हरिप्रसाद कोइराला
उर्लाबारी, मङ्सिर २४ गते । मोरङका पथरीशनिश्चरे–६ का पूर्व वडाध्यक्ष जयबहादुर तामाङ यतिबेला राजनीतिसँगै व्यावसायिक खेतीमा लाग्नुभएको छ ।
तीन वर्ष यता उहाँ राजनीतिक कार्यक्रम, सभा, समारोहमा भन्दा आफ्नै खेतबारीमा भेटिनुहुन्छ । खाद्य बालीभन्दा फलफूल खेतीमा दोब्बर आर्थिक लाभ हुने भएपछि उहाँले धान खेत मासेर सिउँडी प्रजातिको फल (ड्रयागन फ्रुट) लगाउनुभएको छ ।
‘‘खाद्य बालीबाट तीन बिघा खेतमा हुने आम्दानी १० कट्ठाबाट भयो । त्यसपछि ड्रयागन खेती अझ विस्तार गरें ।’’ उहाँले भन्नुभयो ।
अहिले दक्षिण मोरङको पथरीशनिश्चरे ६ र सुनवर्सी १ का सात जना किसानले १५ विघा जग्गामा ड्रयागन खेती गरिरहनुभएको छ । हाल अढाई बिघा धान खेत खेत मासेर ड्रयागन लगाउनुभएका तामाङले गत असोजसम्ममा २५ लाख रुपियाँको फल बजार पठाउनुभयो । गत वर्ष प्रति किलो ६ सय रुपियाँमा बिक्री भएको ड्रयागन फ्रुट यो वर्ष तीन सय ५० रुपियाँमा बिक्री भयो । उत्पादन बढेपछि मूल्य घट्यो, तर किसानलाई घाटा छैन । तामाङले विदेशबाट आउने फललाई विस्थापित गर्न उत्पादन अझै बढाउनुपर्ने बताउनुभयो ।
तामाङले हालसम्म खेतीमा डेढ करोड लगानी गरिसक्नुभएको छ । १० जनाले रोजगार पाइरहेको उहाँको पूर्वाञ्चल मल्टिपल एग्रिकल्चर प्रालि अहिले ड्रयागन फलको स्रोत केन्द्रका रुपमा बिकसित भइरहेको छ ।
सुरुमा एउटा जातको मात्र बिरुवा लगाउनुभएका तामाङले हाल पाँच जात बिरुवा लगाउनुभएको छ । जात अनुसार स्वाद पनि फरक छ । उपभोक्ताले रोजाइ अनुसारको स्वादमा फल खान पाउनुहुन्छ । त्यसैले नयाँ नयाँ जातको खोजीमा छु । तामाङले भन्नुभयो, ‘‘औसत नेपालीले चाडवाड र बिरामी पर्दा मात्र फलफूल खान्छन् । हामी सधैँ खान सक्ने मूल्यमा उत्पादन गर्नुपर्छ भनेर लागिरहेका छौं ।’’
सुनवर्सी १ का गणेश तुर्छा राईले ४ वर्ष अघि दुईबाली धान फल्ने साढे ३ बिघा खेतमा ड्रयागन खेती सुरु गर्नुभयो । कोरोनाले निर्माण व्यवसाय थलिएपछि कृषि कर्ममा सम्भावना खोज्न ड्रयागन खेतीमा होमिनुभएका राई यतिबेला ड्रयागन खेतीको विस्तार, प्रशाेधन र नयाँ व्यापारिक बजारको खोजीमा हुनुहुन्छ । वार्षिक ३० लाख रुपियाँ आम्दानी गर्ने महत्वाकाङ्क्षी लक्ष्यका साथ ड्रयागन खेतीमा लाग्नुभएका राईले डेढ करोड रुपियाँ लगानी गरिसक्नुभएको छ ।
उहाँले भन्नुभयो, ‘‘दुई सिजन उत्पादन लिँदा ४० प्रतिशत खर्च उठिसकेको छ । २०/२५ वर्षसम्म आम्दानी लिन सकिने भएकाले लगानी खेर जान्छ भन्ने लागेको छैन ।’’ अझ बढी उत्पादन लिन राईले बिरुवामा राति समेत विद्युतीय उर्जा दिइरहनुभएको छ । चिसो मौसममा तापक्रम कम हुँदा उत्पादनमा असर पर्ने बुझेपछि राईले बिरुवाको बिचमा वबजुली बालेर छोडिदिनुभएको हो ।
गत आर्थिक वर्षमा समेत १२ हजार किलो ड्रयागन आयात भएको तथ्याङ्क छ । भण्डारण व्यवस्थित गर्न सके तीन महिनासम्म सुरक्षित रहने भएकाले ड्रयागन उत्पादन गर्ने किसानले आत्तिनुपर्ने अवस्था नरहेको गणेशले बताउनुभयो ।
तामाङ र राईले ड्रयागनको व्यावसायिक खेती सुरु गर्नुभएपछि अहिले उहाँका छिमेकीहरू पनि उहाँहरुलाई पछ्याइरहनु भएको छ । ड्रयागन खेती व्यवसायी सङ्घ कोशी प्रदेशका अध्यक्षसमेत रहनुभएका तामाङका अनुसार पथरीशनिश्चरे र सुनवर्सीमा मात्र १५ बिघामा जग्गामा ड्रयागन खेती भइरहेको छ । खगेन्द्र लिम्बूले २ बिघा ५ कट्ठामा, मनीष राईले २ बिघामा, हेमेश्वर राईले २ बिघामा ड्रयागन लगाउनुभएको छ । बिघाभन्दा कम क्षेत्रफलमा लगाउने अझ धेरै किसान हुनुहुन्छ ।