, छोराछोरीविरुद्ध सार्वजनिक उजुरीमा जानु नै आफैंमा जटिल कुरा छ” उहाँले भन्नुभयो, “त्यो उजुरीको कारवाही प्रक्रियामा गएर न्याय निरुपण हुँदासम्म पीडित छोरी, बुहारी, आमा, पीडित महिलाको पक्षमा त्यो संयन्त्रले कति प्रभावकारी, विवेकसङ्गत ढङ्गले भूमिका निर्वाह गरिदेला ? किनभने हाम्रोमा माइन्डसेट त्यही नै हो । त्यसो हुनाले जटिल छ ।”
उहाँले हिंसापीडित महिलामा न्याय प्रत्याभूति हुनका लागि धरै जटिल प्रक्रिया रहेको पनि बताउनुभयो । समस्याको समाधान हुन सके हिंसाको रुप लिन नपाउने तथा अधिकारको बोध हुँदा हिंसाको पनि अनुभूत हुने उहाँको भनाइ छ । उहाँले पछिल्लो समय कमसेकम देशभरका महिलामा आफूलाई परेको समस्या राष्ट्रिय महिला आयोगमा भन्नुपर्छ भन्ने सचेतना बढ्दै जानु सकारात्मक विषय भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “कम्तिमा मलाई खुसी के मानेमा लाग्छ भन्दाखेरी विगत तीन, चार वर्षयता देशभर दूरदराजका महिलाले कम्तिमा देशमा एउटा राष्ट्रिय महिला आयोग छ । मसँग जुनसुकै सम्बन्धित समस्या भयो भने मैले राष्ट्रिय महिला आयोगमा सम्पर्क गर्नुपर्छ, खबर, उजुरी गर्नुपर्छ, मैले त्यहीबाट न्याय पाउने हो नि भन्ने बुझाइ हुनु भनेको एउटा राम्रो, सकारात्मक पक्ष हो । तर के भने यो संवैधानिक आयोग पनि भएकोले हाम्रा क्षेत्राधिकारहरु छन् । कति काम, कुराहरु हाम्रा आफ्ना क्षेत्राधिकारभित्र पर्दैनन् । हाम्रा आफ्ना सीमाहरु छन् ।”
महिला एवम् लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानका सन्दर्भमा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीसँग गोरखापत्र अनलाइनका लागि सपना थामीले गर्नुभएको संवाद :
भिडियो : मनोजरत्न शाही र केशब गुरुङ