अविनाश चौधरी
धनगढी, मङ्सिर २४ गते । धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमालको स्वास्थ्य अवस्थामा सुधार आएको छ । चिकित्सकले विभिन्न परीक्षण र निगरानीको आधारमा उहाँको स्वास्थ्य अवस्था सुधार भइरहेको बताएको हमालका भाइ श्याम हमालले जानकारी दिनुभयो ।
उहाँका अनुसार नगर प्रमुख हमालको अब अपरेसन गर्नु पर्दैन । तर, उहाँलाई अझ केही समय निगरानीमा राखेर थप उपचार प्रक्रिया अगाडि बढाइने उहाँको भनाइ छ ।
शुक्रबारदेखि स्वास्थ्य समस्या भएका नगर प्रमुख हमालको भारतको नयाँ दिल्लीस्थित म्याक्स सुपरस्पेसियालिटी हस्पिटलमा उपचार भइरहेको छ । उहाँलाई न्युरो इन्टेन्सिभ केयर आइसियु र स्ट्रोक युनिटमा राखिएको छ ।
हमाललाई मस्तिष्क घात भएको धनगढीमा चिकित्सकले बताएपछि उहाँलाई थप उपचारका लागि दिल्ली लगिएको थियो । नगर प्रमुख हमाल २०७९ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट अत्यधिक मतका साथ निर्वाचित हुनु भएको थियो ।